Skip This
रोबोटले खोस्दै छ रोजगारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o६:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

रोबोटले खोस्दै छ रोजगारी

अटोमेसनले सन् २०२५ सम्म आठ करोड ५० लाख मानिसलाई रोजगारीबाट विस्थापित गर्ने आकलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:४४:oo

कोरोना महामारीका कारण विश्वभरि करोडौँ मानिसको रोजगारी गुम्यो । काममा मेसिन र प्रविधिको प्रयोगले पनि यही अवधिमा अभूतपूर्व तीव्रता लियो, जसका कारण धेरै मानिसले रोजगारी कहिल्यै नफर्किने गरी गुमाए । र, नयाँ प्रविधिले थप मानिसबाट रोजगारी खोस्ने क्रम जारी छ । वल्र्ड इकोनोमिक फोरमका अनुसार अटोमेसनले सन् २०२५ सम्ममा आठ करोड ५० लाख मानिसलाई रोजगारीबाट विस्थापित गर्नेछ । 

यद्यपि, अबको प्रविधि सञ्चालित अर्थतन्त्रले नौ करोड ७० लाखभन्दा धेरै नयाँ रोजगारी थप्ने अनुमान पनि गरिएको छ । संसारभर अहिले करिब ३० प्रतिशत काम मेसिनले लिएको छ । ७० प्रतिशत काम अझै पनि मानिसले नै गर्छन् । 

परामर्श कम्पनी प्राइस वाटरहाउस क्रुपर्स (पिडब्लुसी)का अनुसार सन् २०३० सम्ममा विश्वको जिडिपीमा एआई, रोबोटिक्स र अटोमेसन प्रविधिको योगदान एक सय ५० खर्ब डलर पुग्नेछ । ‘एआई, रोबोटिक्स र स्मार्ट अटोमेसनमा ठूलो आर्थिक लाभ ल्याउन सक्ने क्षमता छ । सन् २०३० सम्ममा यसले विश्व–जिडिपीमा १५ ट्रिलियन डलर योगदान दिनेछ । यसबाट निकै ठूलो संख्यामा रोजगारी पनि थपिनेछ,’ पिडब्लुसीको आकलन छ । सँगसँगै यो प्रवृत्तिले ठूलो संख्यामा मानिसबाट अहिलेको रोजगारी खोस्ने चिन्ता पनि गरिएको छ । 

अटोमेसनले कति रोजगारी खोस्दै छ ?
अटोमेसनको लहरबाट मेसिनले गर्ने काम र रोजगारीको दायरा फराकिलो बनाउँदै लगेको छ । अघिल्लो पुस्ताको अटोमेसनले भन्दा नयाँ लहरले धेरै कामदारलाई विस्थापित गर्नुका साथै असमानता पनि धेरै बढाउने सम्भावना छ । बेलायतको रोजगार बजारलाई हेरेर पिडब्लुसीका अर्थशास्त्रीले अहिले अस्तित्वमा रहेका ३० प्रतिशतसम्म रोजगारी अर्काे दशकसम्ममा मेसिनले लिइसक्ने अनुमान गरेका छन् । 

खासगरी यातायात र म्यानुफ्याक्चरिङ क्षेत्रका रोजगारी मेसिनले खोस्नेछन् । धेरै अर्थशास्त्रीले अटोमेसनले अमेरिकाको म्यानुफ्याक्चरिङ क्षेत्रबाट मात्रै १५ लाख रोजगारी खोस्ने प्रक्षेपण गरेका छन् । सन् २०३० सम्ममा अटोमेसनले संसारभर म्यानुफ्याक्चरिङ क्षेत्रमा मात्रै दुई करोड रोजगारी खोस्ने आकलन उनीहरूको छ । 

मानव संवेदना र स्पर्शको आवश्यकता पर्ने स्वास्थ्यलगायत क्षेत्रको रोजगारीमा भने अटोमेसनले सबैभन्दा कम प्रभाव पार्नेछ । कम शिक्षा आवश्यक पर्ने रोजगारीहरू बढी प्रभावित हुनेछन् भने धेरै शिक्षाको आवश्यकता पर्ने रोजगारी कम प्रभावित हुनेछन् ।  अटोमेसनमा भइरहेको विकासलाई वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ)ले तीन लहरमा बाँडेर अध्ययन गरेको छ । जसमा, सन् २०२० सम्म चलेको पहिलो लहरले पुरुषको भन्दा महिलाको काम धेरै खोसेको देखिएको छ । सन् २०३० सम्म चल्ने दोस्रो लहरमा संसारभर विद्यमान ३० प्रतिशत काम स्वचालनले लिनेछ । त्यसैगरी, सन् २०५० सम्ममा मेसिन र मानिसले रोजगारीमा ५०–५० प्रतिशत हिस्सेदारी गर्नेछन् । 

अटोमेसनले रोजगारी पनि थप्दै छ
वल्र्ड इकोनोमिक फोरमका अनुसार स्वचालनले रोजगारी खोस्ने मात्रै छैन, सन् २०२५ सम्ममा आफूले खोसेभन्दा एक करोड २० लाख बढी रोजगारी थप्ने पनि छ । औद्योगिक क्रान्तिदेखि नै मेसिनले रोजगारी खोसेर मानिसलाई विस्थापित गर्ने त्रास रहेको र अहिलेसम्म आइपुग्दा त्यो त्रास गलत साबित भइरहेको डब्लुइएफको दाबी छ ।

वासिंगटन डिसीस्थित बु्रकलिन इन्स्टिच्युटका अनुसार अटोमेसनले जति रोजगारी सिध्याएको छ, समयक्रममा उत्तिकै रोजगारी सिर्जना पनि गर्ने गरेको छ । यसका अरू फाइदा पनि छन्– मेसिनसँग काम गर्ने कामदारको उत्पादकत्व बढ्ने भएकाले यसले वस्तु तथा सेवाको लागत र मूल्यलाई पनि घटाउँछ र उपभोक्तालाई धनी महसुस गराउँछ ।

अटोमेसनबाट यातायात र म्यानुफ्याक्चरिङ क्षेत्र सबैभन्दा बढी प्रभावित 
बल, सटिकता, तथ्यांकजस्ता सीप र क्षमता आवश्यक पर्ने कामहरू मेसिनले बढी लिएका छन् भने भावना, आस्था, प्रेम, संवेदना प्रदर्शन गर्नुपर्ने काम कम प्रभावित भएका छन् । यातायात र म्यानुफ्याक्चरिङ क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएका छन् ।

कम प्रभावित हुने रोजगारीमा प्रमुख कार्यकारी, पण्डित, सम्पादक, इभेन्ट म्यानेजर, ग्राफिक डिजाइनर, वकिल, बजार प्रबन्धक, मनोचिकित्सा, वैज्ञानिक, सफ्टवेयर डेभलपर, लेखकजस्ता पेसा रहेका छन् । डाटा एनालिस्ट, बिजनेस डेभलपमेन्ट पेसाकर्मी, इनफर्मेसन सेक्युरिटी एनालिस्ट, मेकानिक्स र मेसिन रिप्लेअर प्राविधिक, फिनटेक इन्जिनियर, क्लाउड कम्प्युटिङ, हरित अर्थतन्त्रका क्षेत्रमा पनि कम प्रभाव देखिन्छ ।

अटोमेसनले दिने आकर्षक लाभका कारण धेरै कम्पनी रोबोट एवं एआईजस्ता स्वचालनका उपायमा लाग्न थालेका छन् । म्याकिन्से ग्लोबल इन्स्टिच्युटका अनुसार सन् २०३० सम्ममा कम्तीमा ६० प्रतिशत रोजगारदाता (कम्पनी)का ३० प्रतिशत काम स्वचालन प्रविधिबाट सम्पन्न हुन थाल्नेछन् । अटोमेसनको लहरका कारण सन् २०३० सम्ममा विश्वका करिब ३७ करोड ५० लाख मानिस आफ्नो पेसा परिवर्तन गर्न बाध्य हुने म्याकिन्सेको आकलन छ ।

चीनमा १० लाख र अमेरिकामा तीन लाख औद्योगिक रोबोट 
प्रत्येक वर्ष विश्वमा ४० हजारभन्दा धेरैले औद्योगिक रोबोट बढ्दै गइरहेको अनुमान छ । सन् २०२१ मा विश्वभर ३० लाख औद्योगिक रोबोटले काम गरिरहेका थिए । विश्वमा चीन सबैभन्दा धेरै औद्योगिक रोबोट भएको मुलुक हो ।

चीनमा अहिले औद्योगिक रोबोटको संख्या करिब १० लाख पुगेको आकलन छ । तर, प्रतिदश हजार कामदारमा सबैभन्दा धेरै रोबोट भएका मुलुकको सूचीमा भने चीन नवौँ स्थानमा छ । विश्वभरका फ्याक्ट्रीहरूमा इन्डस्ट्रियल रोबोटको प्रयोग तीव्र दरमा बढिरहेको छ ।

प्रतिदश हजार कामदारमा रोबोट प्रयोगको विश्वव्यापी औसत एक सय २६ पुगेको छ । वल्र्ड रोबोट रिपोर्टका अनुसार विश्वका सर्वाधिक अटोमेटेड पाँच मुलुकमा दक्षिण कोरिया, सिंगापुर, जापान, जर्मनी र स्विडेन रहेका छन् ।

 


 

ad
ad