१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार ०८:२५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवनियुक्त प्रमुख प्रशिक्षक प्रभाकर भन्छन् - नेपाली खेलाडी प्राविधिक पक्षमा कमजोर छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार ०८:२५:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक मनोज प्रभाकरले नेपाली खेलाडीमा मुख्य कमजोरी प्राविधिक पक्ष रहेको बताएका छन् । ‘नेपाली खेलाडीका अन्य सबै पक्ष राम्रा छन्, तर ब्याटिङमा उनीहरूको प्राविधिक पक्षमा कमजोरी भएको पाएँ,’ नेपाल क्रिकेट संघ(क्यान)ले आइतबार आयोजना गरेको कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले भने, ‘टेक्निकमा कमजोर नै छन्, यसमा सुधार गर्न सकिन्छ, प्राविधिक पक्षमा बलियो हुँदा क्रिकेटको जुनसुकै फम्र्याटमा रन बनाउन सकिन्छ ।’ 

प्रभाकरले कमजोर पक्ष हटाउन आफूलाई समय लाग्ने बताए । उनी भन्छन्, ‘एकैपटक कमजोरी समाधान गर्न सकिँदैन, यसका लागि समय चाहिन्छ, नेपाली ब्याट्सम्यानको त्यही अभाव र कमजोर हटाउने योजना बनाएको छु ।’ 

आइसिसी वरीयता सुधार गर्ने प्रतिबद्धता
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डमा भएको सिरिजमा नेपालले खराब नतिजा व्यहोरेको थियो । यसै नतिजाका कारण नेपालले आइसिसी एकदिवसीय वरीयतामा समेत स्थान गुमाएको छ । नेपाललाई राम्रो लयमा फर्कने सोचेजस्तो सहज नभएको उनको भनाइ छ । 

‘मैले नेपालले खेलेका खेलको विश्लेषण गरेको छु, पछिल्लो समय नेपालको प्रदर्शन सन्तोषजनक छैन,’ नेपाली टोलीको विश्लेषण गर्दै उनले भने, ‘यस टोलीलाई लयमा फर्काउन त्यति सहज छैन, अन्तर्राष्ट्रियस्तरमा टोली निर्माण गर्नु चुनौती हो ।’ मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो अनभुव नेपाली खेलाडीसँग बाँड्ने बताए । 

‘मसँग अनुभव छ, युवा खेलाडीलाई सुधार्ने उपाय छ, अबको दुई–तीन महिनामै उनीहरूमा फरकता पाउनुहुनेछ’, प्रभाकरले भने, ‘यो अवधिमा मैले नेपाली बलरलाई फरक तरिकाले तयारी गर्नेछु ।’ नेपाली क्रिकेटबारेमा उनले भारतीय पत्रकारबाट जानकारी पाएको बताए । भारतीय पत्रकारहरूले नेपाली क्रिकेटको अवस्था र खेलाडीबारे जानकारी दिने गरेको उनको भनाइ छ । ‘मैले नेपाली क्रिकेटबारे भारतका पत्रकारबाट जानकारी प्राप्त गरेको हुँ, उनीहरूले मलाई नेपाली क्रिकेटको अवस्था र खेल स्थितिबारे जान्न सहयोग गरेका छन्,’ उनले भने, ‘मलाई थाहा छ, नेपालका खेलाडीले आइपिएल खेलिसकेका छन् ।’ 

यस्तो छ प्रभाकरको खेल यात्रा
डेढ दशकको अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा प्रभाकरले भारतबाट ३९ टेस्ट, एक सय ३० एकदिवसीय तथा एक सय ५४ प्रथम श्रेणी क्रिकेट खेलेका थिए । सन् १९९० को दशकमा प्रभाकर भारतीय टोलीकै एक नम्बरका अलराउन्डर खेलाडी थिए । उनले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीनवटा एकदिवसीय विश्वकप खेलेका थिए ।

सन् १९९६ को विश्वकपमा श्रीलंकाविरुद्धको क्वार्टरफाइनलमा प्रभाकरले करिअरकै खराब बलिङ गरेका थिए । उनले सन् २०१६ को अफगानिस्तानी टोलीका बलर मुख्य प्रशिक्षणको भूमिका निर्वाह गरेका थिए । सन् १९९९ को म्याच फिक्सिङमा मुछिँदा उनको करिअर समाप्त भयो । वेस्ट इन्डिजसँगको खेलको क्रममा म्याच फिक्सिङ गरेको उनीमाथि आरोप थियो । त्यसपछि क्रिकेट बोर्डले उनलाई सन् २००० मा क्रिकेट खेल्न प्रतिबन्ध लगायो । ६ वर्षपछि उनको प्रतिबन्ध हटेको थियो । प्रतिबन्धपछि उनले रणजी ट्रफीमा दिल्लीको बलिङ प्रशिक्षकका रूपमा जिम्मेवारी पाए । त्यसपछि २००९/१० मा उनी राजस्थानको मुख्य प्रशिक्षक बने । 

प्रभाकरको पारिश्रमिक मासिक १५ लाख
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को अनुरोधमा क्यानले गत साता प्रभाकरलाई नेपाली टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको हो । दुई वर्षको सम्झौतामा प्रभाकरले प्रतिमहिना १५ लाख नेपाली पारिश्रमिक लिनेछन् । प्रभाकरले नेपालको एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने मुख्य लक्ष्य रहने बताएका छन् । ‘हामीमाथि चुनौती धेरै छ, नेपालको एकदिवसीय राष्ट्रको मान्यतालाई निरन्तरता दिनुपर्नेछ’ उनले भने, ‘त्यसपछि नेपाललाई टेस्टस्तरमा पुर्‍याउनुपर्छ ।’

प्रभाकरले नेपाली टोलीमा देखिएका चुनौती सामना गर्न तयार रहेको बताएका छन् । उनी भन्छन्, ‘आउँदो दिनमा मेरा लागि धेरै चुनौती छ, त्यसको सामना गर्न तयार छु ।’ आफ्नो कार्यकालमा युवा खेलाडीलाई धेरैभन्दा धेरै सहयोग गर्ने उनले बताए । ‘नेपालका युवा खेलाडी निकै प्रतिभावान् छन्, उनीहरूलाई सक्दो सहयोग गर्नेछु,’ प्रभाकरले भने, ‘उनीहरूलाई एक्सपोज गर्नुपर्छ ।’ क्षमतावान् खेलाडीहरूलाई उत्कृष्ट नतिजा दिलाउने प्रयास रहने मुख्य प्रशिक्षक प्रभाकरले बताए ।