१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि संकलनमा कडाइ गर्दै स्थानीय तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ संकलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेशकाे राजधानी सुर्खेत, नेपालगन्ज, दाङलगायतका बजारमा पुगेको जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् ।

काँचो स्याउ संकलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान संकटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि संकलन गर्ने गरी तत्काल स्याउ संकलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । पातारासीले तिजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिएमा पालिकाले दिने अनुदानलगायतका अन्य सेवाबाट वञ्चित गरिने पातारासी गाउँपालिकाले जनाएको छ ।

स्याउको गुणस्तर कायम राख्न किसानलाई उचित मूल्य दिलाउन तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने भदौ १५ गतेपछि मात्रै स्याउ टिप्न पाउने निर्णय गरेका छन् । तिला, कनकासुन्दरी, गुठीचौर गाउँपालिकाले भदौ १० गतेपछि मात्रै किसानलाई स्याउ टिप्न परिपत्र गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । 

हिमा गाउँपालिकाले भदौ १ गते सडक क्षेत्र र भदौ ५ गतेपछि मात्रै माथिल्लो क्षेत्रको स्याउ टिप्न पाउने निर्णय गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए । परिपक्व नहुँदै स्याउ बजारमा गएपछि जुम्ली स्याउले उचित मूल्य नपाउने भएकाले स्याउको प्रकार र आकारको ख्याल गरेर मात्र खरिद गर्न व्यापारीलाई सुझाब दिइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम एकाइ जुम्लाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन् । रासस