
कवि हरिशरण परियारले गणतन्त्र दिवसको अवसरमा कवितासंग्रह कैँची सार्वजनिक गरेका छन् । आइतबार बत्तीपुतलीस्थित शिल्पी थियटरमा आहुति, विभूति भट्टराई, उज्ज्वल प्रसाईं र स्वयं कविले सोही कवितासंग्रह सार्वजनिक गरे ।
जात व्यवस्थाविरुद्ध आफ्ना सिर्जनामार्फत खरो प्रतिवाद गर्दै आएका परियारले कैँचीमा ४२ वटा कविता संग्रहित गरेका छन् । सार्वजनिक कार्यक्रममा वक्ता विभूति भट्टराईले कविको आफ्नो भोगाइ नै कैँची भएको उल्लेख गरिन् । उपल्लो जात भन्नेहरूले तल्लो जाति बनाइएकामाथि गरेको अन्याय, अत्याचार, दमन र शोषणको विस्फाेट कैँचीमा भएको बताइन् । त्यस्तै, अर्का वक्ता उज्ज्वल प्रसाईंले कवितासंग्रहभरि हतियारको मात्रै विषय भएकाले अलि प्रेम र शान्तिको विषय पनि समावेश गर्न आग्रह गरे ।
त्यस्तै, अर्का वक्ता आहुतिले पोर्चुगलमा बसेर नेपालको जात व्यवस्था चिर्छु भन्नु त्यति सुहाउँदो विषय नभएकाले कविलाई नेपाल फर्किन आह्वान गरे । कवि परियार रोजगारीका लागि केही समयदेखि पोर्चुगलमा बसोवास गर्दै आएका छन् । यसअघि परियारले उन्मुक्त पुस्ता अभियानमा जोडिएर समाजका हरेक कुरीतिको विरुद्धमा कवितामार्फत औँला ठड्याउँदै आएका थिए । कैँचीलाई बेला पब्लिकेसनले बजारमा ल्याएको छ ।