१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गठबन्धनले एक महिनामा पनि टुंग्याउन सकेन सिट बाँडफाँड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:११:oo

समानुपातिकतर्फको बन्दसूची पेस गर्न १० दिन मात्र बाँकी रहेकाले नेताहरू दबाबमा 

४ मंसिरको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न १० दिन मात्र बाँकी छँदा पाँचदलीय गठबन्धनले सिट बाँडफाँडको टुंगो लगाउन सकेको छैन । सिट बाँडफाँडसम्बन्धी कार्यदलबाट टुंगो लाग्न नसक्दा दलहरूमाथि उम्मेदवारको टुंगो लगाउन दबाब बढेको छ । 

२० साउनमा कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो । तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन । यसबीचमा कार्यदल र शीर्ष तहमा १६ पटकसम्म बैठक बसेका थिए ।

१ भदौसम्म कार्यदलका तीन बैठक बसेका थिए । तेस्रो बैठकबाट नै कार्यदलबाट यो विषय टुंगो लाग्ने अवस्था नरहेपछि शीर्ष तहमा पुगेको थियो । पछिल्लो समय कार्यदल र शीर्ष तहका संयुक्त र छुट्टाछुट्टै बैठक बसिरहेका छन् । दलहरूले सिट संख्याभन्दा बढी दाबी गरेका छन्, लचकता देखाएका छैनन् । 

कांग्रेसबाट कार्यदल नेता ज्ञानेन्द्रबहादुर कार्की यस अवधिमा कार्यदल करिब सहमतिनजिक पुगेको दाबी गर्छन् । मंगलबार बालुवाटारमा बसेको कार्यदल बैठकपछि प्रतिक्रिया दिँदै उनले कार्यदलको जिम्मेवारी अन्तिम चरणमा पुगेको दाबी गरे । ‘कार्यदल जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा छ । प्रदेश सभाको टुंगो लागेपछि प्रदेशको बाँडफाँडको विषय सहज रूपमा अगाडि बढ्छ । करिबकरिब हामी सहमतिनजिक पुगेका छौँ,’ उनले भने, ‘बुधबार फेरि बैठक बस्छौँ । कार्यदलको तर्फबाट प्रतिवेदन तयार गर्छौँ । कार्यदलको काम लिपिबद्ध गरेर कामको जानकारी गराउनेछौँ ।’ 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । जसका लागि दलहरूसँग १० दिन मात्र समय बाँकी छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ । 

कार्यदलका सदस्यसचिव अधिवक्ता केशवराज जोशीका अनुसार बुधबार साँझ ५ बजे बैठक बस्दै छ । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले प्रतिनिधिसभातर्फको सिट संख्याको करिब टुंगो लगाएको छ । ती सदस्यका अनुसार कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउनेसमेत टुंगो लगाउने गरी कार्यदलमा काम भइरहेको छ । बुधबार बैठकअघि शीर्ष तहमा छलफल गरेर निर्णयमा पुगिने ती सदस्यको दाबी छ । ‘प्रतिनिधिसभातर्फको सिटमा शीर्ष तहबाट ‘एसेप्ट’ हुने गरी करिब सहमति बनिसकेको छ । कुन क्षेत्र कसको भन्ने ठाउँसहित टुंगो लागेको छ । फाइनल टच गर्न मात्रै बाँकी छ,’ ती सदस्यले भने, ‘प्रतिनिधिसभाको टुंगो लाग्नेबित्तिकै बुधबार नै प्रदेशको विषयमा प्रवेश गर्छौँ ।’ 

माओवादीबाट कार्यदल सदस्य रहेका नेता वर्षमान पुनले पनि मंगबारसम्म आउँदा बैठक धेरै सकारात्मक रूपमा अगाडि बढेको दाबी गरे । ‘मंगलबारको बैठक धेरै नै सकारात्मक भएको छ । बुधबार बैठक बसेर नेतृत्वलाई बुझाउने गरी प्रतिवेदन तयार गर्नेछौँँ,’ उनले भने ।

 

 

ad
ad