मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सर्पले हातमा टोकेपछि अस्पताल नलगी झारफुकमा लाग्दा ज्यान गुमाएकी रामपुरा शाही । तस्बिर सौजन्य : नरेश न्यौपाने/अछाम
२०७९ जेठ ३१ मंगलबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्पको टोकाइपछि झारफुक : समयमा उपचार नपाउँदा ६ महिनाकी गर्भवतीको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ३१ मंगलबार १५:३१:००

सर्पले डसेपछि उपचार गर्न अस्पताल नलगी झारफुकमा लाग्दा अछाममा एक ६ महिनाकी गर्भवतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार राति सुतिरहेको बला रामपुरालाई ओछ्यानमै सर्पले टोक्यो । उनी छटपटाउन थालिन् । परिवारका सदस्यहरू अस्पताल लैजानुको साटो झारफुक गर्ने व्यक्तिको खोज्न हिँडे । करिब आधा घन्टापछि गाउँकै केही व्यक्तिले झारफुक सुरु गरे । यो क्रम रातभर चल्यो । राति साढे १० बजेतिर झारफुकका लागि जम्मा भएका उनीहरूले मंगलबार बिहान ७ बजेसम्म तन्त्रमन्त्रबाटै सर्पको विष झार्ने भन्दै झारफुक गरिरहे ।

तर, शरीरमा सर्पको विष फैलिँदै गयो र अवस्था झन्झन् नाजुक बन्दै गयो । सोमबार बिहान ७ बजेपछि रामपुरालाई स्वास फेर्न नै मुस्किल हुन थाल्यो । त्यसपछि बल्ल परिवारका सदस्यले अस्पताल लैजान एम्बुलेन्स खोजे । एम्बुसेन्स खोजिदिन छिमेकी रामबहादुर शाहीले वडा नम्बर ५ का अध्यक्ष हेमबहादुर शाहीलाई फोन गरे । एम्बुलेन्स आइनपुग्दै बिहान ८ बजेतिर रामपुराको ज्यान गयो । 

‘मलाई रातभर केही खबर भएन । बिरामी अन्तिम अवस्थामा पुगेपछि फोन आयो,’ वडाध्यक्ष शाहीले नयाँ पत्रिकासँग भने, ‘पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी र उपप्रमुख हर्कबहादुर रावलसँग समन्वय गरेर एम्बुलेन्स खोज्दै थिएँ, बिहान ८ बजेतिर रामपुराको मृत्यु भएको खबर आयो ।’ 

अध्यक्ष शाहीले सर्पले टोकेपछि अस्पताल लैजानभन्दा झारफुकतिर लाग्दा एक गर्भवतीले अकालमै ज्यान गुमाएको बताए । अन्धविश्वासका कारण अहिले पनि बिरामीलाई अस्पताल लैजानभन्दा धामी झाक्रीलाई देखाउने र झारफुक गर्ने चलन रहेको भन्दै शाहीले कैयौँले यसरी नै ज्यान गुमाउने गरेको बताए । एक छोरा र एक छोरीकी आमा रामपुराको पेटमा ६ महिनाको बच्चा थियो ।