मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १८ शनिबार
  • Tuesday, 15 July, 2025
२o७९ असार १८ शनिबार १३:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधा–आधा कार्यकालको प्रस्ताव मुख्यमन्त्री पाण्डेलाई ‘आफ्नै खुट्टामा बन्चराे’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १३:o६:oo

चार दलको गठबन्धनबाट राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएपछि माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकार गठनको अन्तिम कसरतमा थिए। ४ कात्तिक २०७८ मा माओवादी केन्द्रीय संसदीय दलका नेता शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे पहिलो चरणको मन्त्रिपरिषद् गठनका लागि मन्त्री भागबन्डामाथि छलफलमा जुटेका थिए।

छलफलमा मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको बाँकी अवधिमा आधा कार्यकाल आफू र आधा कार्यकाल बानियाँ मुख्यमन्त्री हुने प्रस्ताव गरे । यो प्रस्तावलाई पाण्डेले लिखित रूपमै सहमति गरेर मात्र अघि बढ्न आग्रह गरे । तर, जम्कट्टेल र बानियाँले अवधि जम्मा १३ महिना भएकाले आधा–आधा कार्यकाल नेतृत्वमा रहनेबारे छलफल गर्न आवश्यक नरहेको बताएका थिए ।

‘मुख्यमन्त्रीज्यूले त्यसवेला सहमति नै गरेर जाऔं भन्नु भएको थियो,’ जम्कट्टेलले भने, ‘मैले र इन्द्र बानियाँजीले सहमति नगरौं, पछि कार्यान्वयनमा जटिलता आउन सक्छ हामीले यहाँ सहमति गरेर मात्र हुँदैन शीर्ष नेताबाटै टुंगिनुपर्छ भनेका हौं, उहाँले लिखित सहमति गर्नमा जोड दिनुभयो ।’

उनले मुख्यमन्त्रीकै अडानमा हामीले सहमतिपत्र तयार गरेको र सहमतिपत्र नै मुख्यमन्त्री आफैँले लेखेको दाबी गरे ।मुख्यमन्त्री पाण्डेकै अडानमा भएको सहमतिका कारण अहिले उनी अप्ठ्यारोमा परेका छन् । ४ कात्तिक २०७८ मा भएको सहमतिमाथि अडिग भएर कांग्रेस र माओवादी केन्द्र सरकार फेरबदलमा जुटेको छ ।

सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै कांग्रेस र माओवादी केन्द्रका २२–२२ जना सांसदले पाण्डेलाई मुख्यमन्त्री छाड्न दबाब दिन हस्ताक्षरसमेत गरिसकेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका जम्कट्टेल स्मरण गर्दै भन्छन्, ‘त्यसवेला सहमति नगरेको भए सायद अहिले मुख्यमन्त्रीको राजीनामा र सरकार फेलबदलको सवालनै खडा हुँदैनथ्यो हामीले सहमति गरेपछि राजनीतिक नैतिकता राख्नुपर्छ र सहमति कार्यान्वयन गर्नुपर्छ भनेर अडान लिइरहेका छौँ । जसका कारण उहाँले आफ्नै खट्टामा बन्चराे हानेझैँ भएको छ ।’ 

उनका लागि सहमति नै आफ्नै खुट्टामा बन्चराे’झैँ भयो । लिखित सहमतिकै कारण माओवादी, कांग्रेसले मात्र होइन पाण्डेलाई आफ्नै पार्टीभित्र मुख्यमन्त्री छाड्न दबाब सिर्जना हुन थालेको छ । नेकपा एकीकृत समाजवादी सरकार फेरबदलबारे छलफल गर्न आज शनिबार केन्द्रीय पार्टी कार्यालय काठमाडौंमा संसदीय दलको बैठक बस्दै छ । बैठकमा केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि रहनेछन् ।