१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २९ आइतबार १०:१९:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

जिसस निर्वाचन : रसुवा र भक्तपुरमा गोलाप्रथाद्वारा एमाले, भोजपुरमा गठबन्धन विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २९ आइतबार १०:१९:००

स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका अशोककुमार घिमिरे तथा विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरुङ, खिलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका छन् ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिणाम बराबर आएकाले गोलाप्रथाबाट अन्तिम परिणाम घोषणा गरिएको थियो । स्थानीय तहका सबै पदको निर्वाचन कार्य शनिबारदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

यस्तै, जिसस भक्तपुरको प्रमुखमा एमालेका ईश्वर थापा विजयी भएका छन् । जिससको शनिबार सम्पन्न निर्वाचनमा कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छन् । उनले गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित भइन् ।

जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन–तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, माओवादी केन्द्रको एक र नेपाल मजदुर किसान पार्टीको दुई मत छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।

जिसस भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा माओवादीका अनिशा खड्का विजयी बनेका हुन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् । कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् भने रूख चिह्नबाट निर्वाचन लडेकी एकीकृत समाजवादीबाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी हुन् ।