मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा कैदीबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै ६ गुणा कैदीबन्दी बस्न बाध्य भएका छन्। २५ जना क्षमताको जिल्ला कारागारमा अहिले १४४ कैदीबन्दी राखिएको छ।

जिल्लामा महिला कैदीबन्दीका लागि कारागार नभएकाले उनीहरूलाई छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउनुपर्ने बाध्यता रहेको ताप्लेजुङ जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए।

जिल्ला कारागारमा हाल १०५ कैदी र ३९ थुनुवा रहेका जेलर खवासले जानकारी दिए। सबैभन्दा धेरै कैदीबन्दी जबर्जस्ती करणीका रहेका छन्। जबर्जस्ती करणीका ३३ कैदी र १६ बन्दी गरी ४९ तथा कर्तव्य ज्यान मुद्दाका २८ कैदी र चार थुनुवा गरी ३२ जना रहेका छन्। उता, जबर्जस्ती करणी उद्योग तथा अपहरण उद्योगमा नौजना, डकैती मुद्दामा सातजना तथा ज्यान मार्ने उद्योगमा सातजना सजाय भुक्तान गर्दै छन्। त्यसैगरी, सातजना डाँका मुद्दा, एकजना चोरी मुद्दा, पाँचजना लागुऔषध मुद्दा, तीनजना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।

कारागारको क्षमताभन्दा ६ गुणा कैदीबन्दी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको जेलर खवासले बताए। अपराधीलाई कारगारमा थुने पनि व्यवस्थापनमा ध्यान नदिँदा समस्या देखिएको छ। तर, कैदीबन्दी धेरै भए पनि सकेसम्म सुविधा दिएको जेलर खवासको दाबी छ। ‘२५ जना अट्ने कारागारमा एक सय ४४ जना राख्दा समस्या त आउँछ नै । सानो ठाउँ छ, तर पनि मिलाएर राखेको छु,’ उनले भने।

कारागारमा दरबन्दीअनुसार कार्मचारी अभाव
ताप्लेजुङ कारगारमा नौजनाको दरबन्दी रहेकामा अहिले एक जेलर, करारका एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन्। स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी खाली छ। दरबन्दीअनुसार कर्मचारी नहुँदा आफूहरू नै २४ घन्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता रहेको कर्मचारीहरुको गुनासो छ ।

१९९२ मा स्थापना भएको यो कारागारको नाममा फुङलिङ नगरपालिका– २ मा सात रोपनी जग्गा छ। नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट जिल्ला कारागारमा पत्र आएको छ। जेलर खवासले भने, ‘योगेश भट्टराई पर्यटनमन्त्री हुँदा दुईपटक कारागारको जग्गा अवलोकन गराएँ । कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु। तर, अहिलेसम्म त्यसको कुनै प्रतिउत्तर आएको छैन ।’