१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँ नआउँदै ५० प्रतिशतभन्दा धेरै हवाई टिकट बुकिङ भइसके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

दसैँमा काठमाडौंबाट हवाइमार्गबाट घर जानेहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् । फूलपातीदेखि दसैँसम्म काठमाडौंबाट बाहिरिने र एकादशीदेखि काठमाडौं फर्किनेहरूको चाप बढ्ने गर्छ । अहिले सुगम गन्तव्यका उडानहरूमा फूलपातीपछिका लागि ५० देखि ६० प्रतिशत टिकट बुकिङ भइसकेको वायुसेवाका प्रतिनिधिले बताएका छन् ।

अहिले दसैँका लागि भनेरै हवाई टिकट बुकिङ खुला हुँदैन । वर्षभरि नै अनलाइनबाट हवाई टिकट काट्न सकिन्छ । टीकाअघि र टीकापछिका पाँच–सात दिनका लागि तीव्र रूपमा टिकट बुकिङ भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । मुस्ताङ, लुक्लालगायतका दुर्गम गन्तव्यमा टिकट बुकिङ धेरै भइसकेको छ । बुद्ध एयरको एटिआर४२ विमानबाट उडान गर्ने तुम्लिङटारमा दसैँका लागि टिकट सोल्ड आउट नै भइसकेको कर्णको भनाइ छ । बुद्ध एयरले उडान गर्ने गन्तव्यमा दसैँका लागि ५० प्रतिशतभन्दा बढी नै टिकट बुकिङ भइसकेको छ ।

दसैँका लागि यती एयरको टिकट बुकिङ पनि ५० देखि ६० प्रतिशत भइसकेको प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यती एयरले पाँचवटा एटिआर७२ जहाजबाट सुगम गन्तव्यमा उडान गर्दै आइरहेको छ । ‘सस्तो टिकट पूरै बुकिङ भइसके, अब महँगो मूल्यका टिकट मात्र बाँकी छन्,’ उनले भने । यतीको भगिनी कम्पनी तारा एयरले लुक्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यमा उडान गर्छ । तारा २५ सेप्टेम्बरदेखि पोखरा–जोमसोम दैनिक पाँचवटा उडान गर्ने तयारीमा छ । त्यहाँका लागि भारतीय पर्यटक र नेपालीले टिकट बुकिङ गरिरहेका छन् । उनले थपे, ‘लुक्लामा दसैँ मनाउन जाने भन्ने हुँदैन, पर्यटकीय सिजन हुने हुनाले पर्यटक नै बढी हुने गर्छन् ।’

यस्तै, श्री एयरलाइन्समा पनि दसैँका लागि टिकट बुकिङ धमाधम भइरहेको छ । अरू वेलाभन्दा दसैँमा यात्रुको चाप बढी हुने हुँदा पहिल्यै हवाई टिकट काट्ने गरिन्छ । पहिला दसैँलाई भनेर हवाई टिकटको अग्रिम बुकिङ खुला हुन्थ्यो । सीमित जहाज भएको त्यस समयमा टिकट बुकिङ गर्नेको तँछाडमछाड हुने गथ्र्यो । अहिले जहाजको संख्या धेरै भइसकेको छ । ठूला जहाज हुनाले सिट संख्या पनि धेरै छ । त्यसैले अब सुगम गन्तव्यमा भने हवाई टिकट नै नपाउने भन्ने अवस्था नआउने यतीका प्रवक्ता बर्तौलाले बताए ।

कुनै समय १८ सिटका जहाज उड्ने गन्तव्यमा अहिले ८० सिटसम्मका जहाज उडान गर्छन् । उडान संख्या पनि प्रशस्त छन् । त्यसो त यात्रुको चाप बढेमा नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर थप उडान पनि गर्न सकिने बुद्धका प्रवक्ता कर्णले बताए । अहिले वर्षभरि नै टिकट बुकिङ गर्न पाइने हुँदा पहिल्यै दसैँका लागि टिकट बुकिङ हुने गर्छ । अहिले बुद्धले १६ वटा जहाजमार्फत दैनिक एक सय ४० उडान–अवतरण गर्छ । यस्तै, यतीसँग अहिले पाँचवटा एटिआर ७२ जहाज छन् । 

ad
ad