मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ७ शनिबार ०७:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्वव्यापी खाद्य संकट वर्षाैँ रहन सक्छ : विश्व बैंक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ७ शनिबार ०७:२५:००

कोभिड–१९ महामारीको सिर्जित संकटबाट छुटकारा नपाउँदै युक्रेन युद्धको संकट थपिएपछि विश्वमा खाद्य संकट देखापरेको छ । यससँगै विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले जारी खाद्य संकट न्यूनीकरणका उपाय खोज्ने प्रयास थालेका छन् । विश्व बैंकले खाद्य संकटको विनाशकारी असरलाई न्यूनीकरण गर्न मौजुदा कोषमा १२ अर्ब डलर थप गरेर ३० अर्ब डलर पुर्‍याएको छ भने संयुक्त राष्ट्रसंघले युक्रेन युद्धले विश्वव्यापी खाद्य संकट बढाएको र यो वर्षाैँ लम्बिन सक्ने चेतावनी दिँदै विश्वको ध्यानाकृष्ट गर्न खोजेको छ । विश्व बैंकले जारी खाद्य सुरक्षा संकटविरुद्ध बृहद् विश्वव्यापी प्रतिक्रियाका लागि कृषि, पोषण, सामाजिक सुरक्षा, पानी तथा सिँचाइका क्षेत्रमा मौजुदा र नयाँ परियोजनाहरूमा खर्चिन यो राशिको व्यवस्था गरेको भनेको छ । यो राशिबाट खाद्यान्न तथा मलखादको उत्पादन, खाद्य प्रणालीमा सुधार, व्यापार सहजीकरण, कमजोर घरपरिवार तथा कृषकहरूलाई सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ । 

अन्तर्राष्ट्रिय समुदायमा विश्वव्यापी खाद्य संकट विकराल हुन सक्ने त्रास छाउन थालेको देखिन्छ ।  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन युद्ध, बढ्दो तापमान तथा महामारी सिर्जित, आपूर्तिजन्य समस्या सिर्जित अनाज तथा मलखादको अभावले ‘करोडौँ मानिसलाई खाद्य असुरक्षाको संघारमा पुर्‍याएको’ भनेर चिन्ता गरेका छन् । उनले विश्वव्यापी खाद्य सुरक्षामाथि आयोजित एक संयुक्त राष्ट्रसंघीय सम्मेलनमा बोल्ने क्रममा ‘कुपोषण, आमभोकमरी तथा अनिकालको यो संकट वर्षाैँ रहन सक्ने’ चिन्ता व्यक्त गर्दै रसियालाई युक्रेनी खाद्यान्न निर्यात खुलाउन अनुरोध पनि गरेका थिए । 

‘युक्रेनको कृषि उत्पादनलाई समाहित गर्नुबाहेक जारी खाद्य संकटको प्रभावकारी समाधान नभएकोमा हामी स्पष्ट हौँ,’ गुटेरेसले भने, ‘रसियाले युक्रेनका बन्दरगाहमा भण्डारण गरिएका अन्नको सुरक्षित निर्यातलाई अनुमति दिनैपर्छ ।’ उनले जारी संकटको समाधान पहिल्याउन आफूहरू रसियालगायत अन्य मुलुकसँग ‘सघन सम्पर्क’मा रहेको पनि जानकारी दिए । सम्मेलनको अध्यक्षता गरेका विश्व खाद्यका प्रमुख डेभिड बिजले पनि विश्व डढेलोमा रहेको भन्दै अहिले नै पहलकदमी लिइहाल्नुपर्नेमा जोड दिएका थिए । गुटेरेस यो संकटलाई न्यूनीकरण गर्न रुसी खाद्यान्न तथा मलखादको विश्व बजारमा पूर्ण र निर्बाध पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिन्छन् । 

मस्कोले युक्रेनमाथि गरेको आक्रमण र रसियामाथिको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धले यी दुई मुलुकबाट मलखाद, अनाज तथा अन्य वस्तुहरूको आपूर्ति अवरुद्ध हुँदा विशेष गरी विकसित मुलुकमा खाद्य तथा इन्धनको मूल्य अकासिएको हो । यी दुई मुलुक विश्वको ३० प्रतिशत गहुँका उत्पादक हुन् । युक्रेनले युद्धअघि फेबु्रअरीसम्म विश्व बजारमा प्रतिमहिना ४५ लाख टन कृषिउपज निर्यात गरिरहेको थियो । उसले विश्वभर खपत हुने गहुँको १२ प्रतिशत, आफूले उत्पादन गर्ने मकैको १५ र सनफ्लावर तेलको ५० प्रतिशतभन्दा बढी निर्यात गरिरहेको थियो । युद्धसँगै सामुद्रिक मार्ग अवरुद्ध भएपछि युक्रेनबाट स्थलमार्ग हुँदै नगण्य मात्रै निर्यात भइरहेको छ । खाद्य संकट चुलिँदै जाँदा खाद्य तथा कृषिउपजसम्बन्धी युएनको मूल्य सूचकांक कीर्तिमानीस्तरमा १५८.८ बिन्दुमा उक्लिएको छ । 

‘खाद्यान्नको मूल्यवृद्धिले गरिब र सबभन्दा जेखिममा रहेकाहरूमा विनाशकारी प्रभाव पारिरहेको छ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले भनेका छन्, ‘बजारहरूलाई सुसूचित र स्थायित्व प्रदान गर्न मुलुकहरूले युक्रेनमाथि रसियाको आक्रमणले भविष्यमा निम्त्याउने जोखिमबारे प्रस्ट हुनु एकदमै महत्वपूर्ण हुन्छ । मुलुकहरूले मल तथा इन्धनको आपूर्ति वृद्धिका लागि ठोस पहलकदमी लिनुपर्छ । खेती बढाउन कृषकहरूलाई सहयोग गर्नुपर्छ । आयात तथा निर्यातविरुद्धका नीतिहरू हटाउनुपर्छ । खाद्यान्नलाई जैविक इन्धन बनाउन रोक्नु र अनावश्यक भण्डारणलाई पनि निरुत्साहित गर्नुपर्छ ।’

खाद्य संकटसँग जुध्न विश्व बैंकले आगामी १५ महिनामा १२ अर्ब डलर खर्चिने गरी नयाँ परियोजनाहरूको तयारीमा काम गरिरहेको जनाएको छ । यो कोषको ठूलो हिस्सा अफ्रिका, मध्यपूर्व, पूर्वी युरोप तथा मध्य एसिया र दक्षिण एसियामा खर्च गरिनेछ । विश्व बैंक समूहको विश्वव्यापी प्रतिक्रियाले खाद्य वस्तुको उत्पादन र उत्पादकलाई सहयोग, व्यापार सहजीकरण, कमजोर घरपरिवारलाई सहयोग र दिगो खाद्य तथा पोषण सुरक्षामा लगानीसमेतका चार प्राथमिकतालाई सम्बोधन गर्ने भनिएको छ । अकासिँदो ऊर्जा मूल्यले पनि मलखाद तथा कृषि उपकरण उत्पादनलाई महँगो बनाएर विश्वभर नै खाद्य संकट बढाइरहेको छ । रसिया रासायनिक मल तथा प्राकृतिक ग्यासको विश्वकै ठूलो निर्यातक मुलुक हो । पश्चिमा प्रतिबन्धको सूचीमा मलखाद समावेश नरहे पनि रुसको वित्तीय प्रणालीमा प्रतिबन्धका कारण बिक्री तथा आपूर्तिमा अवरोध छ ।