१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ भदौ २९ बुधबार १२:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो छ : ली झाङ्सु

Read Time : > 1 मिनेट
२०७९ भदौ २९ बुधबार १२:१४:००

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरूको अवलोकन गरेका छन् । बिहान ९:२० बजे ऐतिहासिक विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं, सिर्जना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरूले स्वागत गरेका थिए । 

अध्यक्ष लीसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूले नगरपालिकाले उनको  स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरव प्याँख नाचको अवलोकन गरेका थिए ।  अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताएका थिए । 

उनले भक्तपुर दरबार स्क्वायर, पचपन्नझ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए ।  पचपन्नझ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले यहाँका सम्पदाहरूमा भूकम्पले पुर्‍याएको क्षतिबारे पनि जानकारी लिए । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरूमा भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी गराए । भक्तपुरका भूकम्पले क्षति पुर्‍याएको ८० प्रतिशत सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएका हुन् । 

अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राखेको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराएका थिए । 

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरू प्रदर्शन गरेको थियो । तस्बिरहरूको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराएका थिए । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराएका थिए । 

जात्रा, पर्व, नाचहरूबारे जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कलासंस्कृति, नाच र परम्परा चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरूमा समानता रहेकोसमेत बताए ।