१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२४:oo

बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झन्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजायको फैसला गरेको हो।

अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोप लगाइएको उनको भनाइ छ।

पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरे पनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनुपर्ने भएको छ। उनलाई लापाजस्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन्।

उनले संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ। उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेलसजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए। उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको वेलादेखिकै विभिन्न आरोप लगाइएको छ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठीक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन्। त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी थिइन्।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरि चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य हुनुपरेको थियो। राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन्। उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । अनेज राजनीतिमा आउनुभन्दा अगाडि अधिवक्ता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता थिइन्। रासस/एएफपी

ad
ad