१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
ड्यारोन एसिमोग्लु
२o८१ जेठ ५ शनिबार o८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी विश्वविद्यालयमा आरक्षण कटौतीपछि के गर्ने ?

Read Time : > 2 मिनेट
ड्यारोन एसिमोग्लु
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:३५:oo

कलेज भर्नामा जाति–आधारित सकारात्मक विभेदविरुद्ध अमेरिकी सर्वोच्च अदालतको निर्णयले अमेरिकामा विशेषाधिकार र सामाजिक गतिशीलतामा गहन छलफल गराएको छ । उच्च शिक्षामा अधिक समावेशिता र खुलापनका लागि पैरवी गर्नेमाझको निराशा अस्वाभाविक होइन । तर, यति भन्दै गर्दा एसियाली–अमेरिकीले अहिले खुसी हुनु जायज छ किनभने हार्वर्ड विश्वविद्यालयजस्ता सम्भ्रान्त शैक्षिक संस्थाबाट एसियाली–अमेरिकीले भेदभाव व्यहोरिरहेका थिए ।

 हामीसँग अब सम्भ्रान्त अमेरिकी विश्वविद्यालयमा स्पष्ट रूपमा त्रुटिपूर्ण प्रवेश प्रणालीको विकल्पमा आमूल–परिवर्तनकारी समाधानमाथि विचार गर्ने मौका छ । अहिलेका विधिमा धेरै समस्या मौजुद छन् । सबैभन्दा पहिले धेरै भर्ना सिट धनी दाता र पूर्वछात्रका सन्तानले ओगटेका हुन्छन् । यो विरासतका आधारमा हुने भर्ना (लिगेसी एड्मिसन) ले विश्वविद्यालयलाई धनी बनाइरहेको छ भन्ने तथ्य कसैबाट छुपेको छैन । 

यसबाहेक आवश्यकतामा आधारित छात्रवृत्ति र समावेशिताको कथित प्रतिबद्धताका बाबजुद सार्वजनिक विश्वविद्यालय र कलेजको तुलनामा सम्भ्रान्त कलेजले सामाजिक गतिशीलतामा सीमित मात्रै योगदान दिन्छन् । सार्वजनिक विश्वविद्यालय र कलेज यस्ता संस्था हुन्, जसले गोरा र न्यून प्रतिनिधित्व भएका अल्पसंख्यकबीच माथिल्लो गतिशीलताका लागि मुख्य बाटो पहिल्याइदिन्छ । स्वभावतः सार्वजनिक विश्वविद्यालय र कलेजले सम्भ्रान्त शैक्षिक संस्थामा भर्ना पाउन नसक्ने न्यून विशेषाधिकार भएका सामाजिक–आर्थिक पृष्ठभूमिका धेरै अमेरिकीलाई भर्ना गर्छन् । 

हालको प्रणालीले भर्ना गर्ने शैक्षिक संस्थाका अधिकारीलाई पारदर्शिता वा उत्तरदायित्वबिना उच्च परिणाममूलक निर्णय गर्ने अनुमति दिन्छ । यस सन्दर्भमा भर्ना प्रक्रियाले अतिरिक्त क्रियाकलापलाई महत्व दिन्छ, जसले स्वभावतः उच्च–मध्यम–वर्ग पृष्ठभूमिका बालबालिकालाई स्पष्ट रूपमा विशेषाधिकार दिन्छ । यो अवस्थामा अर्थपूर्ण सुधार कस्तो देखिएला त ? गोलाप्रथा (लटरी) लाई एक उपायका रूपमा लिन सकिन्छ ।

यो उपायलाई सन् २००० को सुरुवातमा मनोवैज्ञानिक ब्यारी स्वार्ट्जले सुझाएका थिए र हालै हार्वर्ड दार्शनिक माइकल जे. स्यान्डेलले द टेरेनी अफ मेरिटमा पनि समर्थन गरेका थिए । स्यान्डेलको पुस्तकसँगै येल विश्वविद्यालयका कानुनका प्राध्यापक ड्यानियल मार्कोभिट्सको हालैको पुस्तक द मेरिटोक्रेसी ट्र्यापले ‘योग्यतातन्त्र’ले भर्नामा सफल हुनेमाझ हकदारिताको भावनाको विकास गर्छ भने बाँकीलाई काम नलाग्ने असफलको कोटीमा झारिदिन्छ । दुवै पुस्तकले ‘कृत्रिम योग्यतातन्त्र’बाट सचेत रहन आग्रह गर्छ । सफलता वास्तवमा सामाजिक सम्बन्ध र आर्थिक हैसियतले निर्धारण हुने गर्छ तर कृत्रिम योग्यतातन्त्रले योग्यतालाई निर्णायक कारकका रूपमा प्रस्तुत गर्छ । 

यति भन्दै गर्दा सम्भ्रान्त कलेजमा हुने सबै भर्नालाई गोलाप्रथा विधि लागू गर्नु गलत हुन जान्छ । किनभने यी शैक्षिक संस्था उत्कृष्ट अनुसन्धान संस्था पनि हुन् र यहाँ उत्कृष्ट विद्यार्थी जोडिँदा मात्रै सामाजिक मूल्य झल्किन्छ । यस अवस्थामा मिश्रित गोलाप्रथा लागू गर्न सकिन्छ, जसमा तीन समूह हुनेछन् । पहिलो, एसएटी/एसिटीजस्ता योग्यता प्रवेश परीक्षाको अंक हुनेछ । दोस्रो, योग्यता पुग्ने अंकको १० प्रतिशत भएका आवेदकलाई भर्नामा लिने । बाँकी तेस्रोमा भर्ना हुन इच्छुक हुने ठूलो संख्यामाझ गोलाप्रथा गराउने विकल्प लागू गर्ने । यसरी गोलाप्रथा गराउँदा कुनै अन्याय हुँदैन । 

आरक्षण कटौतीपछि अमेरिकी विश्वविद्यालयमा त्रुटिपूर्ण प्रवेश प्रणालीको विकल्पमा आमूल परिवर्तनकारी समाधानमाथि विचार गर्ने मौका प्राप्त भएको छ 
 

गोलाप्रथा पिछडिएका पृष्ठभूमिका आवेदकलाई पारदर्शी ढंगले प्रोत्साहन गर्न प्रयोग गर्न सकिन्छ । यो उपाय आमाबाबुको आय वा ग्रामीण स्थितिमा आधारित मानकलाई हेरेर लागू गर्न सकिन्छ । आवासीय पृथकीकरण अमेरिकामा बढ्दो सामाजिक समस्या हो । यसले पृथकीकरणलाई कम गर्न सघाउन सक्छ । अर्थात्, कम आय भएका क्षेत्रका विद्यार्थीले सम्भ्रान्त कलेजमा भर्ना हुने सम्भावना बढ्छ भने धेरै मध्यम–वर्गीय अभिभावकले उच्च आय भएका बस्तीमा बसाइँ सर्न जानुअघि दुईपटक सोच्नेछन् ।

गोलाप्रथा सम्भाव्यताले न्यून आय भएका पृष्ठभूमिका आवेदकका लागि सहज गराए पनि पूर्ण रूपमा सन्तुलन गर्न पर्याप्त हुँदैन । त्यसकारण हामीले एक अतिरिक्त उपायमाथि पनि विचार गर्नुपर्छ, जसमा कम आय भएका विद्यार्थी पढ्ने विद्यालयका शीर्ष विद्यार्थीका स्वचालित आवेदन विधि लागू हुनुपर्छ । यो विधिमा अल्पसंख्यक क्षेत्रका उच्च–सम्भावित उम्मेदवारले अवसर गुमाउनेछैनन्, किनभने यी विद्यार्थीलाई यसअघि र अहिले पनि आवेदन दिन निरुत्साहित गरिन्छ । गोलाप्रथाले सम्भ्रान्त विश्वविद्यालयमा थप धेरै विविध विद्यार्थी निकाय पनि सिर्जना गर्नेछ किनभने गोलाप्रथा समूहमा धेरै विषम आर्थिक र जातीय पृष्ठभूमिका विद्यार्थी पर्नेछन् । तसर्थ गोलाप्रथा–आधारित प्रणालीले धनी परिवार र समुदायका बालबालिका प्राकृतिक र न्यायोचित रूपमा उत्कृष्ट हुन्छन् भन्ने विचारलाई चुनौती दिएर योग्यतातन्त्रको व्यापक पुनर्मूल्यांकनलाई प्रोत्साहित गर्नेछ ।

अन्त्यमा, मिश्रित गोलाप्रथा प्रणालीले भर्ना समितिका गैरपारदर्शी, स्वेच्छाचारी शक्तिलाई हटाउनेछ र यसले सबैभन्दा उच्च (र महँगो) संस्थाको मूल्य अभिवृद्धिको मूल्यांकन गर्न सजिलो पनि बनाउन सक्छ । के स्ट्यानफोर्ड र प्रिन्सटनजस्ता विश्वविद्यालयले लिने शुल्क वास्तवमै ‘जायज’ हो ? हामीले अब पत्ता लगाउन सक्छौँ ।

निःसन्देह यो ठूलो परिवर्तनले धेरै प्रतिरोधको सामना गर्नेछ, विशेषतः ती परिवारबाट, जसले हाल आफ्ना बालबालिकालाई सामाजिक सम्बन्धमार्फत सम्भ्रान्त कलेजमा भर्ना गर्छन् । केही सम्भ्रान्त कलेजले पनि यो प्रस्तावित परिवर्तनको विरोध गर्न सक्छन्, किनभने यिनले पूर्वछात्रबाट आउने चन्दा गुमाउन सक्छन् । प्रश्न उठ्छ, के यी कलेजलाई साँच्चै ठूला दान आवश्यक छ ? यदि एक वा दुई कलेजले विद्यार्थी भर्ना गर्ने विधिमा परिवर्तन गरेमा यसले अन्य कलेजलाई भर्ना प्रक्रिया परिवर्तन गर्न प्रोत्साहन गर्नेछ । सरकारले कम आय भएका घरपरिवार वा क्षेत्रका परिवारबाट धेरै विद्यार्थी भर्ना गर्ने कलेजलाई प्रोत्साहन पनि गर्न सक्छ । वास्तवमा अहिलेको अमेरिकी उच्च शिक्षामा नयाँ सोच र साहसी कार्यको सुरुवात गर्ने समय हो ।

(एसिमोग्लु एमआइटीका अर्थशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad