मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २४ मंगलबार ०६:५०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रभाकर नेपालका मुख्य प्रशिक्षक

Read Time : > 2 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०६:५०:००

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका पूर्वअलराउन्डर मनोज प्रभाकर नियुक्त गरेको छ । ४ साउनमा पुबुदु दासानायके क्यानडा गएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन बनेको थियो । क्यानले सुरुमा सर्टलिस्टमध्येबाटै मुख्य प्रशिक्षक बनाउने योजना बनाए पनि अन्तिममा भारतीय सिनियर टोलीबाट एक दिवसीय विश्वकप खेलिसकेका अलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

नेपाली टोलीको मुख्य प्रशिक्षक बनेपछि प्रभाकरले खुसी व्यक्त गरेका छन् । प्रभाकरले ‘क्रिक इन्फो’सँग नेपाली टोली युवा खेलाडीले भरिएको बताएका छन् । ‘नेपालमा क्रिकेटको फरक माहोल छ, त्यहाँ प्रतिभावान् खेलाडीको बाहुल्य छ,’ प्रभाकरले भनेका छन्, ‘नेपाली क्रिकेटमा काम गर्न मलाई निकै मन लागेको छ ।’ उनले नेपाली टोलीलाई राम्रो स्थानमा पुर्‍याउने जनाएका छन् । उनी भन्छन्, ‘मेरो प्रयास नै नेपाली क्रिकेटलाई राम्रो बनाउने हो ।’ क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको छ । 

३९ टेस्ट र १३० एकदिवसीय 
भारतीय क्रिकेट इतिहासमा प्रभाकर सन् १९९० दशककै चर्चित क्रिकेटर थिए । त्यसवेला उनी भारतीय टोलीमा सबैभन्दा ह्यान्डसम खेलाडीका रूपमा थिए । भारतले पहिलोपटक एकदिवसीय विश्वकप उचालेको एक वर्षपछि प्रभाकरले डेब्यु अवसर पाए । उनले सन् १९८४ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु अवसर पाए । उनले डेब्यु खेलको पहिलो ब्याटिङ इनिङ्समा नवौँ क्रममा ब्याटिङ गर्दै ५३ बलमा तीन चौकाको सहयोगमा २३ रन बनाएका थिए । त्यसवेला भारतीय टोलीमा चर्चित खेलाडीहरू सुनील गावास्कर, कपिल देव, दिलीप भेन्स्कार, महिन्द्र अमरनाथ, रवि शास्त्री र सइद किर्मानी थिए । बलिङ इनिङ्समा कपिल देवको पार्टनर बनी उनले २१ ओभरमा तीन मेडन राखी एक विकेट लिएका थिए । 

पहिलो इनिङ्समा आक्रामक ब्याटिङ गरेका कारण दोस्रो इनिङ्समा उनले कप्तान गवास्करसँगै ओपनिङ गरे । तर ओपनिङमा उनले राम्रो गर्न सकेनन् । उनले १६ बलमा एक चौका प्रहार गरी पाँच रन मात्र बनाए । प्रभाकरको डेब्यु टेस्ट बराबरीमा सकिएको थियो । सन् १९९५ मा प्रभाकरले भारतीय टोलीबाट अन्तिमपटक टेस्ट खेले । न्युजिल्यान्डविरुद्धको टेस्ट उनको करिअरकै अन्तिम बन्यो । प्रभाकरले ३९ टेस्टमा नौपटक नटआउट रही १६ सय रन बनाएका थिए । उनले एक शतक तथा नौ अर्धशतक इनिङ्स खेले । प्रभाकरले भारतीय टोलीबाट एकदिवसीय खेलमा डेब्यु सन् १९८४ को अप्रिलमा श्रीलंकाविरुद्ध गरेका थिए । सारजहाँमा भएको खेलमा उनले बलिङ मात्र गर्ने अवसर पाए । जसमा उनले १० ओभरमा तीन मेडन राखी दुई विकेट लिए । 

विश्वचर्चित खेलाडी सचिन तेन्दुलकर, कपिल देव, सुनील गावास्कर, मोहमद अजरुद्दिन, अजय जडेजा, विनोद काम्बली, अनिल कुम्बलेलगायतसँग डे«सिङ रुम सेयर गरेका मनोज प्रभाकर नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त

संयोग कस्तो रह्यो भने प्रभाकरको अन्तिम एकदिवसीय खेल पनि श्रीलंकाविरुद्ध नै रह्यो । नयाँदिल्लीमा भएको विल्स विश्वकप प्रतियोगितामा उनले ब्याटिङमा ३६ बलको सामना गरी सात रन मात्र बनाए । बलिङमा भने उनले चार ओभरमा ११.७५ इकोनोमी राखी ४७ रन दिए । प्रभाकरले अन्तिमपटक एकदिवसीय खेल्दा टोलीमा सचिन तेन्दुलकर, विनोद काम्बली, मोहमद अजरुद्दिन, अजय जडेजा, अनिल कुम्बले र सञ्जय मन्जेकरजस्ता खेलाडी थिए । प्रभाकरले १३० एकदिवसीय खेलमा दुई शतक तथा ११ अर्धशतकको सहयोगमा एक हजार ५८ रन बनाएका थिए ।

 प्रशिक्षण अनुभव
सन् १९८४–९६ सम्म भारतीय टोलीलाई सक्रिय रूपमा योगदान दिएका प्रभाकर एउटा नराम्रो काण्डमा परे । सन् १९९९ मा म्याच फिक्सिङ काण्डले भारतमा मात्र नभएर विश्वभरि नै हलचल मच्चायो । तत्कालीन कप्तान अजरुद्दिन, अजय जडेजा, प्रभाकरसँगै दक्षिण अफ्रिकाका ह्यान्से क्रोने पनि म्याच फिक्सिङमा मुछिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले म्याच फिक्सिङ गरेका यी सबै खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको थियो । क्रोनेको हवाई जहाज दुर्घटनामा निधन भयो । 

आइसिसीबाट प्रतिबन्ध फुकुवा भएपछि प्रभाकरले आफूलाई क्रिकेटमै व्यस्त राखे । उनले आफ्नो क्षमताअनुसारै बलिङतर्फ प्रशिक्षण दिए । प्रशिक्षकका रूपमा उनले अफगानिस्तानसँगै रणजी ट्रफीमा नयाँदिल्ली, राजस्थान र उत्तर प्रदेशको टोली सम्हालिसकेका छन् । प्रभाकर सन् २०१५ मा अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका थिए । अफगानिस्तानले २०१६ को टी–२० विश्वकप खेल्दा बलिङ प्रशिक्षक उनलाई बनाएको थियो । 

उनी राजस्थान र उत्तर प्रदेशका रणजी ट्रफीका लागि बलिङ प्रशिक्षक बनेका थिए । सन् २००८ मा उनकै प्रशिक्षणमा दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०११–१२ मा रणजी ट्रफी सम्बन्धमा विवादास्पद टिप्पणी गरेपछि उनी बर्खास्तीमा परे । उनको बलिङ प्रशिक्षणमा रहेको अफगानिस्तानसँग सन् २०१६ को टी–२० विश्वकपमा वेस्ट इन्डिज पराजित भएको थियो । पछि वेस्ट इन्डिज टी–२० विश्वकप च्याम्पियन बनेको थियो ।