१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जनकपुर चुरोट कारखानाको जग्गा पनि सुटुक्क भाडामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले नियमविपरीत ३२ महिनाअघि अरूको स्वामित्वमा रहेको जग्गा मासिक एक लाख लिने गरी निजी कम्पनीलाई भाडामा दिएको पुष्टि

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले नियमविपरीत अरूको स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई भाडामा दिएको भेटिएको छ । पोखरा महानगरपालिका– ९ स्थित प्रदर्शनी केन्द्रनजिक रहेको कित्ता नम्बर २९ को एक हजार आठ सय सात वर्गमिटरमा फैलिएको जनकपुर चुरोट कारखानाको जग्गा कसैलाई थाहै नदिई महानगरले सुटुक्क माइक्रो बस पार्किङका लागि पोखरा–काठमाडौं भलाइ प्रालिलाई ३२ महिनाअघि भाडामा दिएको भेटिएको हो ।

जग्गा प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा प्रथम पक्ष पोखरा–काठमाडौं भलाइ प्रालिका तर्फबाट संयोजक कुलराज गुरुङ र दोस्रो पक्ष पोखरा महानगरका तर्फबाट पूर्वमेयर जिसीसँगै साक्षीका रूपमा महानगरका इन्जिनियर सुरेन्द्र पौडेल र राजस्व प्रशासन महाशाखाका छविलाल शर्माले हस्ताक्षर गरेका छन् । भाडामा लिनेले महानगरलाई तिर्नुपर्ने भाडा नियमित नबुझाएपछि यो तथ्य बाहिरिएको हो । आफ्नो कार्यकाल सकिनु तीन दिनअघि जिसीले पोखराका तीन स्थानका सरकारी जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिने सम्झौता गरेका थिए ।

पोखरा महानगरका मेयर धनराज आचार्य भन्छन्–भाडामा लगाएको विषयमा केही थाहा छैन
पोखराका मेयर धनराज आर्चायले अर्कैको स्वामित्वमा रहेको जग्गा भाडामा लगाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । यसबारे महानगरको बैठक बसी के गर्ने भन्ने निर्णय गर्ने उनले बताए । ‘यसबारेमा आफू अनभिज्ञ’ बताउँदै उनी वडा नम्बर ६ मा भूमिहीनलाई निस्सा वितरण गर्ने कार्यक्रममा जान लागेको भन्दै पन्छिए ।

जनकपुर चुरोट कारखानाका शाखा अधिकृत लीला काफ्लेले कम्पनीको स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई भाडामा लगाएको भन्ने सुनेको, तर यसबारे आफूहरूले औपचारिक जानकारी केही नपाएको बताए । महानगरले अरूकै स्वामित्वमा रहेको जग्गा थाहै नदिई भाडामा लगाएको विषयले आफूहरू आश्चर्यमा परेको उनको भनाइ छ । ‘अर्कैको स्वामित्वमा रहेको जग्गा पोखरा महानगरले नदिनुपर्ने थियो, तर कसरी दियो भन्नेमा हामी खोजबिन गर्दै छौँ,’ उनले प्रश्न गरे, ‘यो गर्न नमिल्ने काम हो, महानगर र मेयरले नियमविपरीत कसरी गरे ? हाम्रो जग्गा भाडामा लगाएर महानगरले भाडा खान मिल्छ ?’ यसबारे के गर्ने भनी छलफल हुने काफ्लेले बताए ।

अर्कै कम्पनीको स्वामित्वमा रहेको जग्गा भाडामा लगाएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयले चासो व्यक्त गरेको छ । अख्तियारको पोखरास्थित कार्यालयका प्रमुखले केही दिनअघि फोन सम्पर्क गरी जग्गाको भाडा सम्बन्धमा जानकारी लिएको अधिकृत काफ्लेले बताए । प्रमुखको फोनपछि यो विषय अख्तियारमा समेत पुगेको जानकारी आफूहरूले पाएको उनको भनाइ छ ।

महानगरले पहिलेको भाडासमेत उठाउन सकेन 
६ पुस ०७६ मा दुई वर्षका लागि वार्षिक १० प्रतिशतले बढ्ने गरी मासिक एक लाख रुपैयाँमा भाडामा दिइएको सो जग्गाको भाडा उठाउनसमेत महानगरले सकेको छैन । पोखरा–काठमाडौं भलाइ प्रालिले हालसम्म १६ लाख रुपैयाँ मात्र महानगरलाई भाडा बुझाएको राजस्व शाखाका अधिकृत कृष्ण सुवेदीले जानकारी दिए । बाँकी भाडाबारे के गर्ने भन्नेमा केही निर्णय नभएको उनको भनाइ छ । पोखरा–काठमाडौं भलाइ प्रालिले महानगरलाई ३५ लाख तिर्नुपर्नेमा जम्मा १६ लाख रुपैयाँ मात्र बुझाएको छ । गत ६ पुसमा सम्झौता सकिए पनि महानगरले सम्झौता म्याद बढाएको पनि छैन । र, भाडामा लिने कम्पनीलाई हटाउनसमेत सकेको छैन ।

पोखराको मुख्य बजारअन्तर्गत पर्ने नयाँ बजारमा रहेको सो जग्गा कौडीको मूल्यमा भाडामा दिइएको स्थानीय व्यापारीको भनाइ छ । उनीहरूका अनुसार कानुनी रूपमा सम्पूर्ण प्रक्रिया पुर्‍याएर कम्तीमा पाँच–सात वर्षका लागि जग्गा भाडामा दिँदा मासिक तीन लाख भाडा आउँछ । 

जबर्जस्ती होइन, सम्झौता गरेर बसेका हौँ : गुरुङ
पोखरा–काठमाडौं भलाइ प्रालिका संयोजक कुलराज गुरुङले जनकपुर चुरोट कारखानाको स्वामित्वमा रहेको जग्गामा आफूहरू जबर्जस्ती नबसेको बताए । ‘जनकपुर चुरोट कारखाना बन्द भयो, अब जग्गाको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिको नाममा आउँछ’ भनेपछि सम्झौता गरेर बसेको उनको भनाइ छ । ‘महानगरका पुराना मेयर जानुभयो, नयाँ आउनुभएको छ । भेट्न जान पाएको छैन । अब गएर भेट गरी कुरा गर्ने हो,’ उनले भने, ‘लकडाउनको समयको भाडा छुट हुन्छ भनेकाले नतिरेका हौँ, अरू भाडा भने हामीले तिरेका छौँ ।’ पोखराबाट देशका विभिन्न भागमा छुट्ने माइक्रो बस त्यसअघि नजिकैको अर्को जग्गा भाडामा लिएर राखेकामा त्यस स्थानमा भवन निर्माणको काम सुरु भएपछि नयाँ स्थानको खोजी गर्ने क्रममा हालको जग्गा भाडामा लिएको गुरुङको भनाइ छ । 

निजी कम्पनीलाई भाडामा दिने फाइल मेयरबाट टिप्पणी सदर गरेर आएपछि आफूले हस्ताक्षर गरेको साक्षी बसेका इन्जिनियर सुरेन्द्र पौडेलको भनाइ छ । ‘प्रक्रियामा केही भयो मिलेन होला, तर हामीले राम्रो कामका लागि भाडामा दिएका हौँ,’ उनले भने ।

 

ad
ad