१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o७:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–भट्टराई पुनः मिलनतिर - एउटै चुनावचिह्न लिएर निर्वाचनमा जाने, निर्वाचनपछि पार्टी एकता गर्ने

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३९:oo

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा साझा चुनावचिह्न लिएर जाने सैद्धान्तिक सहमति गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आइतबार बिहान भएको छलफलमा एउटै चुनावचिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो । सहमतिलाई सोमबार औपचारिकता दिने तयारी छ । ‘निर्वाचनमा मिलेर जाने सहमति भयो, भोलि लिखित रूपमा सार्वजनिक गर्छौँ,’ नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले नयाँ पत्रिकासँग भने । उनका अनुसार दुई नेताबीच एकै चुनावचिह्न र समाजवादउन्मुख घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको हो ।

लामो छलफलपछि एउटै चिह्नबाट चुनाव लड्न तयार भएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए । दुवै पार्टीको बैठकबाट सहमति अनुमोदन भएपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको उनले बताए । प्रचण्डले भट्टराईलाई माओवादीमै आएर चुनाव लड्न आग्रह गरेका थिए । भट्टराईले समाजवादी केन्द्र बनाएर एउटै चिह्नमा चुनाव लड्नुपर्ने बताउँदै आएका थिए । 

माओवादी नेता महेन्द्रबहादुर शाहीले चुनावी गठबन्धन र पार्टी एकताको जिम्मा प्रचण्डलाई केन्द्रीय कमिटी बैठकले दिइसकेकाले अनुमोदन गरिरहनु नपर्ने बताए । ‘पूर्वमाओवादी, एकीकृत समाजवादी र जसपाबीच चुनावी तालमेल र एकताको निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएका छौँ,’ उनले भने । यद्यपि, स्थायी समितिको बैठक सोमबार बस्ने तयारी रहेको उनले जानकारी दिए । 

भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव उठ्ने तयारीमा छन् । प्रचण्ड र भट्टराईबीच केही महिना अघिदेखि निरन्तर छलफल भइरहेको थियो । जसपामा विवाद उत्कर्षमा पुगेका वेला प्रचण्ड र भट्टराईले गत १६ असारमा उपराष्ट्रपतिको निवासमा भेट गरेका थिए । त्यसपछि ३ साउन र ५ साउनमा दुई नेताबीच छलफल भएको थियो । दोस्रो तहका नेताहरूबीच पनि पटक–पटक छलफल भएको थियो ।

 घुम्दैफिर्दै रुम्जाटार
३ असोज ०७२मा जारी भएको संविधान निर्माणको क्रममा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रूपमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन निकै कोसिस गरेका थिए । तर, मधेसकेन्द्रित दलहरूको असहमतिको बाबजुद कांग्रेस, एमाले र माओवादी केन्द्रको सहमतिमा संविधान जारी भएपछि भट्टराईले सार्वजनिक रूपमै असन्तुष्टि जाहेर गरेका थिए । त्यही जगमा उनले वैकल्पिक नयाँ शक्ति बनाउने भन्दै ०७२ को असोज दोस्रो साता माओवादी परित्याग गरेका थिए । उनले सांसदबाट समेत राजीनामा दिएर संविधान संशोधनको माग उठाएका थिए । माओवादी केन्द्र परित्याग गर्दै गर्दा भट्टराईले भनेका थिए, ‘अब परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकियो ।’ उनले माओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’को संज्ञा दिएका थिए । 
भट्टराईले वैकल्पिक शक्तिको आवश्यकता औँल्याउँदै ‘तरकारी काट्न चक्कु चाहिन्छ भने खसीको निम्ति खुकुरी’ भनेका थिए । नयाँ शक्तिमार्फत राजनीतिक शक्तिमा पुग्ने उनको विश्वास थियो । देशलाई समृद्धिको यात्रामा हिँडाउन भन्दै भट्टराईले तामझामका साथ ३० जेठ ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए । भट्टराईले पार्टीमा पूर्वप्रशासक, कलाकार र विश्लेषकसमेत समेटेका थिए । तर, भट्टराईलाई लामो समय साथ दिएका माओवादीका नेताहरूले उनको साथ छाडेका थिए । 

डा. भट्टराईसँगको करिब तीन दशक लामो राजनीतिक सम्बन्ध विच्छेद भएपछि प्रचण्डले एक अन्तर्वार्तामा भनेका थिए, ‘बाबुरामजीलाई मैले ३० वर्ष झेलेँ । कसैले एक वर्ष व्यहोरेर त देखाओस् ।’ सात वर्षको अन्तरालमा भट्टराईले चारवटा पार्टी फेरेका छन् । र, अन्ततः प्रचण्डसँग पुनः मिलनको बाटोमा अघि बढेका छन् । भट्टराईले जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका थिए । उक्त पार्टीमा भट्टराईसहित महिन्द्र राय यादव अध्यक्ष छन् । एक सय ८९ सदस्यीय केन्द्रीय कमिटीमा गंगानाराण श्रेष्ठ सहअध्यक्ष छन् ।

 वाम गठबन्धनबाट ‘ब्याक’
०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी मिलेर १७ असोजमा राष्ट्रिय सभागृहमा वाम गठबन्धन घोषणा गर्दा भट्टराई पनि सामेल थिए । एमाले र माओवादी आ–आफ्नै चुनावचिह्न लिएर निर्वाचनमा जाने घोषणा हुँदा भट्टराई एमालेको ‘सूर्य’ चिह्न लिएर निर्वाचनमा जान सहमत भएका थिए ।नारायणकाजी श्रेष्ठले गोरखा निर्वाचन– २ नछाडेपछि उनले वाम गठबन्धन नै त्यागिदिए र कांग्रेससँग तालमेल गरेर निर्वाचन जिते ।

भट्टराईको नयाँ शक्ति पार्टीले पहिलो तथा अन्तिम निर्वाचनमा कांग्रेससँगको तालमेलमा ०७४ को निर्वाचनमा एक सिट जित्यो । समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा संसद्मा उनको हैसियत स्वतन्त्रको रह्यो । नयाँ शक्तिबाट राजनीतिक भविष्य नदेखेपछि भट्टराईले उपेन्द्र यादवको संघीय समाजवादी पार्टीसँग एकताको हात अघि बढाए । 

 संघीय समाजवादी
नयाँ पार्टी घोषणा गरेको तीन वर्षपछि भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमसँग एकताको हात अघि बढाएका थिए । दुई पार्टी मिलाएर २३ वैशाख ०७६ मा समाजवादी पार्टी नेपाल घोषणा भएको थियो । समाजवादी पार्टी विभाजनको खतरा देखेपछि राष्ट्रिय जनता पार्टी राजपासँग १० वैशाख २०७७ मा रातारात एकीकरण गरेर जनता समाजवाद पार्टी (जसपा) बनाइएको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू बहुमतमा पुग्ने गरी संघीय समाजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएपछि विभाजन रोक्न राजपासँग रातारात एकता गरिएको थियो । तर, ओलीकै कारण जसपा विभाजित भयो । जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरिसकेका छन् । यादव र भट्टराई जसपामै रहे पनि राजनीतिक रूपमा दूरी बढ्दै गयो । अन्ततः भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

प्रचण्ड र डा. भट्टराईबीचका छलफलको शृंखला
असार १६ : उपराष्ट्रपतिको निवासमा प्रचण्ड र डा. भट्टराईबीच छलफल
 साउन ३ : सिंहदरबारमा प्रचण्ड र डा. बाबुराम भट्टराईबीच छलफल
 साउन ५ : ललितपुरस्थित भैँसेपाटीमा प्रचण्ड र डा. भट्टराईबीच छलफल
 साउन २९ : ललितपुरस्थित खुमलटारमा प्रचण्ड र डा. भट्टराईबीच छलफल

ad
ad