
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
‘कुलिङ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै मन्त्री गुप्ताले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका हुन्।
आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’को उद्देश्य र आशय नै उल्ट्याउने गरी अनधिकृत ढंगबाट भएको हेरफेरप्रति आक्रोश व्यक्त गर्दै गुप्ताले भने, ‘यो त सार्वभौम संसद्कै अपमान भयो, यो सामान्य घटना होइन। संसद्ले छानबिन गरी दोषीलाई तत्काल कारबाही गरोस्।’
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकको प्रतिवेदन संसदमा लैजाने क्रममा हेरफेर भएको हुन सक्ने मन्त्री गुप्ताको आशंका छ। ‘समितिबाट पारित भएको विधेयकलाई म र समितिका सभापति माननीय रामहरि खतिवडासहित माननीयज्यूहरू रघुजी पन्त, दीलेन्द्रप्रसाद बडू, लीलानाथ श्रेष्ठलगायतले मेरै मन्त्रालयमा बसेर असार २ गते हेर्ने अनि संसदमा प्रतिवेदन पेस गर्ने तयारी गरेका थियौँ, तर माननीय सभापतिजीले हामीलाई पत्तै नदिई असार १ गते नै प्रतिवेदन हाउसमा पेस गर्नुभयो,’ मन्त्री गुप्ताले भने, ‘त्यहीँनिर समस्या सिर्जना भएको जस्तो लाग्दै छ।’
तालुक मन्त्रालयका मन्त्रीलाई नै झुक्याएर प्रतिवेदन पेस गरिनु गम्भीर आशंकाको विषय भएको मन्त्री गुप्ताको भनाइ छ।