निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
अकिन ओल्ला
२०७९ श्रावण २२ आइतबार ११:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निजी जेटहरूलाई प्रतिबन्ध लगाउनुपर्छ

देश/परदेश

Read Time : > 2 मिनेट
अकिन ओल्ला
२०७९ श्रावण २२ आइतबार ११:३५:००

निजी जेटहरूलाई प्रतिबन्धित गर्न नसके कम्तीमा पनि तिनका धनीलाई अत्यधिक कर लगाउनुपर्छ, जुन रकम स्वच्छ पूर्वाधार निर्माणका लागि खर्च गर्न सकिन्छ

भर्खरै काइली जेनर, ड्रेक र अन्य चर्चित हलिउड सेलिब्रेटीहरू तिनको प्राइभेट जेट प्रयोगका कारण आलोचित भए । एक अध्ययन रिपोर्टले ती सेलिब्रिटीको निजी जेट उडानबाट अत्यधिक कार्बन उत्सर्जन भएको देखाएपछि आलोचना सुरु भएको थियो । रिपोर्टअनुसार जेनरले १७ मिनेटको उडान दूरीमा समेत प्राइभेट जेट उडाएकी थिइन् । निजी उडान कम्तीमा मानव जातिको अस्तित्व जोगाउने वा कम्तीमा पनि सरकारले गर्ने महत्वपूर्ण कामका लागि भएको भए त्यो कम आलोच्य हुन सक्थ्यो । 

तर, नाम सार्वजनिक भएकाहरू धेरै मनोरञ्जन उद्योगमा संलग्न कलाकार वा धनाढ्य व्यक्ति हुन् । यस्ता व्यक्ति सहिजै सबैले प्रयोग गर्ने जहाजको सुविधा सम्पन्न भाग अर्थात् बिजनेस क्लासमा बसेर उडान गर्न सक्छन् । कति काम आज फोन तथा भिडियो कलबाटै सम्पन्न हुन्छन् । आम, सर्वसाधारणले फोन, भिडियो कलबाटै सामान्य भलाकुसारीका काम पूरा गर्छन् । तर, धनाढ्यहरूले भने सामान्य बसिबियालोका लागि समेत प्राइभेट जेट उडाउने गर्दा रहेछन् । 

विगत केही दशकमा प्राइभेट जेटहरू हवाई क्षेत्रले गर्ने कार्बन उत्सर्जनको ठूलो स्रोत बन्दै गएका छन् । जब कि यस्ता विमानको उपयोगिता पृथ्वीका अधिकांश मानिसको हितमा भने खासै गरिँदैन । कार्बन उत्सर्जनमा धनाढ्यको अत्यधिक योगदान रहन्छ भने त्यसले निम्त्याउने जलवायु संकटको मुख्य भागिदार भने कार्बन उत्सर्जन एकदम कम गर्ने श्रमिक वर्गले भोग्नुपर्छ । जलवायु विपत्मा विश्वका सबैभन्दा विपन्न मुलुकका श्रमिक वर्गको घरबार नै खोसिन थालेको छ । 

हामीले धनाढ्यहरूको हानिकारक जीवनशैलीविरुद्ध कदम चाल्ने वेला आइसकेको छ । त्यससँगै सरकारले ती सार्वजनिक पूर्वाधारमा लगानी गर्नुपर्छ, जसले धनीलगायत आमसर्वसाधारण जनता दुवैलाई स्वच्छ रूपमा छिटो आवातजावतको विकल्प प्रदान गरोस् । हुन त प्राइभेट जेटहरूको प्रयोगले बिफ उद्योग वा अमेरिकी सेनाले जति कार्बन उत्सर्जन गर्दैनन् । तर, निजी जेट अरूको तुलनामा बढी विनाप्रयोजन उडिरहेका देखिन्छन् । बढी आलोचना भएको भए पनि बरु जलवायु शिखर सम्मेलनका लागि निजी जेटको प्रयोग केही हदसम्म जायज मान्न सकिन्छ । अन्य प्राइभेट जेटको उडान जलवायु शिखर सम्मेलनको जस्तो ग्रहको भविष्यसँग जोडिएको हुँदैन । 

वातावरण रिपोर्टर ओलिभर मिलम्यानले जुलाईको लेखमा यी सबै तुच्छ उडानको प्रभावबारे लेख्दै भनेका थिए ः ‘निजी विमानहरू बर्सेनि ३.३ करोड टन हरितगृह ग्यासहरू उत्सर्जन गर्छन्, जुन डेनमार्कजस्तो मध्यम आकारको अर्थतन्त्रले उत्सर्जन गर्ने कार्बनभन्दा बढी होे । निजी जेटले आमसर्वसाधारणले प्रयोग गर्ने व्यावसायिक विमानले भन्दा पाँचदेखि १४ गुणा बढी प्रदूषण गर्छन् र रेलले भन्दा ५० गुणा बढी प्रदूषण गर्छन् । 

र्‍यापर ड्रेक उनको कैयौँ बेडरुम भएको १८.५ करोड मूल्यको निजी जेटमा विश्वभर घुमिरहेका वेला, श्रमिक अमेरिकी भने वस्तुहरूको पुनः प्रयोग गर्न र कार्बन उत्सर्जन कम गर्न लागिरहेका छन् । तैपनि, जलवायु संकटका नकारात्मक असरहरू, जस्तो– बाढीबाट मर्ने पनि श्रमिक नै छन् । हामीमध्ये सबैभन्दा धनीले निजी जेटको प्रयोग छोड्दा गर्नुपर्ने त्याग भविष्यमा जलवायु संकटका कारण संसारभर शरणार्थी हुन सक्ने १.२ अर्ब मानिसले गर्नुपर्ने त्यागको तुलनामा केही पनि होइन । 

धनाढ्यहरूले निजी जेटको उडानलाई सकेसम्म कठिन बनाउने गरी ल्याइने कानुन स्विकार्नु, तिनलाई पास हुन नदिने प्रयासमा नलाग्नु धनाढ्यले गर्न सक्ने ठूलो सत्कर्म हुनेछ । विश्वभर शासक वर्गविरुद्ध बढ्दो असन्तोषलाई मध्यनजर गर्दै धनाढ्यहरूले भोलि आमजनभावना आफूहरूविरुद्ध नउर्लियोस् भन्नेमा ख्याल राखून् । यदि सबै प्राइभेट जेटमाथि प्रतिबन्ध लगाउन धेरै कठिन हुन्छ भने कम्तीमा निजी जेटका हरेक उडानमा भारी कर लगाएर क्षतिलाई भर्पाई गर्ने स्रोत जम्मा गर्न सकिन्छ । 

जलवायु संकटको सामना गर्न सार्वजनिक पूर्वाधार निर्माणमा ठूलो कोष आवश्यक पर्छ । यदि अमेरिकी कंग्रेस अति धनाढ्यविरुद्ध उभिन डराउँछ भने कम्तीमा पनि उसले अर्बपतिहरूलाई कर छुटका लागि तिनको निजी जेट प्रयोग गर्नबाट रोक्ने उपाय पारित गर्न सक्छ । टेलिभिजन पर्सनालिटी काइली जेनरको माथि चर्चा गरिएको जेट यात्रा आउजाउ गरेर जम्मा २०० माइलको थियो र त्यसमा ४४ मिनेट खर्च भएको बताइन्छ । यही दूरी चीनको नयाँ बुलेट ट्रेनबाट यति नै समयमा पूरा गर्न सकिन्छ । अझ त्यसले एकैपटक धेरै मानिस बोकिरहेको हुन्छ । 

निजी विमानको उडानमाथि प्रतिबन्धित गर्ने, नियन्त्रित गर्ने वा त्यति नसके कम्तीमा भारी कर लगाउने कार्यले हामीमध्ये सबैभन्दा धनी र गरिबले भोलिका संकटको सामना गर्नुपर्दाबीचको भिन्नता मेटाउन सक्छ । निश्चित रूपमा निजी जेटको प्रयोग घटाउनु आफैँमा पर्याप्त हुनेछैन । विश्वका सबै मुलुकले साहस र इच्छाशक्ति देखाएर भोलिका दिनका खराब मौसम परिदृश्यलाई रोक्न सक्नेजति सबै प्रकारका कानुन पारित गर्नुपर्छ । तर, यसबीच सक्नेजति निजी उडानहरू रोक्ने र ती उडानले उत्सर्जन गर्ने कार्बनलाई रोक्नु पनि आफैँमा एक सानोतिनो उपलब्धि हुनेछ । विश्वलाई जलवायु संकटबाट बचाउन ठूला–साना सबै विकल्प अवलम्बन गर्दै जानुपर्छ । 

द गार्जियनबाट

(नाइजेरियन मूलका अमेरिकी नागरिक अकिन ओल्ला ‘द गार्जियन’का स्तम्भकार तथा राजनीतिक अभियन्ता पनि हुन्)