मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार १६:२०:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सैनिक कूटनीति : राष्ट्रसंघीय मिसन र अमेरिका भ्रमणबाट फर्किए प्रधानसेनापति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार १६:२०:००

संयुक्त राष्ट्रसंघीय मिसन लेबनान र सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा आइतबार स्वदेश फर्केका छन्। सोमबार बिहान प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालय जंगी अड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको छ। प्रधानसेनापति शर्माले मिसन भ्रमणबाहेक वासिङ्टन डिसीमा अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटेर नेपालको चासो राखेका थिए।

शर्माले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा उच्च अधिकारीहरूसँगको भेटवार्तामा दुईपक्षीय आपसी हित र पारस्परिक सम्बन्ध तथा शान्ति स्थापक मिसनमा नेपाली सैनिकले सामना गरिरहेका समस्याबारे छलफल गरेका थिए। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेतृत्व तहमा नेपाली सैनिक अधिकारीलाई अवसर दिन प्रधानसेनापति शर्माले आग्रह गरेका छन् ।

सेना मामिलासम्बन्धी कार्यालयका सैनिक सल्लाहकार जनरल विराम डिओप, शान्ति अपरेसन विभागका उपमहासचिव जिन पिररे ल्याक्रोइक्स, अपरेसनल सपोर्टसम्बन्धी विभागका उपमहासचिव अलु खरे तथा शान्ति स्थापना तथा राजनीतिक मामिलासमबन्धी विभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग प्रधानसेनापति शर्माले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

प्रधानसेनापति शर्माले राष्ट्रसंघीय अधिकारीसँग शान्ति स्थापक मिसनहरूमा नेपाली सैनिक अधिकारीहरूलाई नेतृत्वदायी भूमिका उपलब्ध गराउन आग्रह गरेका छन्। यसपटक दुईवटा फरक–फरक शान्ति स्थापक मिसनमा फोर्स कमान्डरका लागि उपरथीद्वय निर्मलकुमार थापा र विनयविक्रम राणाले प्रयास गरेका छन्। हाल गोलान हाइट्सस्थित शान्ति स्थापक मिसनका फोर्स कमान्डर रथी ईश्वर हमाल छन्। हमालको कार्यकाल सकिन लाग्दा त्यहाँको फोर्स कमान्डरका लागि उपरथी विनय राणा प्रतिस्पर्धामा छन्।

सुडान मिसनका लागि फोर्स कमान्डरको प्रतिस्पर्धामा उपरथी थापा छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)का लागि फोर्स कमान्डरमा कोसिस गरे पनि उपरथी अशोक सिग्देल सफल भएनन् । स्रोतका अनुसार कारमा हालकै फोर्स कमान्डरले थप एक वर्ष निरन्तरता पाएका छन्। फोर्स कमान्डर राजनीतिक प्रकृतिको नियुक्ति हो, जसमा राष्ट्रसंघीय उच्च अधिकारीहरू निर्णायक हुनेछन्।

यसअघि प्रधानसेनापति शर्माले वासिङ्टन डिसीमा अमेरिकी सेना र रक्षा मन्त्रालयका अधिकारीसँग भेटेर नेपाल–अमेरिका सैन्य सम्बन्धबारे छलफल गरेका थिए।  शर्माले बिहीबार अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स चार्ल्स म्याकोनभिले रक्षा मन्त्रालयको दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसिया हेर्ने उपसहायकमन्त्री लिन्डसे डब्लु फोर्ड र अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ द स्टाफका उपाध्यक्ष एड्माइरल क्रिस्टोफर डब्लु ग्रेडीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

‘भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल तथ विचार–विमर्श भएको थियो,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लेबनान र सिरियामा प्रधानसेनापतिका भेटवार्ता
उच्च सैनिक अधिकारीका अनुसार प्रधानसेनापति शर्माको भ्रमणपछि भविष्यमा नेपालको शान्ति सेनामा स्रोत र जनशक्तिको हिसाबले उल्लेख्य लगानी हुने सम्भावना छ। दुई मिसनमा प्रधानसेनापतिस्तरको भ्रमण तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीपछि भएको थिएन। ‘तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति मिसनको भ्रमण गरेनन्,’ सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले भने, ‘विश्वभरको सबैभन्दा प्रतिकूल वातावरणमा काम गरिरहेका सैनिकको मनोबल बढाउने काम प्रधानसेनापतिको भ्रमणबाट भएको छ।’

लेबनानस्थित युनिफिल मिसनमा नेपाली सैनिक द्वन्द्वरत पक्ष (लेबनान र इजरायल)बीच पृथकीकरणको रेखामा तैनाथ छन्। सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्र मानिएको ब्लु लाइनमा नेपाली शान्ति सैनिक खटिएका छन्। सेनाका अनुसार विश्वमा शान्ति सेना खटिएका ठाउँमध्ये सबैभन्दा अग्लो ठाउँ गोलान हाइट्सको हर्मोन हिमालमा ६ महिनासम्म कम्तीमा ६ फिट हिउँ पर्ने ठाउँमा नेपाली सैनिक छन्। त्यहाँ खटिएका सैनिकसँग प्रधानसेनापति शर्माले अन्तरक्रिया गरेर उनीहरूको चासो सम्बोधन गर्ने आश्वासन दिएका छन्।

प्रधानसेनापति शर्माले दुवै मिसनका फोर्स कमान्डरसँग छलफल गरेका छन्। त्यस क्रममा नेपाली सैनिकको कार्यसम्पादनको समीक्षा भएको छ। मिसनको प्रकृति, सुरक्षा अवस्था तथा साधन–स्रोतहरूको बाँडफाँड र तालिमबारे सैनिक नेतृत्वले प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाएको छ।

‘भ्रमणले नेपाल र नेपालका शान्ति सैनिकको आयोजक राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको छ,’ एक उच्च सैनिक अधिकारीले भने। प्रधानसेनापति शर्माले लेबनान र सिरियाका उच्च नेताहरूसँग भेटेर नेपाली शान्ति सैनिकलाई उनीहरूको सहयोग र समर्थन सुनिश्चित गरेका छन्। प्रधानसेनापति शर्माले राष्ट्रपति, प्रधानमन्त्री, लेबनानी सशस्त्र बलका प्रमुख, रक्षामन्त्री र सभामुखसँग भेटवार्ता गरेका छन्।

सिरियामा प्रधानसेनापति शर्माले सिरियाली सशस्त्र बलका प्रमुखसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा शर्माले नेपाली शान्ति सेनाको निरन्तर तैनाथी र सुरक्षाका लागि सहयोगका लागि आश्वासन पाएका छन् । दुई सैनिक र दुई देशबीचको सम्बन्ध विस्तारमा पनि भ्रमणले मद्दत पुर्‍याएको सैनिक अधिकारीहरूको भनाइ छ ।

प्रधानसेनापतिको मिसन भ्रमण टोलीमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, रक्षासचिव किरणराज शर्मा, सेनाको शान्ति अपरेसनसम्बन्धी निर्देशनालयका प्रमुख सहायकरथी सन्तोषबल्लभ पौड्याललगायत थिए । तर, अमेरिका भ्रमणमा भने रक्षासचिव शर्मा र सहायकरथी पौड्याल सहभागी भएनन् ।