१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
ड्यारोन एसिमोग्लु
Invalid date format o९:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वास्तविक सामाजिक सञ्जालको अन्त्य हुँदै 

देश/विदेश

Read Time : > 2 मिनेट
ड्यारोन एसिमोग्लु
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

सामाजिक सञ्जालले मानवीय सञ्चार र सामाजिक एकताको जगलाई हल्लाइदिएको छ, वास्तविकलाई कृत्रिम सामाजिक सञ्जालले प्रतिस्थापित गरिदिएको छ 

विश्वका करोडाैँ मानिस फोनमा झुन्डिएका मात्र छैनन्, यिनले उपभोग गर्ने सूचना नकारात्मक एवं नाटकीय ढंगले परिवर्तन भइरहेका छन् । फेसबुकजस्ता सामाजिक सञ्चारमाध्यममा मिथ्या सूचना सत्यभन्दा चाँडै फैलिन्छ भनेर विभिन्न अनुसन्धानले देखाइसकेको छ । उसो त प्रयोगकर्ताले मिथ्या सूचनाको माग गर्दैनन् तर प्रयोगकर्ताले के हेर्ने भनेर निर्धारण गर्ने अल्गोरिदमले सनसनीपूर्ण, त्रुटिपूर्ण र भ्रामक सूचनालाई प्रोत्साहन गर्छ, जसले प्रयोगकर्तालाई ‘व्यस्त’ बनाई विज्ञापनबाट धनोपार्जन गराउँछ । 

फेसबुकको अल्गोरिदमजनित छनोटलाई एकातिर राख्ने हो भने पनि बृहत् सामाजिक सञ्चारमाध्यम प्रणालीले पनि प्रयोगकर्तालाई आफ्ना स्वार्थ मिल्ने मानिसलाई जोडिदिन्छ । यसका सकारात्मक प्रभाव पनि छन् अर्थात् आफ्ना अध्ययनका विषयवस्तुमा तपाईं विश्वसँग जोडिन पुग्नुहुन्छ, तथापि घृणा फैलाउनेले पनि यही मौका पाउँछ । सामाजिक सञ्चारमाध्यम निर्विवाद रूपमा घृणाजन्य अभिव्यक्ति, दुराशयपूर्ण मिथ्या सूचना र प्रोपगान्डाको मञ्च बन्न पुगेको छ । अमेरिकी दक्षिणपन्थीको ६ जनवरी २०२१ मा अमेरिकी कांग्रेस र संघीय संसद् भवन क्यापिटोल हिलमा हमला गर्ने योजना फेसबुकमै बनेको थियो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मुसलमानविरोधी ट्विटका कारण अमेरिकी अल्पसंख्यकमाथि हिंसा बढेको थियो । केही अनुसन्धानले फेसबुक र युट्युबजस्ता ठूला कम्पनीले अन्य यस्तै प्रकृतिका कम्पनीका तुलनामा घृणाजन्य अभिव्यक्ति र मिथ्या सूचनामाथि धेरै पहरेदारी गर्छन् । यद्यपि धेरै अनुसन्धानले अन्य सामाजिक सञ्चारमाध्यमका तुलनामा फेसबुक र ट्विटरमा मिथ्या सूचना सबैभन्दा चाँडो फैलिने गरेको देखाएको छ ।    

केहीले सामाजिक सञ्चारमाध्यमले निर्माण गरेको वातावरण निकै घातक भए पनि समस्या अस्थायी हो भन्ने मत पनि व्यक्त गर्छन् । किनभने, यसअघि पनि धेरै सञ्चार संयन्त्रको दुरुपयोग भएका छन् । मार्टिन लुथरले १६औँ शताब्दीमा इसाई धर्मको प्रोटेस्टेन्टपन्थ मात्रै फैलाएका थिएनन्, उनले विषाक्त यहुदीद्वेष फैलाउन पनि ठूलो भूमिका खेलेका थिए । रेडियोलाई अमेरिकाका फादर चाल्र्स कघलिनजस्ता जनोत्तेजक र जर्मनीका नाजीले भरपूर प्रयोग गरेकै हुन् । यद्यपि, यी माध्यमको विकासक्रमले सामाजिक सञ्चारमाध्यमका चुनौतीलाई सामना गर्न शक्तिशाली नियमन एवं नयाँ प्रविधिको आवश्यकता छ भन्ने देखाउँछ । तर, यी समाधानले समस्याको जरोलाई पहिचान गर्न सकेका छैनन् । सामाजिक सञ्चारमाध्यमले विचार समूहका असहिष्णु डफ्फाको निर्माण, झुट फैलावट र अतिवादी विचारको सञ्चार मात्रै गरेका छैनन्, बरु यसले मानवीय सञ्चार र सामाजिक एकताको जगलाई हल्लाइदिएको छ, जहाँ वास्तविकलाई कृत्रिम सामाजिक सञ्जालले प्रतिस्थापित गरिदिएको छ ।

समुदायबाट सिक्ने र अरूलाई हेरेर विद्वता हासिल गर्ने भएकाले हामी मानिस जनावरभन्दा पृथक् छौँ । हाम्रा सबैभन्दा महत्वपूर्ण विचार र मन पराइने अवधारणा अलगाव वा पुस्तक पढेर आउँदैन, बरु सामाजिक अन्तरसंवादबाट जन्मिन्छन् । यस्तो प्रक्रियामा विश्वसनीय स्रोतको भने निर्विवाद भूमिका हुन्छ, तसर्थ हालका सामाजिक सञ्चारमाध्यममा नेता वा उच्चपदस्थ व्यक्तिका अभिव्यक्तिको ठूलो अर्थ हुन्छ । ठूला सामाजिक सञ्चारमाध्यमले हामीले मान्ने गरेका सामाजिक सञ्जाललाई तोडमरोड नै गरिदिए भने के होला ? यसको उत्तर हामीसँग नहुनु सबैभन्दा ठूलो चिन्ताको विषय हो । सामाजिक सञ्चारमाध्यम उद्योगको विकासलाई हेर्दा यिनका विषयवस्तु अनुकूलन गर्ने र घातक असरलाई हटाउने भन्ने सम्भावना देखिँदैन । सामाजिक सञ्चारमाध्यमको घातक असर हेर्दा सांस्कृतिक आलोचक निल पोस्टम्यानले आजभन्दा चार दशकपहिल्यै आफ्नो पुस्तक अम्युजिङ आवरसेल्फ टु डेथमा ‘अमेरिकीले एकअर्कासँग बोल्न छाडिसके, बरु एकअर्कालाई मनोरञ्जन दिन्छन्’ भनेर लेखिएको विचार सार्थक हुन्छ । पोस्टम्यानले ‘मानिस विचार आदान–प्रदान गर्नेछैनन्, अब फोटा आदानप्रदान गर्नेछन् । एकअर्कासँग तर्कका आधारमा बहस नभई शारीरिक सुन्दरता, सेलिब्रिटी र विज्ञापनलाई लिएर छलफल हुनेछ’ भनेर पनि उल्लेख गरेका थिए ।      

अर्वेलको चर्चित उपन्यास ‘नाइन्टिन एटीफोर’लाई एल्डुअस हक्स्लेको ब्रेभ न्यू वल्र्डसँग तुलना गर्दै पोस्टम्यानले ‘अर्वेल पुस्तकमा कसैले प्रतिबन्ध लाउँछन् कि भनेर चिन्तित हुन्थे भने हक्स्लेचाहिँ पुस्तकमा प्रतिबन्ध लाउनुपर्ने कुनै कारण नहुने भनेर चिन्तित हुन्थे किनभने पुस्तक पढ्ने रुचि घट्दै गएको थियो । अर्वेल हामी सूचनाबाट वञ्चित हुन्छौँ कि भनेर चिन्तित हुन्थे भने हक्स्ले हामीलाई यति धेरै सूचना दिइनेछ कि हामी निष्क्रियता र अहंकारमा झर्नेछौँ भनेर चिन्तित हुन्थे । अर्वेल सत्य लुकाइनेछ भनेर चिन्तित हुन्थे भने हक्स्ले सत्य असान्दर्भिकताको गर्तमा हराउनेछ भनेर चिन्तित हुन्थे’ लेखेका छन् । पोस्टम्यान हक्स्लेले भनेको भविष्यबारे चिन्तित थिए, जब कि सामाजिक सञ्चारमाध्यममा अर्वेल र हक्स्लेले चिन्ता गरेको भविष्य दुवै देख्न सकिन्छ ।     

‘भर्चुअल साथी’ले हाम्रा विचारलाई बढ्दो रूपमा निगरानी गरिरहेका छन् र सरकारसँग हाम्रा वास्तविकताको बुझाइलाई नियन्त्रण गर्ने र हामीलाई निष्क्रिय एवं अहंकारी बनाउने संयन्त्र छन् । अब हरेकले आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्नेछ र सक्रिय रुढिवादबाट विचलित हुनेलाई खेद्नुपर्नेछ । तर, यो नैतिकतालाई अनलाइनले निर्धारण गर्नेछ र अधिकांश सन्दर्भमा यी नैतिकताको आधार झुट हुनेछन् । यस सन्दर्भमा २०औँ शताब्दीकी एक महान् विचारक हाना एरेन्दको भनाइ सान्दर्भिक छ । ‘यदि सबैले सधैँ झुट बोल्छन् भने नतिजा तपाईं झुटलाई विश्वास गर्नुहुन्न भन्ने हुँदैन ।’   

(एसिमोग्लु एमआइटीका अर्थशास्त्रका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट