१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन्। बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे। 

१४ वर्षसम्म निरन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेल्नुभएका चेम्जोङसहितका १० खेलाडीले सेवासुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरे। यताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरू वञ्चित रहेका थिए। गोलकिपर चेम्जोङले अन्य खेलाडीभन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दासमेत टिमबाट आफू निष्कासित हुनुपरेको बताए। 

विनाकारण टिमबाट निकालिँदा सञ्चारमाध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे। चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए। तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रीपूर्ण खेल खेल्न लागेको छ। सोही मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन्। 

लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीभन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताए। टोलीमा फर्किएपछि चेम्जोङले कुनै पनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झन्डाका लागि खेल्ने बताए। आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता प्रदीप हुमागाईंले जनाए। जसअनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ। एकसाताको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ। प्रमुख प्रशिक्षक हुमागाईंले छिट्टै टोलीलाई घटाउने भने पनि एकसाता बितिसक्दा टोलीको संख्या घटेको छैन। 

फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए। राईले फुटबल बनोटअनुसार सुरुवाती चरणमा गरिने अभ्यास बितेको एकसातामा गरेको बताए। राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईंसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए।