Skip This
कुहिने र नकुहिने नछुट्याए साउनदेखि काठमाडौं महानगरले फोहोर नै नउठाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कुहिने र नकुहिने नछुट्याए साउनदेखि काठमाडौं महानगरले फोहोर नै नउठाउने

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:५१:oo

फोहोर फाल्ने क्रममा बुधबार बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, फोहोर नै नफाली फर्किए ट्रक

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र कसुर मानी पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले फोहोर नछुट्याए घर वा कार्यालयको फोहोर नउठाइने र कानुनबमोजिम कारबाही पनि गरिने जनाएको हो । ‘हामीले १ वैशाखदेखि नै घर, कार्यालयको फोहोर छुट्याउन सूचना जारी गरिसकेका छौँ । यो योजनालाई अगाडि बढाउन हामी अहिले थप छलफलमा छौँ,’ महानगरअन्तर्गत वातावरण विभागकी प्रमुख सरिता राईले भनिन् । नवनिर्वाचित जनप्रतिनिधि आउनुअगावै महानगरले पटक–पटक सूचना जारी गरे पनि कार्यान्वयनमा आउन नसकेको फोहोर छुट्याउने कार्यलार्ई १ साउनदेखि भने कडाइ गरिने भएको हो । 

फोहोर वर्गीकरण गर्नाले वेलावेलामा फोहोर व्यवस्थापनमा देखिने समस्यामा कमी आउने महानगरले आकलन गरेको छ । महानगरले गत वैशाखमा जारी गरेको सूचनाअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२, १ र २ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार स्रोतमै फोहोरको पृथकीकरण गर्नुपर्नेछ । उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर मात्रै संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने भएको छ ।

घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को थ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना हुने वातावरण विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ । वातावरण विभाग प्रमुख राईले भने बन्चरेडाँडामै फोहोर लैजान नसकिरहेको अवस्थामा फोहोर छुट्याउने विषयमा थप छलफल नभइसकेको बताइन् । ‘साउनदेखि फोहोर छुट्याउन त भनेका हौँ । तर, हाललाई बन्चरेडाँडामै फोहोर लैजान सकिरहेको अवस्था छैन । त्यसैले कुन दिन कुहिने र कुन दिन नकुहिने फोहोर लिने, महानगरले यसमा के सहयोग गर्ने भन्ने सूचना केही दिनमै जारी गर्नेछौँ । यसका लागि उपत्यकाका अरू स्थानीय तहसँग पनि छलफल गरिरहेका छौँ,’ उनले भनिन् । उपत्यकामा १८ वटा स्थानीय तहबाट दैनिक १० देखि १२ सय टन फोहोर उत्पादन हुन्छ । जसमध्ये ५० प्रतिशत फोहोर काठमाडौं महानगरभित्र उत्पादन हुन्छ । 

सुरक्षाको ग्यारेन्टी नभएसम्म बन्चरेडाँडामा फोहोर फाल्न नसकिने 
प्रहरीको स्कर्टिङसँगै मंगलबार एक सय ५७ ट्रक फोहोर बन्चरेडाँडामा फालिएको थियो । तर, बुधबार भने स्थानीयको अवरोधका कारण फोहोर फाल्न सकिएन । बुधबार फोहोर फाल्ने क्रममा बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले अवरोध गरेपछि दुई ट्रक मात्र फोहोर फालिएको महानगरले जनाएको छ । बाँकी ट्रक फोहोर नफालीकन नै काठमाडौं फर्किएका छन् ।

बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले सुरक्षाको ग्यारेन्टी नभएसम्म बन्चरेडाँडामा फोहोर फाल्न नसकिने बताए । ‘बुधबार प्रहरीसँगै जाँदा पनि स्थानीयले ढुंगामुढा प्रहार गरे । जसकारण केही प्रहरी र चालकसमेत घाइते भए । त्यसैले अब सुरक्षाको ग्यारेन्टी नभएसम्म फोहोर फाल्न सक्दैनौँ,’ इन्चार्ज श्रेष्ठले भने । उनले जनप्रतिनिधिसँग सम्झौता भइसकेको भन्दै अन्य समूहसँग पनि सम्झौता गर्नुको औचित्य नभएको बताए । ‘जनप्रतिनिधिसँग हामीले सम्झौता गरिसकेका छौँ । जनप्रतिनिधिभन्दा ठूलो अरू हुन सक्छ र ?’ श्रेष्ठले भने, ‘भोलि ल्यान्डफिल साइट सरोकार समितिसँग सम्झौता गरौँला । पछि फेरि अर्को स्वार्थ बोकेको समूह पनि सम्झौता गर्न भनी आउला । सबैसँग सम्झौता त हुनै सक्दैन ।’

सोमबार साँझ बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न भन्दै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेँसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका तर्फबाट निर्देशक रवीन्द्र बोहोराबीच त्रिपक्षीय सहमति भएको थियो । सहरी विकासमन्त्री रामकुमारी झाँक्री, महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डंगोलको रोहवरमा त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर भएको थियो । प्रतिबद्धताअनुसार मंगलबारदेखि बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न दिने भन्ने थियो । तर, बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिलाई बेवास्ता गर्दै फोहोर फाल्न दिने निर्णय भएको भन्दै स्थानीयले मंगलबार पनि फोहोर फाल्नका लागि अवरोध गरेका हुन् ।

सिसडोल ल्यान्डफिल साइटमा मिथेन ग्यास उल्लेख्य
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा वातावरण प्रदूषणको समस्या देखाएको छ । ‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन ग¥यौँ,’ नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले भने, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरको भन्दा मिथेन ग्यासको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । अध्ययन गरिएको समयमा हावाको बहावले पनि गन्धलाई फरक पार्छ ।’ 

डा. पन्तका अनुसार साइटभित्रबाट मिथेन ग्यास बाहिर ल्याउन भेन्ट नभएकाले भित्र धेरै ग्यास भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्यास छ, कति निकाल्न सकिन्छ र कसरी वितरण गर्न सकिन्छ ? यसका लागि थप अध्ययन आवश्यक पर्ने उनको भनाइ छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि १ असार ०७८ को सम्झौताबमोजिम अध्ययन गरेर १४ माघमा अध्ययन प्रतिवेदन बुझाएको थियो । डा. रवीन्द्र ढकाल, डा. टिष्टा प्रसाईं जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनीता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ । 

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह भन्छन्–सिसडोलमा एक किलोमिटर परसम्मको पानीमा लिच्चडको मात्रा देखियो
लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको ठाउँ र लिच्चड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर तीन फरक–फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ ।

यी ठाउँबाट संकलन गरिएका तीनवटा नमुनाको तुलनात्मक अध्ययनबाट स्रोतबाट एक किलोमिटर परसम्मको पानीमा लिच्चडको मात्रा धेरै देखिएको छ ।

यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ । पानी प्रदूषण र लिच्चडसम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिनेछ ।

ad
ad