मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २५ शनिबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असार २५ शनिबार ११:१९:००

चालू आर्थिक वर्षमा झापामा पाँचजनाले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुईवटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ ।

उनीहरूलाई चियाबगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक– ३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका– १३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका– ९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कन्काई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताए । 

हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ । भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जंगलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शंकर लुइँटेलको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिए ।

अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशंका गरिएको उनको भनाइ छ ।