मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
प्रतिकात्मक तस्बिर
Invalid date format १३:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केयुकेएल र ट्यांकर व्यवसायीले वितरण गर्ने पानीमा झाडापखाला र हैजाको जीवाणु

उमालेर मात्र पानी पिउन स्वास्थ्य कार्यालयकाे आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१४:oo

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर  व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य (फिकल इ. कोलाई) जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गर्दा उक्त जीवाणु भेटिएको हो।

उपत्यकाका अधिकांश ठाउँमा पानी वितरण गर्दै आएको केयुकेएलको ट्यांकीमै पुगेर पानीको नमुना परीक्षण गर्दा जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले उक्त पानी पिउन अयोग्य रहेको बताएको छ। केयुकेएल, ट्यांकर, जार तथा बोतलको पानी उमालेर मात्रै पिउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीका अनुसार पछिल्लो समय उपत्यकामा वितरण गरिने पानीका स्रोतहरूमै झाडापखाला तथा हैजाका जीवाणु भेटिएका छन्। यसअघि उपत्यकाका विभिन्न सडकमा थुपारिएको फोहोरका कारण उक्त जीवाणु पानीमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ। ‘उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ। समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ,’ उनले भने, ‘हामीले केयुकेएल, खाद्य अनुगमन तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकालाई यसबारे सचेत हुन, पानीको शुद्धताबारे चासो दिन र जनचेतना फैलाउन आग्रह गरेका छौँ।’

अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो। बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ। अहिले सबैजसो खानेपानीमा हैजा र झाडापखालजन्य जीवाणु भेटिएपछि उमालेर मात्रै प्रयोग गर्न अनुरोध गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको शुद्धताबारे नमुना परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउन योग्य नरहेको भेटिएको छ।

सबैजसो स्रोतका खानेपानीमा दिसामा हुने जीवाणु भेटिएको प्रमुख अधिकारीले बताए। पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ। सबैतिरको पानीमा जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन कार्यालयले अनुरोध गरेको छ। हालसम्म काठमाडौंमा १३ र ललितपुरमा एक गरी उपत्यकाभित्र १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।