१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अर्जुन अधिकारी काठमाडाैं
Invalid date format o५:५४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१८ दिनमा १६ संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५४:oo

बुधबारसम्म ५,२७५ सक्रिय संक्रमित रहेकामा १५८ अस्पताल भर्ना, ४३ आइसियू र दुईजना भेन्टिलेटरमा

पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका थिए । 

‘१ साउनदेखि बुधबारसम्म १८ दिनमा १६ संक्रमितको मृत्यु भएको छ । उनीहरू सबैजसो दीर्घरोगी र ५० वर्ष नाघेका छन्,’ मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मृतकमध्ये ७५ प्रतिशत खोप नलगाएका छन् ।’ 

नागरिकहरू खोप नलगाएर मरिरहेका छन्, तर दाताले अनुदानमा दिएको दुई लाख डोज कोभिसिल्ड केही दिनअघि मात्रै म्याद सकिएर खेर गएको छ । कोरोना महामारी सुरु भएयता साढे दुई वर्षमा देशभर ११ हजार नौ सय ६८ को मृत्यु भएको छ । 

पछिल्ला दिन संक्रमण बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमित पनि बढिरहेको तथ्यांक छ । पाँच हजार दुई सय ७५ सक्रिय संक्रमितमा एक सय ५८ जना अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये ४३ आइसियू र दुईजना भेन्टिलेटरमा छन् । आइसियू र भेन्टिलेटरमा जाने संक्रमित क्रमशः बढिरहेको प्रवक्ता अधिकारीले बताए । 

खोप अभियान प्रभावकारी नहुँदा संक्रमण बढ्न थालेको र जोखिममा पर्ने बिरामी पनि बढेका छन् । ‘विगतमा आमनागरिकलाई खोप अभियानबारे जानकारी थियो । अहिले राजधानीभित्रै खोप कहाँ–कहाँ चलिरहेको छ, कसैलाई जानकारी छैन,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप सुपरभाइजर भरत भण्डारी भन्छन्, ‘मृत्यु भएकाहरू पनि खोप नै नलगाएका धेरै छन् । सरकारले खोप अभियानबारे बृहत् जनचेतना फैलाएर सबैलाई खोपको पहुँचमा ल्याउनुपर्छ ।’ 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १२ वर्षभन्दा माथि लक्षित जनसंख्यामध्ये ९२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ८८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । त्यस्तै, कुल जनसंख्याको ७३ प्रतिशतले पहिलो मात्रा र ७० प्रतिशतले पूर्ण मात्रा लगाएका मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि २७ जिल्लामा खोप लगाइएको छ । ३७ लाख ९२ हजार तीन सय ९८ लक्षित बालबालिकाले खोप लगाएका छन् । बाँकी ५० जिल्लामा पनि खोप अभियानको तयारी भइरहेको छ । 

हालसम्म पाँच करोड ८८ लाख ९१ हजार नौ सय ७० मात्रा खोप प्राप्त भएको छ । त्यसमध्ये चार करोड ९४ लाख ९२ हजार एक सय ८५ मात्रा खोप लगाइएको छ । मौज्दात खोपको परिणाम ७१ लाख मात्रा छ ।