१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गेटामा मेडिकल विश्वविद्यालय बनाउन संसदीय टोलीसँग स्थानीयको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४४:oo

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रस्तावित गेटा मेडिकल कलेजका लागि निर्माणाधीन संरचनाको आइतबार स्थलगत निरीक्षण गरेको छ । समितिका सदस्य सांसदको टोलीले स्थलगत निरीक्षणसँगै यहाँका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवालासँग मेडिकल कलेज सञ्चालनबारे अन्तर्कियासमेत गरेको छ ।

अन्तर्क्रियामा यहाँका सरोकारवालाले गेटामा मेडिकल कलेज नभई मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् । आधारभूत संरचना निर्माण भइसकेकाले यथाशीघ्र मेडिकल विश्वविद्यालय सञ्चालनका लागि पहल गर्न स्थानीयले समितिलाई आग्रह गरे । सदनको यही अधिवेशनबाट कानुन पारित हुने गरी सरकारलाई दबाब दिन स्थानीयको आग्रह थियो ।

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि सरकारलाई दबाब दिन अत्तरियामा गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने यहाँका नागरिकको माग रहेको बताए । सरकारले मेडिकल कलेज सञ्चालनका नाममा यहाँका नागरिकलाई वर्षौँसम्म झुक्याउने काम गरेको उनको भनाइ थियो । ‘मेडिकल विश्वविद्यालयबाहेक अन्य कुरा स्वीकार्य हुँदैन,’ पाण्डेयले भने, ‘अन्यत्र मेडिकल कलेज, प्रतिष्ठान छन् तर सुदूरपश्चिमका नागरिकलाई राज्यले अहिलेसम्म उपेक्षा गरेको छ ।’

प्राध्यापक सुरेन्द्र चन्दले मेडिकल विश्वविद्यालय बनाउन सके सुदूरपश्चिमको स्वास्थ्य उपचार क्षेत्रले फड्को मार्ने बताए । देशमा मेडिकल विश्वविद्यालयको खाँचो रहेको र गेटामा पूर्वाधार तयार भएकाले सरकारले गेटालाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय तत्काल गर्नुपर्ने उनको माग थियो । प्रा.डा. हेमराज पन्तले गेटामा तत्काल अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘सरकारले मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय जे बनाउने हो तत्काल निर्णय गरेर अस्पताल सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रस्तावित मेडिकल कलेज आगामी संघीय र प्रदेशको चुनावअघि नै सञ्चालन गर्नुपर्ने बताए । मेडिकल कलेज सञ्चालन चुनावमा मतदाता अलमल्याउने विषय बनेको उनको आरोप छ । ‘मेडिकल कलेज सञ्चालन चुनावी फण्डामात्रै त होइन, चुनाव आयो कि मेडिकल कलेजका नाममा अनेक कुरा ल्याएर अलमल्याउने काममात्र हुन्छ,’ उनले भने, ‘कलेज सुरु गर्ने हो भने संघ र प्रदेशको चुनाव अगाडि नै हुनुपर्छ । नत्र पछि तत्काल यो सञ्चालन हुनेवाला छैन ।’ मेडिकल कलेजका नाममा सरकारले सुदूरपश्चिमका नागरिकलाई झुक्याएको उनको भनाइ छ । ‘गेटा मेडिकल कलेज भन्दाभन्दै एउटा पुस्ता सकिन लाग्यो, हाम्रो जवानी यसैमा बितेको छ । अब सधैँ कति अलमल्याउने हो ?’ मेयर हमालले प्रश्न गरे ।

कार्यक्रममा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरूले गेटामा मेडिकल विश्वविद्यालय नै उपयुक्त हुने धारणा राखे । ‘गेटामा मेडिकल विश्वविद्यालय नै उपयुक्त देखिन्छ,’ समितिका सदस्य सांसद चित्रलेखा यादवले भनिन्, ‘यहाँबाट फर्केपछि सरकारको ध्यानाकर्षण गराउँछु ।’ सांसद योगेश भट्टराईले गेटामा मेडिकल विश्विद्यालय स्थापनाका लागि समितिमार्फत सरकारकालाई सुझाब दिइने बताए । काठमाडौं फर्केपछि समितिले सुझाब प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उनले बताए । मेडिकल विश्वविद्यालय स्थापना गर्न सके स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने सांसदहरूको भनाइ थियो ।

सांसद योगेश भट्टराई, डा. दीपकप्रकाश भट्ट, चित्रलेखा यादव, नवीना लामा, मानबहादुर विश्वकर्मा, अञ्जना यादवलगायत सांसदको टोली यहाँ आएको हो । गेटामा प्रस्तावित मेडिकल कलेजका नाममा पूर्वाधारहरू तयार भए पनि कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने सरकारले टुंगाे लगाएको छैन । सञ्चालनमा भइरहेको ढिलाइले निर्मित भवनहरू जीर्ण हुने जोखिम छ ।