१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २१ शनिबार ११:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पविताको अनुनय :   मेरो छोराको उपचारमा सहयोग गरिदिनुस् न है !

Read Time : > 1 मिनेट
२०७९ श्रावण २१ शनिबार ११:३८:००

२०७५ साल पुस २८   गते  पविता डुवाडी र  उनको  एक वर्षीय छोरो पवन दुवाडी बोलेरो जिप दुर्घटनामा परे । दुर्घटनामा परे पनि सामान्यबाहेक आमाछोराको बाहिरी चोट केही देखिएन । तर, केही महिनापछि पवन बोल्न सकेन । बिस्तारै हिँडडुलमा पनि गाह्रो हुन थाल्यो । एक्कासी छोरामा देखिएकाे यस्ता लक्षणले आमा पविता छाँगाबाट खसेजस्तो भइन् । निम्न आर्थिक अवस्था भएकी पवितालाई पाँच सय जुटाउन पनि हम्मेहम्मे छ ।  चार वर्षदेखि बोल्न र हिँड्न नसक्ने छोरो बोकेर उपचारमा भौतारिरहेकी छिन् । उनलाई राम्रो उपचार पाए छोरो तंग्रनेमा विश्वास छ, तर उनीसँग पैसा छैन । 

दिनानुदिन रोगले थलिँदै गरेको छोराको उपचारका लागि सहयोग माग्न उनी नपुगेको ठाउँ छैन । पविता भन्छिन्– ‘डाक्टरले उपचार हुन्छ भन्छ । मसँग उपचार खर्च छैन । अब कि भगवान् भरोसा हो, कि कसैले सहयोग गरिदिए मात्रै छोरा बचाउन सकुँला ।’   

छोराको उपचारका लागि पविता वडा कार्यालय, सिद्धलेक गाउँपालिका, नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत नपुगेको कुनै ठाउँ छैन । उनी भन्छिन्– ‘छोरा बचाउने अन्तिम विकल्प मिडिया रोजेर आएको हुँ । मिडियाबाट प्रचार भए सहयोग जुटेर मेरो छोरा बचाउन सक्थेँ कि । तपाईंहरूको सहयोगले मेरो छोरा बाँच्न सक्छ । सहयोग गरिदिनुस् न है !’ गहभरि भरिएको आँसु पुछ्दै उनले सहयोग मागिन् ।  

पवनको उपचारमा यति नै खर्च लाग्छ भन्ने यकिन छैन । पविता भन्छिन्– ‘पहिले न्यूरो अस्पतालमा उपचार गराएको हो । उपचार हुन्छ भनेको छ । तर सिटि स्क्यान एमआरआई, थेरापीलगायतको उपचार गर्न करिब ५० हजार लाग्छ भनेको छ । उपचार गर्दै जादा कति लाग्छ थाहा छैन । तर चार सय नभएको मलाई ४०/५० हजार धेरै ठूलो रकम हो, म कसरी जुटाउँ । घरखेत बेचौैं आफ्नो नाममा छैन । न जागिर व्यवसाय छ । बेलैमा उपचार नगरे ठूलै समस्या आउन सक्छ भनेको छ । उठ्नै नसक्ने गरी थलिएको मलाई मेरो छोराको उपचार गर्न सहयोग गरिदिनुस् न है !’ उनले आग्रह गरिन् ।  

छोराको उपचारमा भाैँतारिरहेकी पवितालाई परिवारको साथ नभएको बताउँछिन् । श्रीमान् ईश्वर दुवाडीलाई जाँडरक्सी खाने लत लागेको छ । उनले भनिन्–‘जाँड्रक्सी खाएर जहिले छोरा र मलाई पिट्नुहुन्थ्यो । जहिले झगडा गरेर गाउँ बस्न दिनुभएन । मर्छु र मार्छु मात्र भन्नुहुन्थ्यो । कहिले सेफ हाउस त कहिले माइती बसेर ज्यान जोगाएँ । अहिले त श्रीमान् पनि सम्पर्कविहीन हुनुहन्छ । ब्युटिपार्लर गरेँ, ठेक्का लिएर गाई पालेँ, तर परिवारकै कारण व्यवसाय चौपट भयो’ उनले भनिन् ।  

छोराको उपचार मात्र होइन । बस्ने बास र खाने गाँसको पनि ठेगान छैन । उनी भन्छिन्– ‘बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता छ । अहिले मलाई ढुंगा खाउँ कि माटो खाउँ भएको छ । गाउँ छाडेपछि घरको न घाटको भएको छु । छोराको उपचार गर्न कस्सिएको म समस्याको भुमरीबाट उम्कन सकेको छैन । ज्यालामजदुरीले एक पेट खान धौधौ छ । छोरालाई लालनपालन र उपचारको चिन्ताले न दिनमा भोक छ, न रातमा निद । छोराको उपचार सफल भएको दिन मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसीको दिन हुनेछ’ उनले भनिन् ।