१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ असार १२ आइतबार ११:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्लभ ट्युमरको बिपी प्रतिष्ठानमा सफल शल्यक्रिया 

Read Time : > 1 मिनेट
२०७९ असार १२ आइतबार ११:५३:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्लभ ‘ट्युमर’को सफल शल्यक्रिया गरेको छ । घाँटीको मेरुदण्ड र फोक्सोमा पूरै मासु पलाएको एक बालकको प्रतिष्ठानले सफल शल्यक्रिया गरेको हो । 

शल्यक्रिया विभागका न्युरो सर्जन डा. अलोक दाहाल र सिटिभिएसका सर्जन डा.लोकश जैसवालको टिमले सफल उपचार गरी निको बनाएकाे हाे । भारतको सुपौल जिल्लाबाट रविकुमारका सात वर्षीय छोरा आसिस कुमार वैशाख २ गते बच्चा विभागको आकस्मिक कक्षमा भर्ना भएका थिए । पूरै शरीर नचल्ने अवस्थामा भर्ना भएका ती बालकलाई रोग अनुसन्धानका लागि न्युरो टिमलाई बच्चा विभागले बोलाएको थियो । 

सामान्य एक्स–रे मा घाँटीको नसा बिग्रेको देखिएको थियो । पुनः एमआरआई गरेर हेर्दा घाँटीको मेरुदण्ड र फोक्सोको पूरै भागमा ट्युमर भएको पाइएको डा. आलोक दाहालले बताए । 
सर्जन टिममा सल्लाह गरी सुरुमा उनको मेरुदण्डको शल्यक्रिया गरिएको थियो । मेरुदण्डको उपचारपछि उनी हिँडेर घर जान सक्ने भएका थिए । पुनः एक महिनापछि फेरि फोक्सोमा भएको ट्युमर प्रतिष्ठानका अस्पताल सहायक निर्देशकसमेत रहेका  डा. लोकेश जैसवाल र डा. विजय साहको टिमले निकालेकाे थियाे ।

थोराकोटोमी प्रविधिबाट चार–पाँच घन्टा लगाएर ट्युमर निकालिएको थियो । डा. जैसवालका अनुसार थोरोकोटोमी भनेको छातीमा चिरा पारेर मासु निकाल्ने प्रक्रिया हो । एक साता अस्पतालमा बसेर उनी डिस्चार्ज भएका थिए ।

असार १० उनको परिवार ट्युमरको रिपाेर्टसहित फलोअपमा अस्पताल आएका थिए । डा. दाहालका अनुसार उनको रिपाेर्टमा ‘न्युरोग्याङलिओमा’ भन्ने ट्युमर देखिएको छ । यो नसाबाट उत्पन्न भएर बढ्दै जाने ट्युमर हो । ‘यो बढ्दै गएर मेरुदण्ड र फोक्सोलाई ढाकेछ । त्यसपछि सोही कारणले बालकका कुनै पनि अंगले काम गरेनन्,’ डा. आलोकले भने, ‘यो समस्या १० लाख मानिसमध्ये एकजनामा देखापर्छ । बच्चामा त झन् यो दुर्लभ रोग हो । नेपालमा यस्तो समस्याको उपचार कहीँ भएको छैन ।’

यो समस्याको उपचार जहाँ न्युरो सर्जरी सेवा र मुटुको कार्डियो थोरासिक भास्कुलर सर्जरी (सिटिभिएस) सेवा दुवै भएको अस्पतालमा मात्र  सम्भव हुन्छ । पूर्वमा यो सेवा बिपी प्रतिष्ठानले मात्र दिँदै आएको डा. आलोकले जानकारी दिए । राजधानीमा यो सेवा टिचिङ हस्पिटलमा मात्र रहेको उनले बताए ।  दुईवटा टिमको परामर्श र सल्लाहविना यो शल्यक्रिया सम्भव नहुने उनको भनाइ छ । 

यस्ता प्रकारका गम्भीर रोगको नेपालमा रिसर्च पेपरमा नभेटिएकाले पेपरमा लेख्ने तयारी भइरहेको डा. आलोकले बताए ।