१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Monday, 23 June, 2025
२o७९ असार २५ शनिबार १७:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पढाइसँगै कृषि पनि, आर्थिक उपार्जन गर्दै विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार १७:३६:oo

ताप्लेजुङको मेरिङदेन गाउँपालिको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालय परिसरमा तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन्। विद्यालयमा कृषि शिक्षा पढाइ हुन थालेपछि यहाँका विद्यार्थीले विद्यालय परिसर र आ–आफ्नो घरमा समेत तरकारी खेती गर्न थालेका छन्।

विद्यार्थीलाई कृषि शिक्षामा आकर्षित गर्ने उद्देश्यले यस विद्यालयले कक्षा ९ देखि कृषि प्राविधिक विषय पढाउँदै आएको छ। आफूहरूले जमिन तयार पार्ने, बिउ जमाउनेदेखि फल टिप्नेसम्मका व्यावहारिक शिक्षा पाएको छात्रा छत्रमाया सामेखामाले बताइन्।

विद्यालयमा मात्र नभई आफूहरूले आफ्ना अभिभावकलाई पनि सिकाउने गरेको छात्र सन्तोष शेर्पाले बताए। कक्षा ९ देखि कृषिसम्बन्धी पढाइ हुने यस विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सम्म पुर्याएको विद्यालयका प्रधानाध्यापक लालबहादुर लिम्बूले बताए।

प्रांगारिक मलको प्रयोगलाई विशेष जोड
स्थानीयस्तरमा प्रांगारिक मल उत्पादन गरी सो मलबाट नै उत्पादन गराउन जोड दिइएको विद्यालयका बाली विज्ञान संयोजक सागर अधिकारी बताउँछन्। विद्यार्थीलाई प्रांगारिक मल बनाउने तालिम पनि दिइरहेको अधिकारीको भनाइ छ।

पहिलो परीक्षणको नतिजा राम्रो देखिएपछि विद्यालय परिवार पनि दंग छ। विद्यालयले योजना बनाएर हप्ताको एक दिन खेतबारीमै व्यावहारिक कक्षा र अन्य दिन सैद्धान्तिक कक्षा सञ्चालन गर्ने गरेको संयोजक अधिकारीले बताए। अहिले अभिभावकलाई समेत विभिन्न किसिमका तरकारीका विरुवाहरू उत्पादन गरी पठाएको उनको भनाइ छ शिक्षकको सिकाउने तरिका र विद्यार्थीको लगनशीलताले यहाँका विद्यार्थीले काउली, बन्दा, टमाटर तथा अन्य तरकारीसमेत फलाएका छन्।

कृषिमा प्रविधिको उपयोगसँगै बाल अवस्थादेखि नै कृषिमा आकर्षित गराई दक्ष बनाउने विद्यालयको उद्देश्य रहेको प्रधानाध्यापक लिम्बूले बताए। कृषिसँगै सबैको जीवन जोडिएकाले कृषिका बारेमा जानकार रहनु अत्यावश्यक रहेको उनको भनाइ छ। गत वर्ष कक्षा ९ मा १२ जना रहेकोमा यस वर्ष ७० जनाभन्दा धेरै रहेका छन्। पहिले कृषि शिक्षा भनेपछि आनाकानी गर्नेहरू अहिले यसतर्फ आकर्षित भएपछि परीक्षा लिएर भर्ना लिनुपर्ने अवस्था आएको छ।