१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १९:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपद्को २४ घण्टापछि सुरु भयो राहत वितरण  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२o:oo

सप्तकोसीको बाँध फुटेपछि विस्थापित भएकाहरूलाई राहत वितरण गर्न सुरु गरिएको छ । सरकारी तथा गैरसरकारी निकायले उपलब्ध गराएको राहत विस्थापित पीडित परिवारलाई वितरण गर्न थालिएको हो ।

सप्तकोसीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका–८ मा रहेको लाहुँरेखोँच डुम्रिबोटको बाँध फुटेपछि दर्जनौँ गाउँहरू विस्थापित भएका छन् । विस्थापित भएका गाउँका स्थानीयहरूलाई राहत विरण सुरु गरिएको बेलका नगरपालिका–३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए । उनले भने, ‘विस्थापित परिवारलाई दाताहरूले उपलब्ध गराएको राहत वितरण सुरु गरिएको छ ।’

प्रदेश–१ सरकार नेपाल रेडक्रस सोसाइटी, कृषक समूह महासंघ नेपाललगायत सरकारी तथा गैरसरकारी संघसंस्थाले खाद्यान्न, त्रिपाल, औषधि, पानीलगायतका राहत उपलब्ध गराएको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बताइन् । ‘जो विस्थापित भएका छन्, विद्यालयहरूमा आश्रय लिइरहनुभएको छ, उहाँहरू सबैलाई राहत विरण गर्ने काम भइरहेको छ,’ उनले भनिन् । 

बेलका नगरपालिकाले झन्डै १५० परिवारलाई तीनवटा विद्यालय र एक निजी कृषि फार्ममा बस्ने व्यवस्था गरेको छ । ‘प्रभावित क्षेत्रमा दुई प्रकारको बसोबास छ, जसमा विस्थापित भएका स्थायी रूपमा बसोबास गर्नेहरूलाई विद्यालयहरूमा राखेका छौँ,’ उपमेयर राईले भनिन्, ‘अस्थायी रूपमा बसोबास गर्नेहरू तथा कोसीको तटीय क्षेत्रमा पनि घर खेती हुने अनि अन्यत्र स्थानमा पनि घर भएकाहरू धेरै छन् । अन्यत्र घर हुनेहरू अर्को घरमा गएका छन् ।’

उपमेयर राईले धेरै पीडित परिवारहरू आफन्तकोमा गएर पनि बसिरहेको बताइन् । डुम्रिबोटेको बाँध फुटेर पश्चिम उदयपुरतर्फ कोसीको भंगालो बग्न थालेपछि बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर ८, ३, ९, २ र १ सँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ मा बस्ने स्थानीय प्रभावित भएका छन्, उपमेयर राईका अनुसार कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण शुक्रबारसम्म संकलन गरिने भएको छ । बिहीबार बाढी पसेका गाउँहरूको स्थलगत अनुगमन गरेको बताउँदै उनले अझै जोखिम कायम रहेको जानकारी दिइन् । उनका अनुसार विस्थापित भएका आश्रय लिनेहरूमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ । पुरुषहरू भने पशुचौपायासहित घरैमा बसिरहेको ठाउँमा त्रिपाल टाँगेर बसेको स्थानीयले बताएका छन् । 

डुबानले दुई हजार ५ सय परिवार विस्थापित हुने प्रारम्भिक अनुमान गरिए पनि करिब एक हजार ५ सय परिवारका सदस्यहरूलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । ‘सम्भावित जोखिमलाई मध्यनजर गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीलाई उद्धारका उपकरणसहित तयारी अवस्थामा राखिएको छ,’ प्रजिअ यादवले भने, ‘पीडितको पहिचन गरेर नगरपालिकाबाट राहत वितरण पनि सुरु गरिएको छ ।’

सप्तकोसी नदीले पश्चिम क्षेत्रको तटबन्धन भत्काएर बस्तीमा पसेपछि उदयपुर, सप्तरी र सुनसरीका गरी पाँच पालिकाका बस्तीहरू जोखिममा परेका छन् । 

पानीको बहाव घटेपछि बाँध बनाउने काम सुरु हुन्छ : मन्त्री खड्का

 


बिहीबार सप्तकोसीको बाँध फुटेर तटीय क्षेत्रका बासिन्दा विस्थापित भएपछि गृहजिल्ला आइपुगेका नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पानीको बहाव घटेपछि रोकथामको लागि बाँध बनाउने काम सुरु हुने बताएका छन् ।
‘भारत सरकारसँग पनि स्थायी रूपमा क्षति हुन नदिने गरी कुरा भइरहेको छ । सिँचाइ विभागसँग पनि स्थायी रूपमा बाँध बनाउने कुरा भएको छ । बाँध बनाउने कुरामा सबैबाट सकारात्मक सल्लाह पाएको छु,’ उनले भने । 

मन्त्री खड्काले बाढीबाट विस्थापित भएकाहरूलाई राहत उपलब्ध गराउन तीनै तहका सरकार प्रतिबद्ध रहेको पनि बताए ।