Skip This
सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव कायमै, जनक शिक्षाले सूचीकृत नभएकालाई पुस्तक बेचेको व्यवसायीकाे आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Saturday, 27 July, 2024
पाठ्यपुस्तक माग्दै जनक शिक्षाको धनगढी कार्यालय पुगेका पुस्तक व्यवसायी
२o७९ असार २४ शुक्रबार १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव कायमै, जनक शिक्षाले सूचीकृत नभएकालाई पुस्तक बेचेको व्यवसायीकाे आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १२:२८:oo

पठनपाठन सुरु भएको डेढ महिनासम्म सुदूरपश्चिम प्रदेशका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। सुदूरपश्चिमका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अझै पाठ्यपुस्तक नपाएका हुन्।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार प्रदेशमा अझै करिब दुई लाख पाठ्यपुस्तक अभाव छ। कार्यालयका प्रमुख ध्रुवराज पन्तले कक्षा ६ र ८ को पाठ्यपुस्तकको बढी अभाव रहेको बताए। हालसम्म प्रदेशभरि २० लाख थान पाठ्यपुस्तक वितरण गरिसकिएको उनले जानकारी दिए। कतिपय व्यवसायीले आवश्यकताभन्दा बढी पुस्तक लगेकाले पनि अभाव बढी देखिएको पन्तको दाबी छ।

‘सबैजसो जिल्लामा पाठ्यपुस्तकको अभाव छ। कतिपय पुस्तक आइपुगेका छैनन्,’ उनले भने, ‘केही बिक्रेताले चाहिनेभन्दा बढी पुस्तक लगेका छन्। यसले पनि अभाव बढी देखिएको हो।’ कक्षा ६ को अंग्रेजी र विज्ञान तथा कक्षा ८ को अंग्रेजी र नेपाली विषयका पुस्तक धेरैजसो विद्यार्थीले पाएका छैनन्। यो महिनाभित्र पाठ्यपुस्तकको आपूर्ति धेरै हदसम्म पूरा हुने जनक शिक्षाले जनाएको छ।

समयमै पाठ्यपुस्तक नपुग्दा केही विषयको पाठ्यपुस्तकविना नै विद्यार्थी पठनपाठन गर्न बाध्य छन्। पुस्तक नहुँदा पढाएको बुझ्न गाह्रो हुने गरेको विद्यार्थीको गुनासो छ। प्रदेश राजधानी धनगढीमा समेत धेरैजसो विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। पहाडी जिल्लालाई प्राथमिकता दिएर पुस्तक वितरण गरिएकाले कैलाली, कञ्चनपुरमा बढी अभाव देखिएको जनक शिक्षाको क्षेत्रीय कार्यालयका प्रमुख पन्तले बताए।

पाठ्यपुस्तकको अभावले पठनपाठन प्रभावित भइरहेको धनगढीको पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले बताए। ‘कतिपय विद्यार्थीले अहिले पनि पुस्तक पाएका छैनन्। विद्यार्थीको हातमा पुस्तक नभएपछि पठनपाठन प्रभावकारी हुन सक्दैन,’ उनले भने, ‘पठनपाठन सुरु भएको लामो समय भइसक्यो, अहिलेसम्म त विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने हो।’

व्यवसायीले पाठ्यपुस्तक नउठाउने
पुस्तक नपाएपछि पुस्तक व्यवसायीले बुधबार जनक शिक्षाको धनगढी कार्यालय घेराउ गरे। सुदूरपश्चिमका लागि आवश्यक पाठ्यपुस्तक नआएसम्म पाठ्यपुस्तक नउठाउने व्यवसायीले बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष मेखराज दाहालले विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक नआएसम्म जनक शिक्षा सामग्रीबाट पुस्तक नउठाउने सहमति भएको बताए।

उनले करिब ४० प्रतिशत पाठ्यपुस्तक आपूर्ति हुन नसकेको दाबी गरे। ‘हामीले माग गरेभन्दा निकै कम पाठ्यपुस्तक मात्र पाउने गरेका छौँ। जसका कारण समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सकेका छैनौँ,’ उनले भने, ‘विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक नभएसम्म हामीले यहाँबाट पाठ्यपुस्तक नउठाउने निर्णय गरेका छौँ।’

जनक शिक्षाले सूचीकृत नभएका व्यवसायीलाई समेत पुस्तक बेचेको सूचीकृत व्यवसायीको आरोप छ। बझाङका पुस्तक व्यवसायी रमेश ढकालले तीनपटक धनगढी आए पनि आवश्यकताअनुसार पुस्तक नपाएको गुनासो गरे। पटकपटक धनगढी आउँदा खर्च मात्र हुने गरेको उनले बताए। जनक शिक्षाबाटै पुस्तक नपाएपछि विद्यालयलाई वितरण गर्न नपाएको ढकालले बताए।

‘त्रैमासिक परीक्षा नजिक आयो भनेर विद्यालय पुस्तकका लागि आएका आयै छन्, तर दिन सकेका छैनौँ,’ कैलालीको लम्कीका पुस्तक व्यवसायी टुर्जबहादुर बोगटीले भने, ‘जनक शिक्षाले पुस्तक नदिँदा हामीलाई हैरानी भएको छ।’ आर्थिक वर्ष सकिँदा पुस्तकको बिल भुक्तानीमा समस्या भएको गुनासो विद्यालयले गरिरहेका उनले बताए।

जनक शिक्षाले सूचीकृत नभएका व्यवसायीलाई पुस्तक बिक्री गर्दा उनीहरूले बढी मूल्य लिएर पुस्तकमा कालोबजारी गरिरहेका बोगटीले बताए। जनक शिक्षाको पुस्तक बिक्रीका लागि सुदूरपश्चिममा एक सय ७५ व्यवसायी सूचीकृत भएका छन्।