१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीको गृहनगरमा परेन नयाँ योजना, पुराना पनि कटाइए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:५४:oo

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक र उनको निर्वाचन क्षेत्रमा यसपटकको बजेटमार्फत नयाँ योजना समेटिन सकेन । ओली सत्तामा हुँदा सरकारले ल्याउने बजेटको वर्चश्वमा रहने दमक यसपटकको बजेटमा भने खासै समेटिन सकेन । 

दमकमा नयाँ योजना आउनै सकेन भने अघिल्लोपटक परेका केही योजना कटौती भएको छ । ओलीको गृहनगरमा विगतको तुलनामा कम योजना परेको हो । आर्थिक वर्ष ०७८–०७९ मा परेका केही योजना आर्थिक वर्ष ०७९–०८० मा कटौतीसमेत भएका छन् । 

ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७८–७९ को बजेटमा दमकमा ३५ हजार दर्शक अट्ने अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माणलाई समावेश गरेको थियो । 
कमल गाउँपालिका–५ मा निर्माण हुने भनिएको आदिवासी रंगशालामा नाम विवाद भएपछि यो रंगशाला ओली नेतृत्वको सरकारले दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा निर्माण गर्ने निर्णय गरेको थियो । सुरुमा आदिवासी रंगशाला नाम राख्ने सहमति भए पनि पछि ओलीले मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा नाम परिवर्तन गरेपछि विवाद उत्पन्न भएको थियो । 

मदन भण्डारी रंगशालाको नाममा पटकपटक बजेट विनियोजन भए पनि काम भने हुन नसकेपछि गत वर्ष यो रंगशाला दमक–३ मा निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भए पनि ओली सत्ताबाट वहिर्गमन भएसँगै ठेक्का प्रक्रिया बीचमै रोकिएको थियो । यसपटक भने यो रंगशाला बजेटमै समावेश भएन । 

ओलीले नेतृत्वको सरकारले अघिल्लोपटक अध्यादेशमार्फत ल्याएको बजेटमा बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने उल्लेख गरेका थिए । यसपटक यो योजना बजेटमा समावेश हुन सकेन । यो योजना सरकार परिवर्तनपछि कार्यान्वयन हुन सकेको थिएन । 

ओली नेतृत्वको सरकारले गत वर्ष ल्याएको बजेटमा दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्न उल्लेख गरेको थियो । यसपटक भने यो योजना पनि अघि बढ्न सकेन । गत वर्ष बजेटमा परे पनि बहुतले बसपार्क निर्माणको काम अघि बढ्न सकेको थिएन । 

दमकमा यसपटक एउटा पुरानो योजना मात्र बजेटमा समावेश भएको छ । दमकमा निर्माण गर्ने भनिएको नेपाल–चीनमैत्री औद्योगिक पार्क मात्र बजेटमा समावेश भएको छ । बजेटमा दमकमा औद्योगिक क्षेत्रको पूर्वधार निर्माणका लागि बजेट विनियोजन गर्ने उल्लेख छ । यो पुरानो योजना हो । ०७७ फागुनमा ओली प्रधानमन्त्री हुँदा यो औद्योगिक पार्क शिलान्यास भएको थियो । गत वर्षको बजेटमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको थियो । यद्यपि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । हतारमा शिलान्यास भएका कारण मुआब्जा विवादसमेत टरंगिएको छैन ।

बजेटमा कहाँ–कहाँ समेटियो झापा ? 
झापा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको मात्र गृहजिल्ला हैन । सत्ता नेतृत्वमा रहेको दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला पनि हो । तर, बजेटमा यसपटक भने झापा खासै समावेश हुन सकेन । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा भारतको सिलिगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्य प्रारम्भ गर्ने उल्लेख गरिएको छ । 
पूर्व-पश्चिम राजमार्गबाट झापाको सदरमुकाम चन्द्रगढी जोड्ने सडक स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ । तर, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्म चार लेन सडक निर्माणको काम धमाधम भइरहेको छ । 
बजेटमा मेची कोरिडोरअन्तर्गत झापाको केचनादेखि कञ्चनजंगा सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात विस्तार सेवा सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ । 
यस्तै, झापा भूमिगत जल सिँचाइ आयोजनाबाट ७ हजार हेक्टरमा वर्षभरि भरपर्दो सिँचाइ उपलब्ध गराउन आयोजना कार्यान्वयन सुरु गरिने संसदमा प्रस्तुत बजेटमा उल्लेख छ ।
यस्तै, देशका विभिन्न नदीसहित झापाको कन्काई, रतुवा, मावा नदी नियन्त्रणमा बायो इन्जिनियरिङसहित नयाँ प्रविधिसहित प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी नदी नियन्त्रण गर्ने उल्लेख गरिएको छ ।
 

ad
ad