१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०८:४८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसमी फ्लुलाई  बेवास्ता नगर्न सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०८:४८:००

कोभिड महामारीपश्चात् प्रभावित बनेको ‘सामान्य रुघाखोकी’को उपचार अझै सामान्य हुन सकेको छैन । महामारीअघि मौसम परिवर्तनबाट हुने ‘सामान्य रुघाखोकी’को उपचार गर्न जति बिरामी अस्पताल पुग्थे, त्यो दरमा अझै नपुगेको चिकित्सकहरू बताउँछन् ।

डा. निरज बम, छातीरोग विशेषज्ञ
कोभिड महामारीभन्दा अगाडि सामान्य रुघाखोकीलाई गम्भीरताका साथ लिएको पाइँदैनथ्यो । मौसमी रुघाखोकी तीनदेखि पाँच दिनमा आफैँ निको भएर जान्थ्यो । जसले गर्दा क्वारेन्टिन र आइसोलेसनमा त्यति ध्यान दिइएन । अझैसम्म पनि कोभिडको जोखिम कायमै रहेकाले फ्लुका लक्षणलाई बेवास्ता गर्न हुँदैन ।

‘सामान्य रुघाखोकी’का लक्षण कोभिडका प्रारम्भिक लक्षणसँग मेल खाने भएकाले उपचारका लागि अस्पताल पुग्ने दरमा कमी आइरहेको चिकित्सकहरू बताउँछन् । छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार रुघाखोकी उपचारका लागि घरेलु उपचारमा निर्भर रहने वा औषधि पसलबाटै औषधि प्रयोगमा ल्याउने ट्रेन्ड बढ्दै गएको छ । उनी भन्छन्, ‘पानी अत्यधिक पर्न थालेकाले रुघाखोकीको सिजन सुरु भएको छ । तर, अस्पतालसम्म बिरामी आइपुगेका छैनन् । अधिकांशमा मौसमी रुघाखोकी वा कोभिडका प्रारम्भिक लक्षण सामान्य घरेलु उपचारबाट निको हुने भए पनि बेवास्ताका कारण जटिलता निम्त्याउन सक्ने जोखिम छ ।’

कोभिडजस्तै ‘सामान्य रुघाखोकी’ पनि भाइरल भएकाले माथिल्लो श्वास नलीमा संक्रमणको जोखिम हुन्छ । मौसमी रुघाखोकी पनि एक सयभन्दा बढी मानव राइनो भाइरस सेरोटाइपका कारणले हुन्छ । यसकारण मौसम परिवर्तनका वेला रुघाखोकी, कोरोना भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस र एडेनो भाइरस संक्रमण हुन सक्ने भएकाले बेवास्ता नगर्न चिकित्सकहरूले आग्रह गरेका छन् । 

डा. बम भन्छन्, ‘बारम्बार रुघाखोकी लाग्नुको कारण शरीरले एक किसिमको भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्दा अर्को सिजनमा अर्को भाइरसको सम्पर्कमा आउनु हो । धेरै अवस्थामा, कोभिडजस्तै भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई उत्परिवर्तित गर्छन् र संक्रमण फैलन्छ । तसर्थ, मौसम परिवर्तनको समयमा विभिन्न खालका संक्रमणबाट बच्नका लागि कोभिड सावधानीका उपाय अभ्यास गरिरहनुपर्छ ।’

सामान्यतया मौसम परिवर्तन भइरहेको समयमा ज्वरो, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता सामान्य चिसोका लक्षणमा समेत क्वारेन्टाइनमा बस्ने अभ्यासलाई प्रोत्साहन र पालना गर्न आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । 

डा. बम भन्छन्, ‘कोभिड महामारीभन्दा अगाडि सामान्य रुघाखोकीलाई गम्भीरताका साथ लिएको पाइँदैनथ्यो । मौसमी रुघाखोकी तीनदेखि पाँच दिनमा आफैँ निको भएर जान्थ्यो । जसले गर्दा क्वारेन्टाइन र आइसोलेसनमा त्यति ध्यान दिइएन । तर, महामारीले संक्रमणप्रति सचेत हुन सिकाएको छ । अझैसम्म पनि कोभिडको जोखिम कायमै रहेकाले फ्लुका लक्षणलाई बेवास्ता गर्न हुँदैन ।’