१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फुटपाथमा प्राधिकरणले राखेको विद्युतीय सामग्री बक्स, जसका कारण सर्वसाधारण सडकमै हिँड्न बाध्य छन् । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पैदलमार्गमा विद्युत् प्राधिकरणको ‘पासो’

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३३:oo

बिजुलीका तार भूमिगत गर्ने नाममा कालोपत्रे सडक भत्काउनुका साथै फुटपाथ नै छेक्ने गरी विद्युत् सामग्री बक्स राखिएका छन्

धराप १
चाबहिल महाँकालमा विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको करिब दुई महिना भयो । तार भूमिगत सकिए पनि भत्केको सडक भने त्यसै छाडिएको छ । तार भूमिगत गर्न प्राधिकरणले सडकको एकापट्टिको करिब आधा भाग नै भत्काएको थियो । 

धराप २
अनामनगर धोबीखोला करिडोरमा प्राधिकरणले खनेको सडक त्यसै छाड्दा ‘धराप’ थापेजस्तै देखिन्छ । तार बिछ्याउँदा प्राधिकरणको टोलीले अस्तव्यस्त पारेर काम सकिँदा पनि उस्तै छ । साँघुरो करिडोर सडकमा प्राधिकरणको लापरबाहीका कारण सर्वसाधारणले ओहोरदोहोरमा सास्ती खेप्नुपरेको छ । 

धराप ३
शान्तिनगर बागमती करिडोरको अवस्था पनि उस्तै छ । सडक विभागले गत असारमा यो सडकखण्ड कालोपत्रे गर्‍यो । तर, विद्युत् प्राधिकरणले एक महिना पनि टिक्न दिएन । तार भूमिगत गर्न साउनमा सडक भत्काइदियो । तार भूमिगत भइसक्यो, तर सडक मर्मत गरेन । 

धराप ४
अनामनगरस्थित सडकको फुटपाथ पनि हेरिसक्नु छैन । तार भूमिगत भइसकेपछि प्राधिकरणले फुटपाथ टालटुल त पारेको छ, तर खनेको ठाउँमा फुटपाथ धसिएको छ । पैदलयात्रुलाई ओहोरदोहोर गर्न निकै समस्या भएको छ । 

...                                   ...

यी त भए केही प्रतिनिधि दृश्य । बिजुलीको तार भूमिगत गरेपछि प्राधिकरणले सडक तथा फुटपाथ मर्मत नगर्दा उपत्यकाका धेरै सडक र पैदलमार्ग धरापजस्तै बनेका छन् । गत वर्ष सडकका फुटपाथ चिटिक्क पारिए पनि प्राधिकरणले भत्काएर कुरूप पारेर छाडेको स्थानीयको आरोप छ । 

डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष अपांगमैत्री पैदलमार्ग निर्माण गरेको थियो । तर, बनिनसक्दै प्राधिकरणले त्यसमाथि प्रहार गर्न सुरु गर्‍यो । मुख्य सडकका फुटपाथसमेत खनेको प्राधिकरणले अहिले अस्तव्यस्त पारेर छाडेको छ । लाम्जिपाट, बालुवाटारका भित्री गल्ली, सरस्वतीस्थान, सामाखुसी क्षेत्र, टेकु, डल्लु, मन्डिकाटार, धापासी, गोंगबु, चक्रपथ, ठमेल, अनामनगर, बागमती करिडोरलगायत ठाउँका सडक र फुटपाथ प्राधिकरणले भत्काएको छ । यी ठाउँमा तार भूमिगत भइसके पनि फुटपाथ मर्मत तथा सडक कालोपत्रे गरेको छैन । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले तार भूमिगत गर्न भत्काएका सडक तथा फुटपाथ हिउँद लागेपछि मात्रै कालोपत्रे गरिने बताए । ‘अहिले कालोपत्रे गर्न मिल्दैन, हामी ग्राभेल वा माटो हालेर सम्याएर छाड्छौँ,’ उनले भने, ‘हिउँद लागेपछि मात्रै कालोपत्रे हुन्छ ।’

उनका अनुसार प्राधिकरणले डेढ वर्षभित्र उपत्यकाको तार भूमिगत गरिसक्ने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार उपत्यकामा चारवटा आयोजनाअन्तर्गत तार भूमिगत भइरहेको छ । महाराजगन्ज, रत्नपार्क, कीर्तिपुर र भक्तपुर–ललितपुरअन्तर्गत तार भूमिगत भइरहेको छ । उपत्यकाबाहिर भरतपुर र पोखरामा पनि तार भूमिगतको योजना छ । यी क्षेत्रमा आगामी दुई वर्षभित्र तार भूमिगत गर्ने लक्ष्य राखिएको छ । तर, सडकमा हुने अन्य अवरोधका कारण समयमै भूमिगतको काम नसकिने रत्नपार्क वितरण केन्द्रअन्तर्गत काठमाडौं उपत्यका, पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठले बताए । उनका अनुसार काम सकिएको कतिपय ठाउँमा सडक सम्याएर छाडिएको छ । तर, कतिपय ठाउँमा भने काम भइरहेकाले सडक अव्यवस्थित बनेको छ । ‘काम सकेका ठाउँमा माटो राखेर भए पनि सडक व्यवस्थित पारेका छौँ,’ उनले भने, ‘यो समयमा कालोपत्रे गर्न मिल्दैन ।’ 

महाराजगन्ज र रत्नपार्कअन्तर्गत करिब ५० प्रतिशत तार भूमिगत सकिएको छ । कीर्तिपुर र भक्तपुरअन्तर्गतको काम बल्ल २२ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । विभिन्न योजनाअन्तर्गत तार भूमिगत गरे पनि मुख्य सडकआसपासमा प्राधिकरणले काम नै सुरु गरेको छैन । हाल बागमती करिडोर, धोबीखोला करिडोर, अनामनगर, ललितपुरको पाटन–शंखमूल, तिनकुने, महाँकाल, चक्रपथ, केशरमहल, खुसिबु, बालाजुलगायत क्षेत्रमा तार भूमिगत भइरहेको छ । यी ठाउँमा प्राधिकरणले तार भूमिगत गर्न सडक तथा फुटपाथ भत्काएको छ भने काम सकिएको ठाउँमा समेत अस्तव्यस्त पारेर छाडेको छ । रातको समयमा मात्रै काम गर्दा ढिलो भइरहेको र अन्य निकायले समन्वय नगर्दा अवरोधसमेत भएको प्राधिकरणले जनाएको छ । सहरी योजनाकार तथा पूर्वाधारविद् सूर्यराज आचार्यले सहरी क्षेत्रको सडक र फुटपाथको जेनेरल प्रिन्सिपलले दिनरात काम गरेर भए पनि छिटो सक्नुपर्ने तर हाम्रोमा निकै लापरबाही भएको बताए । 

काठमाडौं डिभिजन सडक कार्यालय र सडक विभागले एक वर्षअघि उपत्यकाका मुख्य सडकका फुटपाथ चिटिक्क पारेको थियो । रंगीन र अपांगमैत्री फुटपाथले सडकको शोभा नै बढाएको छ । तर, त्यही फुटपाथ प्राधिकरणले फेरि भत्काउँदै छ । प्राधिकरणले तार भूमिगत गर्न सबैजसो फुटपाथ भत्काउनेछ । जहाँ–जहाँ बिजुलीका पोल छन्, त्यसको भुइँमा प्राधिकरणले खन्नेछ । 

सडक भत्काएर कसैले पनि छाड्न पाउँदैन : सूर्यराज आचार्य, सहरी योजनाकार 
सहरी सडक कसैले पनि भत्काएर छाड्न पाउँदैन । जसले जे प्रयोजनका लागि भत्काए पनि जस्ताको तस्तै बनाउने दायित्व उसैको हो । तर, हामीकहाँ सहरी विकासमा चरम लापरबाही छ । अहिले प्राधिकरणले सडकमा जताततै खाल्डो पारेको छ ।

हिउँद लागेपछि मात्रै कालोपत्रे : सुरेशबहादुर भट्टराई प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण 
अहिले उपत्यकामा धमाधम बिजुलीको तार भूमिगत भइरहेको छ । त्यसका लागि सडक खन्नुपरेको हो । खनेको ठाउँमा वर्षाका वेला कालोपत्रे गर्न मिल्दैन । हामीले ग्राभेल वा माटो हालेर सम्याएर छाड्ने गरेका छौँ । हिउँद लागेपछि मात्रै कालोपत्रे हुन्छ ।

ad
ad