१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७९ श्रावण २३ सोमबार ०८:४५:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

शक्तिराष्ट्रहरूको वायु प्रदूषण नियन्त्रण प्रयास : अमेरिकाले ३० वर्षमा घटाएको प्रदूषण चीनले सात वर्षमै

अहिलेको सुधारलाई कायम राख्न सके मानिसको औसत आयु करिब दुई वर्ष बढ्ने

Read Time : > 2 मिनेट
२०७९ श्रावण २३ सोमबार ०८:४५:००

अमेरिकाले ३० वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले करिब सात वर्षमै घटाएको एक अध्ययनले देखाएको छ । यस सुधारबाट चीनको वायु प्रदूषणको स्तर विश्वको औसत हाराहारीमा पुगेको छ ।तीव्र औद्योगिक विकासका कारण वातावरण निकै प्रदूषित बनेको चीनले कडा कानुनमार्फत सन् २०१३ देखि २०२० सम्म प्रदूषणलाई ४० प्रतिशतले घटाएको युनिभर्सिटी अफ सिकागोअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटको अध्ययनले देखाएको छ । यस सुधारलाई कायम राख्न सके मानिसको औसत आयु करिब दुई वर्ष बढ्ने अनुसन्धानदाताहरूको भनाइ छ । 

‘चीनका धेरै भूभागमा अझै धुवाँधुलो सुरक्षित मान्न सकिने स्तरभन्दा बढी नै छ । तर, पनि उसले छोटो समयमा अभूतपूर्व सुधार हासिल गर्‍यो । दृढ इच्छाशक्ति भए वायु प्रदूषणको क्षेत्रमा छिटो प्रगति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो,’ प्राध्यापक माइकल ग्रिनस्टोनलगायतका अनुसन्धानकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । संसारका लगभग ९७ प्रतिशत जनसंख्या विश्व स्वास्थ्य संगठनको निर्देशिकाले उपयुक्त भनेर तोकेभन्दा खराब क्षेत्रमा बसोवास गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

वायु प्रदूषणले धूम्रपान, मद्यपान वा कमजोर सरसफाइले भन्दा बढी औसत आयु घटाउने सिकागो विश्वविद्यालयका अनुसन्धानदाताको भनाइ छ । ‘चीनले वायु प्रदूषण कम गर्नमा हासिल गरेको सफलता अन्य मुलुकहरूका लागि महत्वपूर्ण पाठ हो । कठोर प्रदूषणसम्बन्धी कानुनले सबै मुलुकमा उस्तै परिणाम निम्त्याउनेछ,’ अध्ययनमा संलग्न वैज्ञानिकहरूले भने ।दशकौँदेखि प्रदूषणविरुद्ध लडिरहेका अमेरिका र युरोपका कुल जनसंख्यामध्ये करिब ९० प्रतिशत अझै मुलुकको ती भेगमा बस्छन् जहाँ विश्व स्वास्थ्य संगठनको निर्देशिकाले निर्धारण गरेभन्दा खराब हावा छ । 

सन् २०२० मा विश्वको वायु प्रदूषणमा भएको वृद्धिमा भारतमा एक्लैको योगदान आधा थियो । जब कि त्यस वर्र्ष मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीले कठोर देशव्यापी लकडाउन लगाएका थिए । २.५ माइक्रोमिटरभन्दा मसिना विषाक्त कण (अर्थात् पिएम २.५)को सघनता भारतमा २.९ प्रतिशतले बढेको थियो । पाकिस्तानमा यस्ता कण ६.३ प्रतिशतले बढेको पाइयो । विश्वको सबैभन्दा प्रदूषित राष्ट्रमा गणना हुने बंगलादेशमा विषाक्त मसिना धुलोको कणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १५ गुणा बढी छ र सन् २०२० मा पिएम २.५ अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढ्यो । 

‘वायु प्रदूषण समाधान गर्न कठिन समस्या हो । यसमा सही प्रगति देखिन दशकौँ लामो लगानी आवश्यक पर्छ,’ सिकागो विश्वविद्यालयको वायु गुणस्तर कार्यक्रमका निर्देशक तथा पछिल्लो अध्ययनकी सहलेखक क्रिस्टा हसेन कोपले भनिन्, ‘विश्वको अन्य भागको तुलनामा दक्षिण एसियामा वायु प्रदूषणको स्वास्थ्यमाथि बोझ धेरै नै उच्च छ ।’

 यसरी घटायो चीनले वायु प्रदूषण
चीनले वायु प्रदूषण घटाउनका लागि मुख्यतः प्रमुख सहरहरूमा कारको प्रयोग घटाउने र कोइला बाल्न प्रतिबन्ध लगायो । यस्तै, अन्य कदमको बलमा चीनले सात वर्षमै वायु प्रदूषणको स्तरलाई पहिलेको भन्दा ४० प्रतिशतमा झार्‍यो । अमेरिकाले सन् १९७० यताको ३० वर्षमा देशको औसत वायु प्रदूषणमा ४४ प्रतिशत न्यूनीकरण गरेको थियो । चीनको सात वर्षको सुधार अमेरिकाको करिब ३० वर्षको बराबर देखिन्छ । ठूलो सुधारको बाबजुद चीनको राजधानी बेइजिङको वायु प्रदूषण अमेरिकाको सबैभन्दा प्रदूषित सहर लस एन्जलसको भन्दा तीन गुणा बढी छ । साथै, चीनको औसत वायु प्रदूषणको स्तर डब्लुएचओले सिफारिस गरेको भन्दा ६ गुणा बढी छ ।

 ‘चीनको प्रयासले विश्वकै औसत प्रदूषण घट्यो’
चीनको वायु प्रदूषणमा आएको ह्रासले विश्वकै औसत प्रदूषण घट्न योगदान पुगेको अन्वेषकहरूले भने । चीनको न्यूनीकरणविना विश्वको औसत प्रदूषणस्तर सन् २०१३ देखियता घट्नुको साटो बढिरहेको थियो । पछिल्लो समय दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्य–अफ्रिकाका औद्योगिक देशहरूमा वायुको गुणस्तर बिग्रँदै  गएको छ । कम्बोडिया र थाइल्यान्डमा सन् २०२० मा प्रदूषणको स्तर अघिल्लो वर्षको भन्दा १० प्रतिशतले बढ्यो । जब कि नजिकैको सिंगापुर र इन्डोनेसियामा प्रदूषणको स्तर घटेको थियो । पछिल्लो समय प्रजातान्त्रिक गणतन्त्र कंगोे, रुवान्डा र बुरुन्डी विश्वका सबैभन्दा प्रदूषित देशहरूमध्ये पर्छन् ।

डब्लुएचओको वायु गुणस्तर निर्देशिका के हो ? 
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को वायु गुणस्तर निर्देशिकाले राष्ट्रिय, क्षेत्रीय र नगरी प्रशासनलाई वायु प्रदूषण घटाउने मापदण्डको काम गर्छ । अर्थात्, यसले विश्वभरका सरकारलाई वायु प्रदूषण न्यूनीकरण लक्ष्य निर्धारण गर्न सघाउँछ । 

के हो वायु प्रदूषण ?
वायु प्रदूषण भन्नाले ठोस कण, तरल थोपा र ग्यासहरूको जटिल मिश्रणलाई जनाउँछ । यी धेरै स्रोतहरूबाट आउन सक्छन् जसमा औद्योगिक चिम्नी, घरभित्रका चुलोहरू, सवारीसाधन, कोइला वा अन्य खनिज माध्यमबाट विद्युत् उत्पादन, फोहोर खुला जलाउने कार्य आदि प्रमुख हुन् ।

वायु प्रदूषणको स्तर मापन गर्न हावामा भएको पिएम २.५ (२.५ माइक्रोमिटरभन्दा कम व्यास भएका कण), पिएम १० (१० माइक्रोमिटरभन्दा सानो व्यास भएका कण), ओजोन(ओथ्री), नाइट्रोजन डाइअक्साइड (एनओटु), कार्बन–मोनोअक्साइड (सिओ) र सल्फर डाइअक्साइड (एसओटु)को परिणाम मापन गरिन्छ । 

के हो पिएम २.५ र पिएम १० ?
हावालाई प्रदूषित बनाउने तत्वमध्ये पिएम २.५ सीधै फोक्सोसम्म पुग्ने र त्यहाँबाट रक्तसञ्चारबाट शरीरका विभिन्न अंगमा प्रवेश गर्न सक्ने भएकाले यसलाई बढी घातक मानिन्छ । यसबाट शरीरका सबै प्रमुख अंगलाई हानि पुग्छ । मानव कपालभन्दा ३० गुणा सानो हुने पिएम २.५ धेरै भएको स्थानमा लामो समय बसेमा मुटु र श्वासप्रश्वास प्रणालीमा असर गर्छ । यसले फोक्सोको क्यान्सर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी)जस्ता गम्भीर रोग निम्त्याउँछ ।  विश्व स्वास्थ्य संगठनको सन् २०२१ को वायु गुणस्तर निर्देशिकाले हावामा पिएम २.५ र पिएम १० को निम्न परिणाम वा सोभन्दा तललाई स्वस्थ्य मानेको छ ।