मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेत्र पन्थी काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०६:११:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

घनश्याम भुसालमाथि अनुशासनको डन्डा : ओलीको आलोचना गरेको आरोपमा कारबाहीको सिफारिस

Read Time : > 4 मिनेट
नेत्र पन्थी, काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०६:११:००

अध्यक्ष केपी ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीतका अभिव्यक्ति दिएको आरोपमा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको आयोगको सचिवालय बैठकले केन्द्रीय कमिटीलाई यस्तो निर्देशन दिएको हो । 

स्थायी कमिटी सदस्य भुसालले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । उनले लामो समयदेखि अध्यक्ष ओलीको कार्यशैली र पार्टी सञ्चालन तौरतरिकाको आलोचना गर्दै आएका छन् ।

कमिटीमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हौँ : केशव बडाल, अध्यक्ष, अनुशासन आयोग

हामीले अनुशासन उल्लंघनको विषय विधानबमोजिम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने हो । एकजना स्थायी समिति सदस्यले टेलिभिजनमा बोलेको प्रमाणित विषय बाहिर आएको छ । चित्त नबुझेका कुरा कमिटीमा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, पार्टी नीति र निर्णयविपरीतका गतिविधि कुनै पनि तहको नेता–कार्यकर्ताले गर्न पाउँदैन, ११ लाख पार्टी सदस्यको हकमा यही अनुशासन लागू हुने हो । त्यसकारण हामीले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित रूपमा निर्देशन दिएका हौँ ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले टेलिभिजनमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यले पार्टी नीति र निर्णयविपरीत अभिव्यक्ति दिएको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए । आयोगले भुसालका अभिव्यक्ति र पछिल्ला गतिविधिबारे ३१ जेठमा बोलाएको पूर्ण बैठकमा पनि छलफल गर्ने तयारी गरेको छ । 

‘हामीले मिडियामा सार्वजनिक गर्ने होइन, अनुशासन उल्लंघनको विषय विधानबमोजिम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने हो । एकजना स्थायी समिति सदस्यका विषयमा टेलिभिजनमा बोलेको प्रमाणित विषय बाहिर आएको छ,’ उनले भने, ‘चित्त नबुझेका कुरा कमिटीमा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, पार्टी नीति र निर्णयविपरीतका गतिविधि कुनै पनि तहको नेता–कार्यकर्ताले गर्न पाउँदैन, ११ लाख पार्टी सदस्यको हकमा यही अनुशासन लागू हुने हो । त्यसकारण हामीले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित रूपमा निर्देशन दिएका हौँ ।’ 

अन्तर्वार्तामा नेता भुसालले अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल बताएका थिए । ‘नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे,’ पार्टीको पराजयमा ओलीको नेतृत्व असफल भएको दाबी गर्दै भुसालले भनेका थिए, ‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ।’ 

अहिलेकै शैलीमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गरे एमाले समाप्त हुन सक्ने चेतावनीसमेत नेता भुसालले दिएका थिए । ‘यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ,’ उनको भनाइ थियो । 

पार्टीलाई सामूहिक नेतृत्व प्रणालीबाट चलाउनुपर्नेमा एकाधिकारवादबाट चलाउन खोज्दा अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको भुसालको दाबी थियो । ‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ,’ अन्तर्वार्तामा नेता भुसालले भनेका थिए ।

यो निर्णय विनाशकाले विपरीत बुद्धि हो, पार्टी यो  स्थितिमा पुग्दा अनुशासन त अध्यक्षलाई लाग्नुपर्ने हो  : घनश्याम भुसाल, स्थायी कमिटी सदस्य

त्यो (कारबाही सिफारिसको निर्णय) विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ । त्यो (स्पष्टीकरण) सोध्ने नैतिक साहस र ग्राउन्ड छ भन्ने मलाई लाग्दैन । किनभने स्पष्टीकरण त तिनीहरूलाई नै सोध्नुपर्ने हो । पार्टी यो स्थितिमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो । माथिको अध्यक्ष, सचिवालयलाई लाग्छ, तर मलाई मात्र देखेको हो भने बेग्लै कुरा भयो । तर, यसबारे मैले अहिलेसम्म कुनै औपचारिक जानकारी पाएको छैन, जानकारी पाएँ भने बाँकी सबै कुरा बुझेपछि मात्रै प्रतिक्रिया जनाउँछु ।

भुसालले स्थानीय चुनावअघि एमालेले वामगठबन्धनको नेतृत्व गरेर चुनावमा जानुपर्ने प्रस्ताव गरेका थिए । वाम आन्दोलन बचाउने कामको नेतृत्व माओवादीसहित अरू कुनै पनि पार्टीले गर्न नसक्ने ठोकुवा गर्दै उनले फेरि पनि त्यसको नेतृत्व गर्नुपर्ने दायित्व एमालेको काँधमा आएको वकालत गरेका थिए । 

स्पष्टीकरण सोध्न सिफारिस गर्ने अनुशासन आयोगको निर्णयप्रति टिप्पणी गर्दै भुसालले पार्टीले पराजय भोगेको नैतिक जिम्मेवारी अध्यक्ष, सचिवालयमा रहेका सबै नेताले लिनुपर्ने भन्दै आफूलाई कारबाहीका लागि प्रस्टीकरण सोध्ने नैतिक धरातल नै नभएको बताए । 

‘त्यो (कारबाहीको सिफारिसको निर्णय) विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ । त्यो (स्पष्टीकरण) सोध्ने नैतिक साहस र ग्राउन्ड छ भन्ने मलाई लाग्दैन । किनभने स्पष्टीकरण त तिनीहरूलाई नै सोध्नुपर्ने हो । पार्टी यो तहमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो । माथिको अध्यक्ष, सचिवालयलाई लाग्छ, तर मलाई मात्र देखेको हो भने बेग्लै कुरा भयो । तर, यसबारे मैले अहिलेसम्म कुनै औपचारिक जानकारी पाएको छैन, जानकारी पाएँ भने बाँकी सबै कुरा बुझेपछि मात्रै प्रतिक्रिया जनाउँछु,’ भुसालले नयाँ पत्रिकासँग भने ।

एमालेको केन्द्रीय अनुशासन आयोगलाई कुनै पनि तहको सदस्यले पार्टी निर्णयविपरीतका गतिविधि गरे छानबिनका लागि सम्बन्धित कमिटीलाई निर्देशन दिने विधानमा अधिकार छ । ‘पार्टीका केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूलगायत सबै तहका पार्टी कमिटी, कार्यकर्ता र सदस्यले पार्टी निर्णय, निर्देशन र अनुशासनको पालना गरे–नगरेको अनुगमन गर्ने र अनुशासनको पालना गर्न–गराउन सम्बन्धित कमिटीलाई निर्देशन दिने,’ आयोगको अधिकारबारे विधानमा भनिएको छ, ‘कुनै पनि तहका सदस्यको पार्टी निर्णयविपरीतका क्रियाकलाप, आर्थिक अनियमितता र नैतिक चरित्रसँग सम्बन्धित विषयमा प्रश्न उठी उजुरी परेमा वा जानकारी भएमा छानबिन गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिने ।’

त्यस्तै, केन्द्रीय कमिटीबाट भएको अनुशासनको कारबाहीका सम्बन्धमा चित्त नबुझी लिखित उजुरी वा पुनरावेदन दिने सदस्य वा कमिटीको उजुरी वा पुनरावेदनउपर आवश्यक छानबिन तथा निर्णय गर्ने र कार्यान्वयनका लागि केन्द्रीय कमिटीमा लेखी पठाउने तथा अनुशासनको कारबाही र पुनरावेदनसँग सम्बन्धित निर्णयको लिखित जानकारी सरोकारवाला व्यक्ति तथा सम्बन्धित कमिटीलाई र सबै किसिमका निर्णयको जानकारी केन्द्रीय कमिटीलाई दिने आयोगलाई अधिकार छ । 

ओली, पार्टी र चुनावबारे के भनेका थिए भुसालले ?
– नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे । आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो । 

– म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ । 

– यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ ।  

(८ जेठमा भुसालले हिमालय टिभीमा दिएको अन्तर्वार्ताबाट)