१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:१६:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लगातार २४ घन्टा वीर अस्पतालको सिस्टम डाउन

जेठमा मात्रै ११ दिनमा ५६ घन्टा वीरको सर्भर डाउन 

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:१६:oo

दैनिक औसत १५ सय बिरामी उपचारका लागि आउने वीर अस्पतालमा बुधबार बिहान १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म सर्भर डाउन भयो, त्यस अवधिमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द भए, इमर्जेन्सीका बिरामीको ल्याब टेस्टसमेत प्रभावित भयो

वीर अस्पतालमा बिहीबार बिहान ११ बजे टिकट लिन लाइन बसेका सर्वसाधारण । सर्भर डाउन भएपछि बुधबार बिहान १० बजेदेखि बन्द भएको टिकट काउन्टर बिहीबार बिहान १० बजे मात्रै खुलेको थियो । काउन्टर बिहान ७ बजे नै खुल्ने नियमित तालिका छ । वीरमा दैनिक औसत १५ सय नयाँ बिरामी उपचारका लागि पुग्छन् । तस्बिर : शिवहरि घिमिरे/नयाँ पत्रिका

देशकै जेठो सरकारी अस्पताल वीरमा पटक–पटक सिस्टम (सर्भर) डाउन हुँदा बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन् । बुधबार बिहान १० बजेदेखि बिहीबार बिहानसम्म मात्रै लगातार २४ घन्टा सेवा प्रभावित भयो, अस्पताल पुगेका इमर्जेन्सीबाहेकका सबै नयाँ बिरामीका लागि सेवा ठप्प भयो । उनीहरूले टिकट पाउनै २६ घन्टा कुर्नुपर्‍यो । जेठमा मात्रै बिहीबारसम्म ११ दिनमा ५६ घन्टा सर्भर डाउन भएको अस्पतालको रेकर्ड छ । 

सर्भरमा समस्या आउँदा अस्पतालको इन्टरनल नेटवर्कले काम नगर्ने भन्दै प्रशासनले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने गरेको छ । बिरामीको इन्ट्री रेकर्ड राख्नुपर्ने सर्भरमै समस्या आएपछि काउन्टर पनि बन्द हुन्छ । ल्याब पूर्ण रूपमा बन्द हुन्छ, भर्ना भइसकेका पुराना बिरामीको पनि टेस्ट हुँदैन । इमर्जेन्सी तथा गम्भीर अप्रेसनबाहेकका सबै बिरामीलाई अस्पतालले फिर्ता पठाउँछ । तर, तत्काल सर्भर बनाउन अस्पताल व्यवस्थापनले चासो दिँदैन । 

बुधबार बिहान ७ बजेदेखि खुलेको वीरको टिकट काउन्टरमा धादिङ धार्केका रामकृष्ण खत्री पनि लाइनमा थिए । पालो आउनै लाग्दा १० बजे काउन्टरभित्रबाट कर्मचारी बोले, ‘हाम्रो सिस्टम बिग्रियो, केहीबेर कुर्दै गर्नु ।’ यति भनेर उनले झ्याल ढप्काइदिए । झ्याल खुल्ने आसमा खत्री दिनभर कुरे । तर, काउन्टर दिवा सिफ्टमा पनि खुलेन । 

उपचार सकेर बुधबारै धादिङ फर्किने योजना बनाएका खत्रीलाई अब वास कहाँ बस्ने चिन्ताले सताउन थाल्यो । ‘होटेलमा बस्न सक्ने गरी खर्चपर्च थिएन । त्यसैले आफन्तसँग वास मागेर रात कटाएँ,’ बिहीबार बिहान ११ बजे वीरकै टिकट काउन्टरअघि लाइनमा भेटिएका उनले भने, ‘आज त झन् बिहानै ७ बजेतिर आएको, १० बजेपछि मात्रै काउन्टर खुल्यो । अब एकछिनपछि त पालो आउला नि !’

भक्तपुर थिमिका हेमप्रसाद थपलिया पनि खत्रीसँगै टिकटको प्रतीक्षामा थिए । उनी आमाको पत्थरीको उपचार गराउन बुधबारै वीर आएका थिए । तर, सर्भर डाउन भएको सूचना पाएपछि घर फर्किएका उनी बिहीबार बिहानै आमालाई लिएर पुनः अस्पताल आएका थिए । ‘बुधबार सर्भर बिग्रियो भनेपछि घर फर्कियौँ । आज पनि बिहानभर कुर्दाकुर्दा १० बजेपछि बल्ल सर्भर बन्यो भनेर काउन्टर खोलेका छन्,’ उनले सास्ती सुनाए, ‘यस्तो भिडभाड छ, पालो कहिले पाइने हो थाहा छैन ।’ 

कपिलवस्तु मुर्गियाकी सीता सापकोटा दिवा सिफ्टसम्म त टिकट काट्न भ्याइने आसमा बुधबार दिउँसो वीर आइपुगेकी थिइन् । तर, सोधखोज गर्दा सर्भर डाउन भएर काउन्टर नखुलेको खबर पाइन् । आफन्तको डेरामा एकरात आश्रय लिएकी उनले बिहीबार १० बजेपछि मात्रै टिकट पाइन् । ‘पत्थरीको अप्रेसन गरौँ भनेर आएको, फर्किएर जाउँजस्तै भयो । हिजो टोकन नै पाइनँ । आज टिकट त पाएँ, तर यो भिडभाड देख्दा उपचारको पालो पाइन्नजस्तो छ,’ बिहीबार दिउँसो १२ बजेतिर वीरमा चिकित्सकको पालो कुरिरहेकी उनले पीडा सुनाइन् । 

खासगरी विपन्न नागरिकको उपचार केन्द्र हो वीर अस्पताल । सस्तो उपचार पाइने भएकाले गाउँ–गाउँबाट आउने बिरामीको यहाँ भिड लाग्छ । दैनिक औसत एक हजार पाँच सय बिरामी आउने गरेको अस्पतालको भनाइ छ । तर, भद्रगोल व्यवस्थापनका कारण उनीहरूले पटक–पटक सास्ती खेप्नुपर्छ । खल्तीमा पैसा र काठमाडौंमा आफन्त नहुने बिरामीले अस्पताल परिसरमै चिसोमा रात बिताउनुपर्छ । 

वीरकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठले सर्भरमा समस्या आउँदा अस्पतालको सबैजसो अनलाइन सेवा अवरुद्ध हुने बताइन् । यस विषयमा पटक–पटक आग्रह गर्दा पनि आइटी शाखाले सर्भर व्यवस्थित नगरेको उनको भनाइ छ । ‘अस्पतालले सबै बिरामीको विवरण अनलाइनमै राख्छ । सर्भर बिग्रिनासाथ अस्पतालको सबैजसो अनलाइन सेवा अवरुद्ध हुन्छ । जसकारण बिरामीको विवरण र अन्य रिपोर्टसमेत हेर्न मिल्दैन । ल्याबदेखि काउन्टरसम्मका सबै काम बन्द हुन्छन्,’ उनले भनिन्, ‘हामीले पटक–पटक भन्दा पनि आइटी शाखाले सर्भर व्यवस्थित पारेन ।’

सर्भर बिग्रिएको नाममा अस्पतालले सयौँ व्यक्तिको जीवनमाथि नै खेलाची गरेको बिरामीको गुनासो छ । ‘अस्पतालजस्तो ठाउँमा यस्तो लापरबाही सोच्न पनि सकिँदैन, तर हामी भोगिरहेका छौँ । बुधबार दिनभर अस्पताल रुँगियो, आज पनि बिहानभर टिकट काउन्टर खुलेन,’ चितवन रत्ननगरबाट आएका विराट अधिकारीले गुनासो गरे । 

वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत भने विद्युत् नभएका कारण बुधबार र बिहीबार सर्भरले काम नगरेको दाबी गर्छन् । ‘बुधबार र बिहीबार पटक–पटक विद्युत् जाने गरेका कारण केही समय सर्भरमा समस्या आएको हो । अन्य समयमा उपचार सेवामा हामीले समस्या आउन दिएका छैनौँ । अहिले सेवा नियमित छ । विद्युत् नआउनु हाम्रो समस्या होइन,’ उनले भने । 

तर, वीरका मर्मतसम्भार शाखा प्रमुख सुनील श्रेष्ठ भने सर्भर बिग्रिनुमा विद्युत्लाई दोष दिनु गलत भएको बताउँछन् । ‘अस्पतालमा अहिले २५० केबिएका दुईवटा र १६५ केबिएको एउटा जेनेरेटर छन् । यी जेनेरेटरले अति आवश्यकलाई मात्रै धान्न सक्छ । अप्रेसन र वार्डका लागि जेनेरेटरले धान्छ । एक्सरे, सिटी, एमआरआईलगायतलाई यसले थेग्दैन । तर, सर्भर बिग्रिनुमा विद्युत् र जेनेरेटरको कुनै भूमिका छैन,’ उनले भने, ‘पछिल्लो समय सर्भर धेरैपटक बिग्रिएको छ, यसमा आइटी शाखा जिम्मेवार हुनुपर्छ ।’

जेठमा ११ दिनमा ५२ घन्टा वीरको सर्भर डाउन 
वीरमा जेठमा मात्रै बिहीबारसम्म ११ दिनमा कुल ५२ घन्टा सर्भर डाउन भएको छ । बुधबारदेखि बिहीबारसम्म सबैभन्दा धेरै अवधि लगातार २४ घन्टा सर्भर डाउन भएको हो । अस्पतालका एक कर्मचारीले दिएको तथ्यांकअनुसार त्यसअघि १५ जेठमा एक घन्टा, १४ गते दुई घन्टा, १३ गते चार घन्टा, ११ गते ६ घन्टा, ९ गते दुई घन्टा, ७ गते दुई घन्टा, ६ गते चार घन्टा, ३ गते ६ घन्टा र १ गते पाँच घन्टा सर्भर डाउन भएको थियो । 

‘थोरै–थोरै समय त हरेक दिन सर्भरमा समस्या देखिन्छ । एक घन्टादेखि ११ घन्टासम्म सर्भर गएको रेकर्ड भने जेठमा मात्रै ११ दिनको छ,’ उनले भने, ‘यसमा अस्पताल प्रशासनकै लापरबाही छ । तर, प्रशासनले समस्या समाधान गर्न चासो दिँदैन । यस्तो लापरबाही भएपछि जानाजान बिगारिएको भन्दा पनि हुन्छ ।’ 

इमर्जेन्सीमै भएका बिरामीको पनि रोकियो ल्याब टेस्ट
सर्भर बन्द भएपछि इन्टरनल नेटवर्कले काम नगर्ने भन्दै अस्पतालले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पार्छ । बिरामीको इन्ट्री रेकर्ड राख्नुपर्ने सर्भरमै समस्या आएपछि काउन्टर बन्द हुन्छ, नयाँ बिरामी भर्ना हुन पाउँदैन ।

नियमित उपचार र फलोअपमा आएका बिरामीले सेवा पाउँदैनन् । ल्याबसम्बन्धी सम्पूर्ण काममा अवरोध हुन्छ । इमर्जेन्सीमा उपचार भइरहेका बिरामीको पनि ल्याब टेस्ट हुँदैन । बुधबार बिहानदेखि बिहीबार बिहानसम्म २४ घन्टा वीरमा यस्तै भयो । वीरकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठले सर्भरमा समस्या आउँदा अस्पतालको सबैजसो अनलाइन सेवा अवरुद्ध हुने बताइन् । यस विषयमा पटक–पटक आग्रह गर्दा पनि आइटी शाखाले सर्भर व्यवस्थित नगरेको उनको भनाइ छ ।

‘अस्पतालले सबै बिरामीको विवरण अनलाइनमै राख्छ । सर्भर बिग्रिनासाथ अस्पतालको सबैजसो अनलाइन सेवा अवरुद्ध हुन्छ । जसकारण बिरामीको विवरण र अन्य रिपोर्टसमेत हेर्न मिल्दैन । ल्याबदेखि काउन्टरसम्मका सबै काम बन्द हुन्छन्,’ उनले भनिन्, ‘हामीले पटक–पटक भन्दा पनि आइटी शाखाले सर्भर व्यवस्थित पारेन ।’

ad
ad