मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ४ शनिबार ०८:१९:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस उदयपुरको निर्वाचन : यस्तो छ अंकगणित

Read Time : > 1 मिनेट
२०७९ असार ४ शनिबार ०८:१९:००

आगामी ९ गते  जिल्ला समन्वय समितिको निर्वाचन

जिल्लाको मुख्य निर्वाचन कार्यालय उदयपुरले आगामी ९ गते  जिल्ला समन्वय समितिको निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयका अनुसार असार ६ गते सुरु गरेर ९ गते मतदान गर्ने कार्यक्रम तय भएको सहायक निर्वाचन अधिकृत दिलीप मगरले बताए ।

मगरका अनुसार असार ६ गते मतदाताको नामावली प्रकाशन, नामावली सच्याउने, मतदाता नामावली प्रकाशन, मतदाताको दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, ७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, दाबीविरोध, उजुरी दिने कार्यतालिका रहेको छ ।

यसैगरी असार ८ गते उजुरीउपर जाँचबुझ र निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र ९ गते ११ बजे देखि १ बजेसम्म मतदान कार्यक्रम रहेको मगरको भनाइ छ । 

यस्तो छ अंकगणित 
जिल्लाका चार नगर प्रमुख तथा उपप्रमुख र एवं चार अध्यक्ष तथा उपाध्यक्षको नतिजाले कुनै दलले एकलौटी रूपमा गठन गर्न नसक्ने अवस्था छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एलौटी जिल्ला समन्वय समिति गठन गरेको थियो । 

यसपालि एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र नगर प्रमुख र उपप्रमुखमा जितेको छ । यसैगरी, कटारी नगरपालिका, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुख मात्र एमालेले जितेको छ । कटारी, त्रियुगा र बेलका नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।

यता रौतामाई, ताप्ली, लिम्चुङबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादीले जितेको छ । कांग्रेसले चारै गाउँपालिकामा उपाध्यक्ष  जितेको छ । 

जिल्ला समन्वय समितिको लागि हालसम्म माओवादी केन्द्रसँग तीन भोट, कांग्रेसँग सात भोट, एमालेसँग पाँच र एकीकृत समाजवादीसँग एक भोट रहेको छ । जिसस उदयपुर गठनको लागि एकलौटी बहुमत पुर्‍याउन नाै भोटको आवश्यक हुन्छ । 

जिल्ला समन्वय समितिमा उदयपुरमा प्रमुख र उपप्रमुखसहित जम्मा नाै सदस्य हुन्छन् । कुनै पनि दलले एकले अर्कासँग गठबन्धन वा तालमेल गरेर जिल्ला समन्वय समिति गठन हुने माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवसको भनाइ छ ।  उनले भने, ‘कुनै पनि दलले एकलौटी रूपमा जिल्ला समन्वय समिति गठन गर्न सक्दैन । जसको लागि गठबन्धन नै आवश्यक देखिन्छ ।’ 

जिसस प्रमुखको लागि को–को छन् चर्चामा ?
हालसम्म जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा कांग्रेस उदयपुरका उपसभापति  नेता भीमचन्द्र राई र माओवादी केन्द्रका उदयपुरगढी सहइन्चार्ज सहेक विश्वकर्माको नाम चर्चामा छ । 

यता एमालेले आन्तरिक तयारी गरे पनि कुनै पनि व्यक्तिको नाम सार्वजनिक गरेको छैन । एमाले उदयपुरका अध्यक्ष प्रमेश घिमिरेले जिससको गठनमा दलहरूबीच तालमेल वा गठबन्धन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘एमालेले एक्लै गठन गर्न सक्ने अवस्था छैन, त्यसैले पछि उम्मेदवारको लागि असार ५ गते बस्ने बैठकले कसलाई उम्मेदवार बनाउने भन्ने कुराको टुंगो लगाउँछ साथीहरूले पनि म बन्छु भनेर आउनुभएको छैन ।’