मानव इतिहासका लागि सधैँ नै मृत्यु जीवनको एउटा कटु तथ्य रहिआएको छ । मानिस कुनै चिज खाएका कारण, दुर्घटनामा परेका कारण वा संक्रमित भएका कारण मर्छन् । सन् १९५० मा विश्वको औसत आयु ४६.५ वर्ष थियो । तर, संसार पहिलेभन्दा थप धनी र स्वस्थ हुँदा अहिले औसत आयु ७२ वर्ष हाराहारी पुगेको छ । धेरै बाँच्दा मानिस बुढ्यौलीको चपेटामा पर्छन् । तिनले बुढ्यौलीका दुःख र अशक्ततालाई झेल्नुपर्छ । आफ्ना पुर्खाहरूका विपरीत मानिसले अहिले आफ्नो इहलिला समाप्त गरिदिन सक्ने सिकारीलाई छल्ने कार्यमा खासै समय दिनुपर्दैन बरु डिमेन्सिया वा अस्वस्थताको पासोमा परिएला कि भन्ने चिन्ता गर्छन् ।
‘ह्वाई वी डाई’ पुस्तकमा डा. भेन्की रामकृष्णन शरीर र मनको क्षयलाई रोक्न सम्भव छ कि छैन भनेर सोध्छन् । बेलायतलाई कर्मभूमि बनाएका जीववैज्ञानिक रामकृष्णनले मानव शरीरको निर्माण गर्ने प्रोटिनहरू कोषहरूबाट कसरी उत्पादन हुन्छन् भनी गरेको शोधका लागि सन् २००९ मा नोबेल पुरस्कार जितेका थिए । जस्तो कि विषाक्त पदार्थबाट कोषिकाहरूमा रासायनिक क्षति बढ्दै जाँदा तिनले काम गर्न छाड्छन् र तिनमा अन्तर्निहित मर्मत प्रणाली बिग्रिएर जान्छ ।
भरमार प्राविधिक शब्दावलीको प्रयोगका बाबजुद उनको लेखन सुगम्य छ । उनी महत्वपूर्ण प्रोटिनहरूको ब्रेकडाउनलाई असंगत रूपमा बजिरहेको अर्केस्ट्रासँग तुलना गर्छन् । कोषमा ऊर्जा उत्पन्न गर्ने ‘माइटोकोन्ड्रिया’ कसरी समयक्रमसँगै बिग्रिँदै जान्छन् भन्नेबारे चर्चा गर्दै उनी त्यसलाई ‘आन्तरिक क्षयीकरणका’ रूपमा चित्रण गर्छन् ।
के यो अपक्षय अवश्यम्भावी नै हो त ? डा. रामकृष्णन आफ्नो चोट वा क्षयको उपचार कायाकल्प वा पुनः यौवनद्वारा आफैँ गर्ने जेलिफिसजस्ता केही प्रजातिबारे उल्लेख गर्छन् । स्तनपायी प्राणीमा ‘नेकेड मोल र्याट (तिल मुसो/छुचुन्द्रो)’ हृदयरोग तथा क्यान्सर प्रतिरोधी पाइएको छ । के मानिसले यो मुसा वा अनन्तकालसम्म आफूलाई कायाकल्प अथवा पुनः यौवनीकरण गरिरहन सक्ने जलचर ‘हाइड्रा (टेन्टाकल्ससहित १० मिलिमिटर लामो आकारको जलचर)’बाट दीर्घायुको रहस्य सिक्न सक्लान् ? वैज्ञानिकले प्रयास गरिरहेका छन् ।
के मानिसले दीर्घायुयुक्त ‘नेकेड मोल र्याट’ वा अनन्तकालसम्म आफूलाई यौवनीकरण गरिरहन सक्ने जलचर ‘हाइड्रो’बाट दीर्घायुको रहस्य सिक्न सक्ला ?
मृत्युलाई छक्काउने खोजको इतिहास निकै लामो छ । आजभन्दा दुई हजार वर्षअघि चिनियाँ सम्राट् क्विन सी हुवाङले अमरता दिलाउने अमृत खोज्न टोली नै खटाएका थिए । जुन औषधिले आफूलाई चिरञ्जीवी बनाउने ठानेका थिए, त्यसैले उनको ज्यान लियो । उनी ४९ वर्षको उमेरमा मरे ।
पछिल्लो ५० वर्षयता नै हो, जीववैज्ञानिकले बुढ्यौलीका प्रक्रियालाई राम्ररी बुझ्न थालेको । अहिले तिनले कोष र जिनहरूलाई चलाउन वा परिमार्जन गर्न सकिने परिष्कृत उपकरण प्रयोग गर्न थालेका छन् । र, एउटा नयाँ उद्योगको उदय हुन गएको छ । करिब सात सय बायोटेक फर्म हाल बुढ्यौली र दीर्घायुमाथि केन्द्रित छन् । यद्यपि उनीहरूले थोरै मात्र प्रगति हासिल गरेका छन् ।
डा. रामकृष्णनले विभिन्न समयमा प्रचलित थेरापीमाथि टिप्पणी गरेका छन् । सबैको आलोचना गरिएको पनि छैन । उनी कम खाँदाका अथवा न्यून क्यालोरी ग्रहणका फाइदाका प्रमाण पस्किन्छन् । साथै, आहारलाई नघटाई थोरै खाँदाजस्तै असर उत्पन्न गर्ने ‘रेपामाइसिन’ औषधिको फाइदाबारे पनि उल्लेख गर्छन् । हुन त, ‘उट्पट्याङ सुनिने’ उपाय सिफारिस गर्ने उद्यम पनि मौलाएका छन् । विशेषगरी ‘क्रायोनिक्स (मृत शरीरलाई चिसोमा फ्रिजिङ गरिराख्ने र उपचार पत्ता लागेपछि तिनलाई डिफ्रोस्ट गर्ने प्रक्रिया)’ प्रति उनको आलोचना सुनिन्छ ।
अमरत्वका यस्ता प्रवर्तनले जीवनलाई ह्याक गर्न सकिने एउटा अर्काे प्रणालीका रूपमा हेर्ने धनाढ्यबाट पैसा तानेका छन् । प्रविधि उद्यमी ब्रायन जोनसन आफ्नो बुढ्यौली प्रतिरोधी खुराकमा प्रतिवर्ष करिब २० लाख डलर खर्चिन्छन् । उनले आफूलाई जवान राख्न आफ्नो छोराबाट रगत पनि लिए । तर, यसले ‘कुनै लाभ नभएको’ भनेको भनाइ छ । उनकै जस्तो एन्टी–एजिङ रिसर्चमा चासो राख्नेहरूमा इलोन मस्क, जेफ बेजोस र मार्क जुकरबर्ग पनि छन् । ‘उनीहरू किशोर छँदाँ धनी हुन चाहन्थे । अहिले उनीहरू धनी छन् र जवान रहन चाहन्छन्,’ रामाकृष्णन लेख्छन् ।
धनी र गरिबबीच आयुमा अझै पनि ठूलो खाडल छ । दीर्घायुलाई नवीन विज्ञान र व्यवसायले बढाएको छ । डा. रामकृष्णन यसलाई सहज मानिरहेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सन् २०५० सम्ममा ६० वर्षभन्दा माथिका मानिसको संख्या दुई अर्ब पुगेन । उनी समस्याहरूको भविष्यवाणी गर्छन्, जनसंख्यामा अत्यधिक वृद्धि (ओभरपपुलेसन) हुने, प्राकृतिक स्रोतमा निख्रिँदै जाने, निवृत्तीभरण–आश्रितको संख्यामा वृद्धि हुँदै जाने तर तिनको समेत खर्चलाई धान्नुपर्ने काम गर्ने उमेर समूहको जनसंख्या घट्दै जाने ।
अन्तमा उनी सल्लाह पस्किन्छन्, ‘यदि तपाईं सुदीर्घ र स्वस्थ जीवनको चाहना राख्नुहुन्छ भने तपाईंले राम्ररी सुत्नुपर्छ, व्यायाम गर्नुपर्छ र ठिक्क खानुपर्छ, मुख्यतया वनस्पतिमा आधारित खाना खानुपर्छ । यसैगरी जो दीर्घायुका लागि हस्तक्षेप चाहन्छन्, तिनको लागि उनको सरल सन्देश छ, हामीले बुढ्यौलीलाई जित्यौ नै भने पनि हामी मर्छौं नै, युद्ध, संक्रामक महामारी या पर्यावरणीय विपत्तिले हामीलाई मार्नेनै छ ।’ आयुमा विस्तारले कल्पनाशीलतालाई त बढाउन सक्ला । तर, जीवनको अर्थपूर्णता/सार्थकतालाई भने मेटिदिन सक्छ । किनकि दीर्घायुका कारण जीवनमा अब कुनै हतारो हुनेछैन । हुन सक्छ, क्षणभंगुरता नै जीवनको सुन्दरताको कुञ्जी हो ।
– द इकोनोमिस्टबाट