१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना भएका डेंगुका विरामी । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०७:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगु संक्रमितको संख्या १२ हजार नाघ्यो, ११ जनाको मृत्यु 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०७:१४:००

बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चार संक्रमित, पारासिटामोलबाहेक अन्य औषधि सेवन नगर्न डाक्टरको सुझाव 

देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित भएका छन् । हाल उपत्यकासँगै तराईका जिल्लामा यसको संक्रमण तीव्र छ । 

काठमाडौं उपत्यकामा डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या ललितपुरमा छ । ललितपुरमा तीन हजार आठ सय तीन र काठमाडौंमा दुई हजार आठ सय आठजनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको मकवानपुरमा एक हजार तीन सय ३१ जना संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा डेंगु फैलिएको छ । महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चारजना छन् । लुम्बिनीमा प्रदेशमा १ हजार चार सय ७९, सुदूरपश्चिम प्रदेशमा तीन सय ८०, प्रदेश १ मा चार सय दुईजनालाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशमा दुई सय ४५, मधेस प्रदेशमा दुई सय २३ र कर्णाली प्रदेशमा एक सय ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार डेंगु संक्रमणबाट सबैभन्दा धेरै उपत्यका प्रभावित बनेको छ । ‘अझै १५ दिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ,’ उनले भने, ‘पूरै जिउ छोप्ने गरी कपडा लगाउनुपर्छ ।’ उनले जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जाने भए पनि अझै केही दिन लामखुट्टेको टोकाइबाट डराउनुपर्नेछ । 

डेंगुका बिरामीले अस्पताल भरिभराउ
डेंगुका बिरामीले पछिल्लो समय अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ ।

यसबाहेक निजी अस्पतालमा पनि उपचारका लागि पुग्ने संक्रमितको संख्या पनि उत्तिकै छ । सिभिल अस्पताल बानेश्वरमा दैनिक दुई सयजना डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरूलाई सामान्य उपचारपछि इन्मर्जेन्सीबाट सिटामोल दिएर घर फर्काउने गरिएको छ । गम्भीर लक्षण देखिएकाहरू भर्ना भएर उपतचाररत छन् ।

हाल सिभिलमा १३ जना डेंगुका बिरामी छन् । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३० जना भर्ना भएका छन् । चारजनाको आइसियूमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा ३८ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना डेंगुका बिरामी भर्ना भएका छन् । दुईजनाको आइसियूमा उपचार भइरहेको छ । वीर अस्पतालमा पनि १७ जना डेंगुका बिरामी भर्ना भएका छन् । 

डेंगुका बिरामीलाई सिटामोलबाहेक अन्य औषधि घातक हुन्छन् : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ
दुखाईको पीडा सहन नसकेर डेंगुका विरामीले आफैं किनेर फेलेक्सजन, निम्स, डोफेन, एस्पिरिनजस्ता औषधि सेवन गरिरहेका छन् । यी नाम चलेका औषधि पनि हुन् । तर डेंगुका विरामीलाई सिटामोलबाहेकका अन्य औषधि घातक हुन्छन् । यसले विरामीमा रक्तश्राव हुने र ज्यानै जाने सम्भावना बढेर जान्छ । हाल अस्पताल आउनुभन्दा अघि धेरैजसो डेंगुका विरामीले यी औषधि सेवन गरेर आएको बताउनुहुन्छ । तर यो अत्यन्तै गलत हो । डब्लुएचओलगायत हरेक देशले डेंगुको मेडिकल गाइडलाइनमा यी औषधि खान दिन नहुने भनेर किटान गरेको छ ।

दुखाइ बढी भयो भने पनि सिटामोल मात्रै प्रयोग गर्न सुझाव 
पछिल्लो समय डेंगुबाट ग्रसित हुनेको संख्या बढेको छ । तर, यसको लक्षणका आधारमा कतिपयले डाक्टरको सल्लाहविना नै आफूखुसी औषधि किनेर खाइरहेका छन् । तर, यसो गर्दा डेंगुले झन् सताउने र ज्यानसम्म जान सक्ने चिकित्सकहरूको भनाइ छ । ‘डेंगु भएका बिरामीले जथाभावी औषधि सेवन गर्नुहुन्न,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुरले भने, ‘यदि दुखाइ बढी भयो भने सिटामोल मात्रै प्रयोग गर्नुपर्ने हुन्छ ।’

संक्रमण भइसकेपछि त्यसले शरीरका अन्य अंगहरूमा क्षति पुर्‍याएर उपचारको क्रममै मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन् । ‘अहिले संक्रमणदर बढिरहेको छ, यसबारेमा हामी निकै सचेत हुन जरुरी छ,’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘यसबाट जोखिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।’ उनका अनुसार ०७७ मा फैलिएको डेंगुका कारण १७ हजार संक्रमित भएका थिए । 

२० दिनयता ११ को मृत्यु 
डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । 

निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ ।