
चितवनस्थित खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कोजाग्रत पूर्णिमा (२३ असोजमा) पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार –२०७८ प्रदान गर्ने भएको छ । कथाकार केशवराज ज्ञवालीलाई ‘अर्काे भोर’ कथासंग्रहका लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै छ ।
त्यसैगरी, सातवटा कथासंग्रहसहित गीतिसंग्रह र थुप्रै बालकथा लेखिसकेकी माया ठकुरीलाई पद्मश्री साधना सम्मान प्रदान गरिँदै छ । उनी तीसको दशकदेखि आधुनिक नेपाली कथाका क्षेत्रमा सक्रिय छिन् ।
प्रतिष्ठानले ०६३ सालयता पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । पद्मश्री साधना सम्मान ०६७ सालदेखि र पद्मश्री गौरव यसै वर्षबाट प्रदान गर्न थालिएको हो ।
यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार चिकित्सक डा. सन्दुक रुइतलाई दिने निर्णय गरिएको छ । सम्मानित हुनेले जनही तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । आयोजक प्रतिष्ठानले एक सय ४४ वटा पुस्तकबाट पहिलो चरणमा १५ वटा र दोस्रो चरणमा पाँचवटा संक्षिप्त सूची यसअघि नै प्रकाशित गरेको थियो । यस वर्षको पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहर र सदस्यहरूमा नयनराज पाण्डे र कुमारी लामा थिए ।
प्रतिष्ठानले ०६३ सालयता वर्षभर प्रकाशित भएका पुस्तकमध्ये एक पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । ०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनयलगायत क्षेत्रमा दीर्घ साधना गर्ने साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आइएको छ । समाजमा गौरवपूर्ण योगदान दिने विशिष्ट व्यक्तित्वलाई यस वर्षबाट पद्मश्री गौरव सम्मान प्रदान गर्न लागिएको आयोजक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।