१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीति असार मसान्तभित्रै ल्याउने तयारी, ब्याजदर बढ्न सक्ने

कोभिडकालमा दिएको सुविधा कटौती हुने, कसिलो मौद्रिक नीति ल्याउने गभर्नरको संकेत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति असार मसान्तभित्रै ल्याउने तयारी गरेको छ । मौद्रिक नीतिमाथि सुझाव संकलनसँगै लेखनलाई समेत अघि बढाइरहेको राष्ट्र बैंकले असार मसान्तभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको हो । मौद्रिक नीतिको कार्यदिशा तय भइसकेको र सोहीअनुसार मौद्रिक उपकरण र उपायहरू हेरफेरलगायतका विषयमा छलफल भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । राष्ट्र बैंकले असार महिनाभित्रै मौद्रिक नीति ल्याउने गरी तीव्रताका साथ काम गरिरहेको उनले बताए । ‘अघिल्लो वर्ष राजनीतिलगायत विविध कारण मौद्रिक नीति ल्याउन केही ढिलाइ भयो, यस वर्ष त्यस्तो हुनेछैन,’ उनले भने, ‘हामीले असार मसान्तभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीति लेखनको कार्य गर्छ ।  अनुसन्धान विभागले तथ्यांकहरूको विश्लेषण गर्ने, सुझाव संकलन गर्ने, छलफल गर्ने र गभर्नरलाई रिर्पोटिङ गर्ने कार्य गरिरहेको छ । ‘विभागले अहिले ११ महिनाको तथ्यांक तयार गर्ने र त्यसको विश्लेषण गर्ने काम गरिरहेको छ’ उनले भने, ‘यस तथ्यांकको विश्लेषण सकिएपछि त्यसकै आधारमा मौद्रिक नीतिलाई अन्तिम रूप दिइनेछ ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यो वर्ष समयमै मौद्रिक नीति ल्याउने बताए ।  ‘हामी मौद्रिक नीति तयार गर्ने कामलाई तीव्रता दिइरहेका छौँ, दिनहुँजस्तो छलफलमा व्यस्त छौँ’ उनले भने, ‘यस वर्ष मौद्रिक नीति समयमै आउने छ, हामीले समयमै ल्याउने तयारी गरिरहेका छौँ ।’
राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले अहिले मौद्रिक नीतिका लागि आवश्यक सुझाव संकलन र छलफलका कार्य भइरहेको बताए । मौद्रिक नीति कहिले ल्याउने भन्ने अहिल्यै भन्न नसकिने उनले बताए । ‘हामी छलफल र सुझाव संकलनकै चरणमा छौँ’ उनले भने, ‘अब ११ महिनाको तथ्यांक आएपछि सोहीअनुसार मौद्रिक नीतिले अन्तिम रूप पाउनेछ ।’

 कसिलो मौद्रिक नीति ल्याउने संकेत
नेपाल व्यवस्थापन संघ (म्यान)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कसिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । ‘अहिले अर्थतन्त्र केही असजिलो भएको वेला छ, यस्तो वेला सबै सहज हुँदैन, कोही न कोहीले केही न केही सहनुपर्ने हुन्छ, एक–आपसमा असहजता सहने वेला हो,’ उनले भने, ‘ब्याज बढ्न सक्छ, कुनै क्षेत्रलाई अलि बढी असजिलो हुन सक्छ, तर समग्रमा अर्थतन्त्र अप्ठ्यारोबाट बाहिर निकाल्ने हाम्रो प्रयास हुन्छ ।’ अहिलेको परिस्थितिअनुसार खासगरी साना तथा मझौला उद्योग–व्यवसाय, कृषि, विपन्न वर्गलगायतलाई हेरेर मौद्रिक नीति ल्याउने उनले बताए । उनले आन्तरिक उत्पादन बढाउनेतर्फ धेरै सुझाव आएको र त्यसलाई सम्बोधन गरिने बताए । उनले कोडिभकालमा अर्थतन्त्र पुनरुत्थानका लागि दिइएका सुविधाहरू क्रमशः कटौती गरिँदै आएको र त्यसले निरन्तरता पाउने बताए । 

 कृषिमा गएको कर्जामा निगरानी गर्न सुझाव
उक्त कार्यक्रमका वक्ताहरूले अहिले बैंकिङ क्षेत्रबाट कृषिमा गएको कर्जाको निगरानी गर्न राष्ट्र बैंकलाई सुझाव दिए । मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक भरतराज ढकालले कृषिमा भएको बैंकको लगानी सही ठाउँमा गए–नभएको हेर्नुपर्ने बताए । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजराज तुलाधरले कृषिमा गइरहेको कर्जाले काम गरे–नगरेको हेर्नुपर्ने बताए । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्ययले बाह्य र आन्तरिक ऋणलाई कृषिसँग जोड्नुपर्ने बताए । उनले अहिले रिसोर्सको कमी रहेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

 यस्ता छन् निजी क्षेत्रका सुझाव
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले चुनौतीपूर्ण अवस्था रहेकाले सन्तुलित मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले तरलता अभाव, कर्जा संकुचन, उच्च ब्याजदर, महँगीलगायत कारण निजी क्षेत्र हतोत्साही भएको बताए । उनले निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक ल्याउन सुझाव दिए । उनले सिडी रेसियोको साटो सिसिडी रेसियो गणना गर्न, सेयर बजारमा ४–१२ को सीमा हटाउन, आयात निरत्साहित गर्नेभन्दा पनि व्यवस्थापन गर्नेतर्फ धयान दिन सुझाव दिए । 

 तरलता अभावले ब्याजदर बढायो
म्यानका अध्यक्ष उपेन्द्र पौडेलले तरलता अभाव हुँदा ब्याजदर बढेको बताए । उनले तरलता सहज हुँदा ६ प्रतिशतसम्म ब्याजमा कर्जा दिएको बताउँदै अहिले संकुचन हुँदा ब्याज बढ्नु स्वाभाविक भएको औँल्याए । ‘ब्याज बढ्दा वस्तु तथा सेवाको मूल्यसमेत बढाइन्छ । तर ब्याज घट्दा त्यसको लाभ उपभोक्ताले किन पाउँदैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘यसमा राष्ट्र बैंकको ध्यान जाओस् ।’ म्यानका महासचिव मोहनराज ओझाले कार्यक्रममा प्राप्त सुझावलाई संकलन गरेर राष्ट्र बैंकलाई बुझाउने बताए । 

ad
ad