मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
अर्जुन अधिकारी काठमाडाैं
Invalid date format o६:o६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५-११ वर्षका बालबालिकाका लागि कोभिडविरुद्धको खोप २५ जेठमा आइपुग्ने, पहिलो मात्रा ९ असारदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o६:oo

पाँचदेखि ११ वर्षसम्मका नेपाली बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । यी उमेरका बालबालिकाका लागि फाइजरले बनाएको ‘पेडियाट्रिक’ खोप पहिलोपटक २५ जेठमा आउँदै छ । 

कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज खोप निःशुल्क पाउने निश्चित भएकामा पहिलो चरणअन्तर्गत २५ जेठमा २० लाख मात्रा आउने स्वास्थ्य सेवा विभाग स्रोतले जनायो । स्वास्थ्यका अधिकारीहरूका अनुसार दुई चरणमा खोप दिने र पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । यस अवधिमा पहिलो मात्रा लगाएकाहरूले दोस्रो मात्रा २ देखि ८ साउनसम्म पाउनेछन् । त्यस्तै, बाँकी ५० जिल्लामा पहिलो मात्रा ५ देखि ११ भदौसम्म सञ्चालन हुनेछ । उनीहरूले दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म पाउनेछन् । 

सरकारले ‘फाइजर पेडियाट्रिक’ खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तालिमसमेत दिइसकेको छ । फाइजर कम्पनीका अनुसार यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ०.३ एमएलका दरले दुई डोज लगाइएको थियो । 

नेपालले खोपमा राम्रो प्रगति गरेपछि कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि निःशुल्क प्राप्त भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनी बताउँछन् । नेपालले ११ वर्षमाथिका लक्षित संख्याको ९६ प्रतिशतलाई पहिलो मात्रा र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाएको छ । 

यो खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो । यसअघि सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन साढे ६ अर्ब बजेट विनियोजन गरेको थियो । कोभ्याक्स सुविधामै आवश्यक खोप पाउने निश्चित भएपछि उक्त रकम जोगिएको छ । 

फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । 

यी २७ जिल्लाका बालबालिकाले ९ देखि १५ असारसम्म पाउँछन् पहिलो मात्रा 
झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा