निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १८ शनिबार १६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थारू समयुदायमा विकराल बन्दै सिकलसेल, रगत जाँच गरेर विवाह गर्न डाक्टरहरूको सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १८ शनिबार १६:२९:००

पश्चिम तराईका थारू समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन् । 

यतिवेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा. राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ । 

सामान्यतया, विवाह गर्दा चिना हेर्ने गरिन्छ, तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नुहुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका स्राेतव्यक्ति डा. राजन पाण्डेले बताए । उनले ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे । अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उनले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए । 

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतना जगाउने काम भइरहेको बताए । बाँकेको थारू समुदायको बाहुल्य रहेको गाउँमा यतिवेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । उनले समुदायस्तरमा देखिन थालेको सिकलसेलका बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेर चेकजाँच भइरहेको बताए । 

उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरूले भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्दै आएका छन् । सिकलसेलका बिरामीका आफन्त रामकृष्ण थारूले निःशुल्क उपचार सरकारले गर्नुपर्ने बताए । उनले उपचारका लागि धेरै खर्च लाग्ने भएकाले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताए । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्या भन्दै पश्चिमका अस्पतालहरूमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई एक लाख रुपैयाँबराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । 

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारू समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यतिवेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । सिकलसेलका रोगीले खाने औषधि नै महँगो छ । सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर, बिमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बिमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् । 

स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाइएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ ।