मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३२ शनिबार १६:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीसामु नारायणकाजीले राखे पार्टी एकता र तालमेलको प्रस्ताव

'एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु, अरुले पनि गर्नुपर्छ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३२ शनिबार १६:५७:००

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः तालमेल र पार्टी एकताका लागि प्रस्ताव गरेका छन्।

वामशक्ति विभाजित हुँदा सबै कम्युनिस्टहरू आपसमा लडेरै सकिने र त्यसले देशभक्तिको आन्दोलन कमजोर बन्दा मुलुक नै सकिने अवस्था आउन सक्नेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले ओलीसमक्ष संघ र प्रदेशको निर्वाचनमा तालमेल र एकताको प्रस्ताव राखेका हुन्।

‘नेपालमा देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामशक्ति हुन्। विभाजन र चिराचिराको स्थिति छाडिदिने हो भने दुईतिहाइ शक्ति छन्। त्यसैले अब सबै वामशक्ति एकताबद्ध भएर देशभक्तिको आन्दोलनलाई अगाडि बढाउनुपर्छ। तर, एकअर्कालाई सिध्याउने मेसो चलाउँदा हामी आफैँ सिद्धिने मेसोतिर त लागिरहेको छैनौँ ?’ नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराउँदै श्रेष्ठले भने, ‘नेपालको सन्दर्भमा वामपन्थी आन्दोलन कमजोर भए देश सकिन्छ। त्यसैले वामशक्तिबीच पहिले तालमेल र मोर्चा त्यसपछि अर्को दिशातिर (पार्टी एकतातिर) जानुपर्ने आवश्यकता पनि हुन सक्छ। यसतर्फ गम्भीरतापूर्वक सोचौँ।’

कार्यक्रममा अधिकांश एमाले समर्थित कार्यकर्ता थिए। तर, त्यही सार्वजनिक कार्यक्रममा श्रेष्ठले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा गम्भीर आत्मालोचनासमेत गरे। एमाले र माओवादी दुवै पार्टीमा प्रमुख नेताले जे बोले पनि ताली बजाउने, व्यक्ति पूजाको संस्कृति हुर्किरहेको संकेत गर्दै आलोचनात्मक चेतसहित अगाडि बढ्न ध्यानाकर्षण पनि गराए।

साथै, उनले ओलीलाई इंगित गर्दै पार्टी एकता जोगाउन नसकेकोमा घटनाक्रमको गम्भीर समीक्षा गर्न सुझावसमेत दिए। 
‘तुम सेर तो हम सवासेर हुन छाडिदिऊँ। घटनाक्रमको गम्भीर आत्मसमीक्षा गरौँ, गल्ती कमजोरीको आत्मालोचना गरौँ। म त पार्टी एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु, अरूले पनि गरून्। एमसिसीमा केके भयो, १९ बुँदे आरोपपत्रले के गर्यो, एसपिपीले के गर्यो, सबै घटनाक्रमको समीक्षा गरौँ, कमसेकम एकताको आधार बनी हालेन भने पनि तालमेल गरेर अगाडि बढौँ।’