१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ११:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आंकाक्षी धेरै हुँदा समानुपातिकतर्फ उम्मेदवार टुंग्याउन साना दललाई कठिन

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ११:११:००

आंकाक्षी धेरै हुँदा समानुपातिकतर्फ उम्मेदवार टुंग्याउन साना दललाई पनि कठिन भएको छ । जसपा, लोसपा र राप्रपा तीनवटै दलले प्रतिनिधिसभातर्फ एक सय १० जनाकै नाम पठाउने तयारी गरिरहेका छन् ।

जसपाको बुधबारको संसदीय बोर्ड बैठकमा उम्मेदवारको सूचीमाथि छलफल भए पनि आकांक्षी धेरै हुँदा नामावली तयार हुन सकेन । संसदीय बोर्डका सदस्य राजेन्द्र श्रेष्ठले १ असोजमा मात्रै अन्तिम निर्णय हुने बताए ।

उनले समानुपातिकको ढोकाबाट संसद् छिर्न चाहने आकांक्षी धेरै रहेको बताए । ‘नाम काफी आएका छन्,’ उनले भने, ‘मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कमिटी छन्, त्यसमा एक–दुई जिल्लाबाहेक सबैबाट प्रदेशमा नाम सिफारिस भएका थिए । त्यही सिफारिसका आधारमा सबैतिरबाट केन्द्रमा नाम आइसकेको छ । निर्वाचन आयोगको नियमअनुसार क्लस्टर मिलाएरै समावेशी ढंगले नाम टुंग्याउने तयारी छ ।’ 

जसपाका प्रवक्ता मनीष सुमनले जिल्ला कमिटी मात्रै नभएर पार्टीका जनवर्गीय संगठनबाट नाम आएका छन् । उम्मेदवार बन्न सीधै संसदीय बोर्डमा निवेदन गर्ने पनि छन् । ‘प्रतिनिधिसभातर्फ मात्रै करिब १२–१३ सयजना उम्मेदवार होलान्, आकांक्षी संख्या अथाह छ,’ उनले भने, ‘३१ भदौदेखि पार्टीको केन्द्रीय कार्यकारिणी बैठक छ । नामावलीलाई त्यहाँ अन्तिम रूप दिने तयारी छ ।’

जसपाले मधेस प्रदेश सभामा ४३ जनाकै नाम पठाउने प्रवक्ता सुमनले बताए । अध्यक्ष उपेन्द्र यादव संयोजकत्वमा संसदीय बोर्ड बनेको छ । 

लोसपामा सात सय आकांक्षी, पुरानालाई नदोहोर्‍याउन आवाज 
जसपाबाट अलग्गिएर निर्माण भएको महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि यतिखेर समानुपातिक उम्मेदवारको सूचीमा निर्णय गर्न हम्मे भइरहेको छ । जिल्ला, प्रदेश हुँदै केन्द्रमा आएका नाममा पार्टी सचिवालयमा नेताहरू सुरेन्द्र झा र केशव झाले गृहकार्य गरिरहेका छन् । मधेस आधार क्षेत्र भएकाले लोसपाले मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई पनि उनीहरूसँगै सचिवालयमा खटाएको छ । 

नेता सुरेन्द्र झाले समानुपातिकका लागि करिब सातजनाको नाम सिफारिस आएको बताए । ‘करिब ३५ जिल्लाबाट नाम आएको छ,’ उनले भने, ‘यसमा मधेस प्रदेशसहित बागमतीका आठ र गण्डकीका पाँच जिल्ला छन् । हामीले पाँच–पाँचजनाको नाम मागेका थियौँ । तर, जिल्लाबाट व्यवस्थापन गर्न गाह्रो हुँदा बढी आएको हो । सात सयलाई घटाएर हामीले साढे तीन सयमा झारिसकेका छौँ । बाँकी शीर्ष नेताले बैठक बसेर फाइनल गर्ने तयारी छ ।’

समानुपातिक उम्मेदवारीमा छलफल गर्नकै लागि लोसपाले शुक्रबार पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ । लोसपाले आधार क्षेत्र रहेको मधेस प्रदेशमा पनि ४३ जनाकै सूची बुझाउँदै छ । ‘यसबाहेक लुम्बिनी प्रदेशमा ३५ जनाको बुझाउँछौँ,’ झाले भने । समानुपातिकमा पुराना उम्मेदवार नदोहोर्‍याउन लोसपामा दबाब छ । ‘यो विषय अनौपचारिक रूपमा मुखरित भइरहेको छ,’ झाले भने ।

राप्रपाको प्राथमिकता : पदाधिकारी प्रत्यक्षमै, पुराना समानुपातिकमा 
राप्रपा पनि समानुपातिक उम्मेदवारको अन्तिम नामावली तयार पार्ने गृहकार्यमा छ । बुधबार पार्टी केन्द्रीय समिति बैठकमा प्रदेशबाट आएका उम्मेदवारका नामावलीबारे छलफल भएको थियो । 

‘बुधबार पार्टी सचिवालयमा जम्मा भएका नामावलीले औपचारिक रूपमा संसदीय बोर्डको बैठकमा प्रवेश पायो,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘अहिलेसम्म ६६ जिल्लाका नाम प्रदेशबाट सिफारिस आइसक्यो, बाँकी केही जिल्लाको नाम भोलिसम्म आउँछ । हामी एक सय १० जनाकै नाम पठाउने तयारीमा छौँ ।’

बैठकले १ असोज साँझसम्म अन्तिम नामावली टुंग्याउने, त्यतिन्जेल छलफल जारी राख्ने निर्णय गरेको छ । ‘समानुपातिकको सूचीमा पार्टीमा लामो समयदेखि योगदान दिएका, संसद्मा प्रभावकारी उपस्थिति जनाउन सक्ने र मत बटुल्न सक्ने नेतालाई प्राथमिकतामा राखौँ भन्ने छ । त्यहीअनुसार सूची तयार हुन्छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने ।