मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २३ बिहीबार ०७:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटमा सन्दीपको करिअर

Read Time : > 2 मिनेट
२०७९ भदौ २३ बिहीबार ०७:३९:००

सन्दीप लामिछाने छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटरमा पर्छन् । विश्वभरि आयोजना हुने चर्चित टी–२० लिगमा सहभागी टोलीका नजरमा सन्दीप प्रिय स्पिनर हुन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । भारत, अस्ट्रेलिया, युएई र क्यारेबियन विश्वप्रसिद्ध लिगमा आबद्ध हुँदै उनी करोडौँ कमाउन सफल भएका छन् । पछिल्लो दुई महिनाभित्र उनी लगातार अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भए । खेलेरै करोडपति बन्ने नेपाली खेलाडीको सौभाग्य सन्दीपले मात्र पाएका छन् ।

नेपालदेखि विदेशी लिगमा समेत स्टार ट्याग कमाएका सन्दीपको बलात्कार प्रकरणपछि करिअर संकटमा परेको छ । बलात्कार आरोप प्रमाणित भए नेपाली कानुनअनुसार सन्दीपले जेल सजाय भोग्नुपर्नेछ । उनले आफूमाथि लगाइएको आरोपबारे केही पनि प्रतिक्रिया दिएका छैनन् । 

पहिलो नजरमै मोहित दासानायके 
उमेर समूहमा सन्दीप आफ्नो गाउँबाट १८ किमि टाढा रहेको चितवन क्रिकेट एकेडेमीमा दिनहुँ प्रशिक्षणमा आउँथे । यो एकेडेमीमा नेपालका पूर्वकप्तान राजु खड्काले खेलाडीलाई प्रशिक्षण दिन्थे । एकेडेमीमा सन्दीपले पहिलो दिन बलिङ गर्दै प्रशिक्षक खड्कालाई प्रभावित पारेका थिए । सन्दीपले अरूभन्दा फरक किसिमले बल फ्याँक्थे । सन्दीप नेपाली राष्ट्रिय यू–१९ टोलीमा छनोट भएनन् । यही समयमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके नयाँ युवा खेलाडीको खोजीमा थिए । संयोग नै मान्नुपर्छ, दासानायके ट्यालेन्ट हन्ट कार्यक्रमअन्तर्गत चितवन पुगेका थिए । सन्दीपको जादुमयी बलिङ देख्दा दासानायकेले अचम्म माने । तत्कालै उनले सन्दीपलाई काठमाडौं बोलाएर राष्ट्रिय टोलीको क्याम्पमा राखे । नेपाल सन् २०१९ को एकदिवसीय विश्वकप छनोटको तयारीमा थियो । दासानायकेले विश्वकप छनोटका लागि ‘जर्नी अफ विश्वकप’ नाम राखी प्रतियोगिता नै आयोजना गरे । सन्दीप एकैपटक टोलीमा परे । नेपाली राष्ट्रिय टोलीमा परेपछि सन्दीपले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेन । आफ्नै क्षमतामा उनी नेपाली राष्ट्रिय टोलीका कप्तान नै बने । 

अस्ट्रेलियन क्रिकेटर क्लार्कको नजरमा
सन्दीप अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित हुनुअघि अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको योगदान महत्वपूर्ण मान्नुपर्छ । क्लार्कले नै सन्दीपको क्षमता देखेर अस्ट्रेलियामा प्रशिक्षण गर्न बोलाएका थिए । क्लार्कले पहिलोपटक हङकङ ब्लिजमा सन्दीपको प्रदर्शन देखेका थिए । भर्खरको युवा खेलाडी र स्पिनर सन्दीपले विश्वस्तरीय बलिङ गरेको देख्दा क्लार्कलाई सुरुमा विश्वास नै लागेन । यसैबीचमा सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा नेपालले सहभागिता जनायो । जहाँ सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक नै गरे । यू–१९ विश्वकपमा ह्याट्रिक गर्ने उनी पाँचौँ खेलाडी थिए । सन्दीपले आयरल्यान्डविरुद्ध २७/५ को उत्कृष्ट प्रदर्शन गरेका थिए । हङकङ ब्लिज र यू–१९ विश्वकपको प्रदर्शनपछि सन्दीपलाई क्लार्कले अस्ट्रेलियामा प्रशिक्षण गर्न निमन्त्रणा दिए । अस्ट्रेलियामा क्लार्कसँगको सहकार्यले सन्दीपको भाग्य नै खोल्यो । 

आइपिएलमा आबद्ध 
सन् २०१८ मा आइपिएलको अक्सन हुँदा सन्दीप एसोसिएट राष्ट्रबाट विदेशी कोटामा थिए । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरे । आइपिएलमा सन्दीपको आबद्धता धेरैले अप्रत्याशित माने । सन्दीप आइपिएलमा आबद्ध भएसँगै क्रिकेटप्रेमीहरू निकै उत्साहित भए । सामाजिक सञ्जालहरूमा बधाईको ओइरो नै लाग्यो । नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै भनेका थिए, ‘बधाई सन्दीप ! म मात्र होइन, सारा नेपालीको तिमीमाथि गौरव छ । तिम्रो आगामी यात्रा अझ रोचक बनोस् ।’ पहिलो सिजनमै उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण सन्दीप थप दुई सिजन दिल्लीमै रहे । 

व्यस्त नेपाली क्रिकेटर 
आइपिएलको प्रदर्शनसँगै सन्दीपको अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा ढोका खुल्यो । सन् २०१८ देखि २०२२ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा सन्दीप टी–२० फ्रेन्चाइज लिगकै हटकेक खेलाडी बने । यो अवधिमा उनी सेन्ट किट्स, लियोपार्ड, बिग बासमा मेलबर्न स्टार्स, स्यलेट सिक्सेज, लाहोर, बाबाडोर्स, जमैका तथा होबर्ट हरिक्यान्सजस्ता प्रसिद्ध टोलीमा अनुबन्ध हुँदै करोडौँ रूपैयाँ कमाए । इंग्ल्यान्डमा आयोजना भएको द हन्ड्रेडबलमा उनी एक लाख पाउन्डमा आबद्ध भए । यद्यपि, उनले द हन्ड्रेडबलमा सहभागिता जनाउन पाएनन् । यो सिजनमा उनी पाँच फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । ‘द सिक्स्टी’मा सन्दीप जमैका तलावाजमा आबद्ध भएका थिए । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेस्ट इन्डिजमै छन् । सन्दीप श्रीलंकाको लंका प्रिमियर लिगमा पनि आबद्ध छन् । सन्दीप युएईको फ्रेन्चाइज लिग इन्टरनेसनल लिग टी–२० (आइएल टी–२०) को मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् ।