मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ११ बुधबार १६:०८:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तुलसीपुरमा जोगियो एमालेको ‘किल्ला’ 

Read Time : > 1 मिनेट
२०७९ जेठ ११ बुधबार १६:०८:००

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । उपमहानगरको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् ।   

मेयरमा टीकाराम खड्का गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।  खड्काले ३१ हजार चार सय आठ मत प्राप्त गर्दा गिरीले २७ हजार सात सय १७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले जानकारी दिए । 

त्यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरीले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका जोगबहादुर रानालाई नाै हजार पाँच सय ३२ मतले पराजित गरेकी छिन् । चौधरीले ३० हजार पाँच सय ९७ मत ल्याउँदा रानाले जम्मा २१ हजार ६५ मत ल्याए । 

त्यस्तै, मेयरका उम्मेदवार जनता समाजवादीका टोपबहादुर महतराले तीन सय ८८, राप्रपाका जगधनी चौधरीले एक हजार दुई सय २१, लोकतान्त्रिक समाजवादी पार्टीका भूपेन्द्र भण्डारीले १२,  नेकपा मालेका महेन्द्र शाहले एक सय ७९, राष्ट्रिय जनमुक्ति पार्टीका रवीन्द्र उच्च नेपालीले ६९, मंगोल नेसनल अर्गनाइजेसनका जया घर्तीमगरले चार सय ३२, नेपाल लोकतान्त्रिक पार्टीका घनश्याम चौधरीले एक हजार तीन सय ६१ र नागरिक उन्मुक्ति पार्टीका जसवीर वलीले १६ मत प्राप्त गरे । 

त्यसैगरी, उपमेयरतर्फ जसपाकी धनसरा विकले तीन सय ८१, राप्रपाका प्रेमबहादुर शाहले दुई हजार तीन सय ७७, नेकपा मालेका फग्नी चौधरीले एक सय आठ, राष्ट्रिय जनमुक्ति पार्टीका सीता चौधरीले ५४, मंगोल नेसनल अर्गनाइजेसनका डम्बरबहादुर छन्त्यालले चार सय ३८, स्वतन्त्र उम्मेदवार खेमराज वलीले दुई हजार दुई  सय ३७ र सुशील नेपालीले एक सय १४ मत प्राप्त गरे । उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो ।  एक लाख एक हजार चार सय ६० मतदाता रहेको उपमहानगरमा ७४ हजार तीन सय ३६ मत खसेको थियो । 

०५४ यता एमालेकै ‘राज’ 
तुलसीपुरमा ०४९ सालमा कांग्रेसका शंकरप्रसाद आचार्य मेयरमा र कांग्रेसकै प्रदीपबहादुर शाह उपमेयरमा निर्वाचित भएका थिए । त्यसवेलाका फूलबारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, बिजौरी, डुरुवा र मानपुर गाविसहरू अहिले उपमहानगरपालिकामा गाभिएका छन् । ०४९ सालमा यी सबै गाविसमा कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो । ०५४ मा भने नतिजा उल्टिएको थियो । तत्कालीन तुलसीपुर नगरपालिकाको मेयरमा एमालेका ढुण्डीराज लामिछाने र उपमेयरमा घनश्याम पाण्डे निर्वाचित भएका थिए । साथै फूलबारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, बिजौरी, डुरुवा र मानपुर गाविसहरूमा पनि एमालेले जितेको थियो । 

देश संघीयतामा गएसँगै ०७४ सालमा तत्कालीन नगरपालिका तथा फूलबारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, बिजौरी, डुरुवा र मानपुर गाविसहरू गाभिएर उपमहानगरपालिका बनेको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा पनि  एमालेका घनश्याम सुवेदी मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका थिए । 

तुलसीपुरलाई समृद्ध बनाउछु : खड्का 
उपमहानगरका नवनिर्वाचित मेयर टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले आफू सुकुमबासी भएकाले सुकुमबासीका हरेक समस्या समाधान गर्ने बताए  । त्यस्तै, नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले शिक्षालाई निःशुल्क बनाउन आफूले पहल गर्ने बताइन् ।