मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा ११ र १२ का शिक्षकको समस्या उठाउँदै हिस्टुनले अघि सार्‍यो दबाबमूलक कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार १७:२७:००

माध्यमिक विद्यालय शिक्षण युनियन (हिस्टुन)ले विभिन्न माग राख्दै दबाबमूलक कार्यक्रम अघि सारेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै हिस्टुनले भदौ २६ देखि विभिन्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।

जसअनुसार भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदलाई ज्ञापनपत्र बुझाइनेछ। भदौ २८ गते साबिक उच्च माविका देशैभरका शिक्षकहरूले हातमा कालोपट्टी बाँधेर अध्यापन गराउने, भाद्र ३० गते पेनडाउन गर्ने र त्यसको सुनुवाइ नभए संघीय चुनावपछि देशभरका शिक्षकको उपस्थितिमा भौतिक आन्दोलन गर्ने तयारीसमेत गरिएको छ।

सरकारले कक्षा ११ र १२ को पढाइ निःशुल्क भने तापनि उक्त विषय कार्यान्वयन नभएको र साबिक उमाविमा कार्यरत शिक्षकहरूको व्यवस्थापनबारे पनि चासो नदिएको भन्दै हिस्टुनले दबाबमूलक कार्यक्रम आयोजना गरेको महासचिव टीकाप्रसाद न्यौपानेले बताए। सरकार अहिले संघीय ऐन बनाउने तयारीमा रहेकाले शिक्षक व्यवस्थापनको विषयलाई ऐनमा समेट्नुपर्ने उनको भनाइ छ।

‘सरकारले कक्षा ११ र १२ लाई माध्यमिक तह भनेको छ, अझ निःशुल्क शिक्षा भनेको पनि छ, न त त्यसको कार्यान्वयन छ, न त साबिक उमाविमा कार्यरत शिक्षकहरूको विषयमा सरकारले कुनै चासो देखाएको छ,’ उनले भने। यस विषयमा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आन्दोलनसमेत चर्काउने न्यौपानेले बताए। पहिलो चरणमा दबाबमूलक कार्यक्रम गर्ने र त्यसको सुनुवाइ नभए मंसिरदेखि भौतिक आन्दोलनका कार्यक्रमसमेत अघि सार्ने हिस्टुनले जनाएको छ।

देशभर साधारण दरबन्दी र अनुदानमा कार्यरत ६ हजार शिक्षकहरूले पाउने तलबभत्तासमेत प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती गरेको हिस्टुनको आरोप छ। हिस्टुनले साबिक उच्च मावि तहमा अनुदानमा कार्यरत शिक्षकहरूलाई तत्काल स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने मागसमेत राखेको छ।